नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण

४ आश्विन २०७६, शनिबार मा प्रकाशित

काठमाडौँ, 

नयाँ बसपार्कस्थित मित्रनगरमा वृक्षरोपण गरिएको छ । मित्रनगर विकास तथा सुधार समितिको आयोजनामा आज बिहान चक्रपथ क्षेत्रदेखि म्हैपी मितेरी पुलसम्म वृक्षरोपण गरिएको हो ।

वृहत् वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले यो वर्षलाई सरकारले वृक्षरोपण वर्ष घोषणा गरे पनि वृक्षरोपण कार्य प्रभावकारी हुन नसकेको बताउनुभयो ।

“रुख बिरुवा मासिनुका साथै जनसङ्ख्या वृद्धिका कारण उपत्यकामा तापक्रम दिनानुदिन बढ्दै गएको छ, तापक्रम न्यूनीकरण गरी स्वच्छ, सफा शहर निर्माणमा वृक्षरोपणले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्री प्रधानले सुन्दर, शान्त र हराभरा काठमाडौँ निर्माणका लागि सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले मित्रनगर क्षेत्रलाई सफा, सुन्दर र हरियाली बनाउन वृक्षरोपण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समय नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्क क्षेत्रमा सुधार आएको उहाँको भनाइ थियो । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले रु सात लाख ६५ हजार लागतमा मित्रनगर क्षेत्रमा २२५ बिरुवा रोप्न लागिएको बताउनुभयो ।

“हरियाली मित्रनगर निर्माणका लागि वृक्षरोपण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । समितिले चक्रपथ क्षेत्रमा वृक्षरोपण गर्ने भने पनि चक्रपथ विस्तारका क्रममा रुख काटिने भएकाले मित्रनगरभित्र वृक्षरोपण गर्न लागेको समितिका उपाध्यक्ष गङ्गा पन्तले जानकारी दिनुभयो ।

मित्रनगर विकास तथा सुधार समितिले आगामी दिन नयाँ बसपार्क क्षेत्र वरपर ६०० बिरुवा रोप्ने योजनासमेत बनाएको छ । विसं २०६४ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रको विकास र सुधारका लागि काम गर्दै आइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here