यौन शोषण आरोपमा आश्रमबाटै स्वामी पक्राउ

0
469

झापा।

उत्तर भारतको प्रहरीले यौन शोषणको आरोपमा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको सरकारका एकजना पूर्व केन्द्रीय मन्त्रीलाई पक्राउ गरेको छ ।

एकजना २३ वर्षीया विद्यार्थीले स्वामी चिन्मयानन्दले उनलाई एक वर्षभन्दा बढी समयदेखि उनैद्वारा सञ्चालित विश्वविद्यालयमा शोषण गरेको आरोप लगाएकी छन् । लखनउस्थित उनको आश्रमबाटै विशेष जाँच टोलीका अधिकारीहरूले स्वामी चिन्मयानन्दलाई पक्राउ गरेका थिए ।

उनलाई दुई साताका लागि हिरासतमा पठाइएको छ । उनको पक्षका एकजना वकिलले भने उक्त आरोपको खण्डन गरेका छन् । ती विद्यार्थीले एकजना ठूला नेताले उनलाई दुव्र्यवहार गरिरहेका छन् भन्दै एउटा भिडिओ सार्वजनिक गरेपछि सर्वोच्च अदालतले जाँचको आदेश दिएको थियो । प्रहरीले उक्त भिडिओको जाँच गरेको बताएको छ ।

बीबीसी हिन्दीका सम्वाददाताका अनुसार चिन्मयानन्दविरुद्ध पद र शक्तिको दुरुपयोग गरी यौन शोषण गरेको सम्बन्धी मामिला दर्ता गरिएको छ । शाहजहाँपुरस्थित एसएस ल कलेजमा पढ्ने उक्त विद्यार्थीले उनीविरुद्ध शोषण, अपहरण तथा धम्कीको आरोप लगाएकी छन् ।

बुधवार यसै सिलसिलामा एउटा भिडिओ भाइरल भएपछि यो मामिलाले नयाँ मोड लिएको थियो । बीबीसीले प्रामाणिकता पुष्टि गर्न नसक्ने उक्त भिडियोमा स्वामी चिन्मयानन्दले कुनै किशोरीसँग मसाज गराइराखेको र उनी चाहिँ मोबाइल फोनमा केही टाइप गरेको जस्तो देखिन्छ ।

लगत्तै केही वकिलले यो विषय सर्वोच्च अदालतमा पु¥याएका थिए र अदालतले जाँचको आदेश दिएको थियो । भाजपाका पूर्व सांसद स्वामी चिन्मयानन्द अटल बिहारी वाजपेयीको सरकारमा केन्द्रीय गृह राज्यमन्त्री बनेका थिए । उनी राम मन्दिर आन्दोलनका नेतामध्ये एक मानिन्छन् । आठ वर्षअघि शाहजहाँपुरकै अर्की एक महिलाले पनि उनीविरुद्ध यौन शोषणको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।

तर, उत्तरप्रदेश राज्यमा भाजपाको सरकार बनेपछि सरकारले उक्त मुद्दालाई फिर्ता लिएको थियो । पीडितले अदालतमा उक्त मुद्दालाई लिएर गएपछि हाल उच्च अदालतमा त्यो मुद्दा विचाराधीन रहेको छ । वीवीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here