विपन्न परिवारका लागि सवा दुई करोड

0
722

बिर्तामोड।

संघीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न दुई करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय सरकारले झापा क्षेत्र नं. २मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको संघीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिइन् । उनका अनुसार तराई, मधेश समृद्धि कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँग समन्वय गर्दै यहाँका विपन्न समुदायका लागि आवास निर्माण गरिने भएको छ भने बुद्धशान्ति गाउँपालिकामा सामुदायिक भवन, कनकाई नगरपालिकामा कोच राजवंशीको अधुरो सामुदायिक भवन निर्माणमा रकम खर्च गरिने भएको छ ।

बिर्तामोड नगरपालिका–६, ७, ८ र ९मा रहेका पछाडि परेका समुदाय र विपन्न परिवारका लागि केन्द्रीय सरकारबाट ७५ लाख बजेट विनियोजन भएको छ भने अर्जुनधारा–३मा रहेका विपन्न परिवारका लागि आवास निर्माण गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विपन्न आवास कार्यक्रम सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले १५ लाख रुपैयाँ प्रदान गर्ने र बिर्तामोड नगरपालिकाले नौ लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको बताइएको छ ।

अर्जुनधारा नगरपालिकामा विपन्न कार्यक्रम आवासका लागि चालूआर्थिक बर्षमा ७५ लाख र बिर्तामोड नगरपालिकामा ८४ लाख खर्च हुने बताइएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. २मा सामुदायिक भवन निर्माणका लागि केन्द्रीय अनुदान ३० लाख र स्थानीय तहबाट ५ लाख गरी ३५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ भने जगदीश्वर शिव पाञ्चायन मन्दिर बहुउपयोगी सामुदायिक भवन निर्माणका लागि संघीय सरकारबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो सामुदायिक भवन गाउँपालिकाको वडा नं. २मै रहेको छ । यसका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ थप बजेट प्रदान गर्ने बताइएको छ ।

यता कनकाई नगरपालिका–९मा रहेको कोच राजवंशी सामुदायिक भवन निर्माणका लागि संघीय सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको र कनकाई नगरपालिकाले ३ लाख रुपैयाँ बजेट प्रदान गरेको प्रतिनिधिसभा सदस्य खरेलका स्वकीय सचिव लीला आचार्यले जानकारी दिए । आचार्यका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमका लागि संघीय सरकारबाट २ करोड २५ लाख, स्थानीय तहबाट ३७ लाख गरी दुई करोड ६२ लाख रुपैयाँ झापा क्षेत्र नं. २लाई मात्रै बजेट विनियोजन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here