मेचे भाषामा बालबालिका आकर्षित

0
1343

दमक।

२६ बर्षीया सिर्जना मेचे आफ्नो भाषा राम्रोसँग बुझ्दिनन् । प्रायः घरमा नेपाली भाषा नै बोलिने भएकाले उनलाई आफ्नो भाषाको ज्ञान राम्रोसँग छैन । उनका छोरा अहिले १ कक्षामा अध्ययनरत् छन् । ‘म त बोलेको फर्काउन नसके पनि केही बुझ्छु तर छोराले त झन् केही नै बुझ्दैन’ –उनले भनिन् । धेरै मेचे परिवारमा अहिले मेचे भाषाको समस्या यस्तै रहेको छ ।

हल्दीबारी गाउँपालिका वडा नं. ४ को मेचेबस्तीका मेचेहरु अब आफ्नो भाषा संरक्षणका लागि प्रयास शुरु भएको र बालबालिकाहरुलाई भाषा सिकाउन थालेकोमा दंग भएका छन् र उनीहरु आफू समेत भाषा सिक्न लालयित छन् । भmापा जिल्लामा मात्र बसोबास रहेको लोपोन्मुख मेचे जातिको भाषा संरक्षणका लागि नेपालमा नै पहिलो पटक झापामा मेचे भाषा पढाउन शुरु गरिएको छ ।

मेचे बालबालिकासँगै गैर मेचेहरुले उत्साहपूर्वक मेचे भाषा सिक्न थालेका छन् । परापूर्वकालमा मेची खोला र कन्काई नदीका बीचमा बस्ने भएकाले यिनीहरूलाई मेचे भनिएको बताइन्छ । यस जातिको भाषा लोप हुने अवस्थामा पुगेपछि हल्दीबारी गाउँपालिकाले मेचेहरुको बाहुल्यता रहेको । गाउँपालिकाको वडा नं. ४ मा रहेको दिपेन्द्र आधारभूत विद्यालयमा मेचे भाषा पढाइ शुरु भएको एक महिना भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीका अनुसार मेचे भाषाविज्ञ सन्तलाल मेचेले लामो प्रयास र खोजपछि ‘जङनि राउ भाग १’ पुस्तक तयार पारेका छन् । यसलाई मेचेका साथै यस विद्यालयमा पढ्ने सबै विद्यार्थीका लागि अनिवार्य गरिएको छ । पठनपाठनका लागि मेचे शिक्षिकाको नियुक्ति गरिएको समेत उनले बताए ।

‘पुस्तकमा आधारभूत रुपमा दैनिक जीवनसँग गासिएका बिषयहरु समेटिएकाले सबै कक्षामा पढ्न तथा भाषा सिक्न सहज हुने विश्वास लिएका छौं’ –उनले भने । कक्षा १ मा भने अनिवार्यरुपमा मेचे भाषा पढ्नुपर्ने छ । यहाँ एक सय ३१ विद्यार्थीहरु अध्ययनरत् रहेकोमा ५५ जना मेचे जातिका विद्यार्थीहरु रहेको बताइएको छ ।

विद्यालयका प्रधानध्यापक दीर्घराज आचार्यले आफूहरु समेत समय मिलाएर भाषा सिक्ने तयारी गरेको बताए । ‘मेचेबस्तीको बीचमा हाम्रो विद्यालय रहेकाले म लगायत हामी शिक्षकहरुले समेत भाषा सिक्ने सोचाइ बनाएका छौं’ –उनले भने । पढाउने शिक्षक समेत मेचे भाषा बिषयमा ज्ञान भएको पाइएकाले पढाउनका लागि समस्या नभएको समेत उनको भनाइ रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का सदस्य महेश मेचेले नीजि विद्यालयमा पठनपाठन गराउने मेचे परिवारले समेत अब बालबालिका यही ल्याएर पढाउन थालेको बताए । ‘यो हाम्रो लागि गौरवको बिषय हो र भाषा संरक्षणका लागि गाउँपालिकाले गरेको लगानी हामीले बुझेका छौं –उनले भने । विस्तारै मेचे भाषालाई माथिल्लो कक्षासम्म लैजान सकेमा राम्रो हुने समेत उनको सुझाव छ ।

विद्यालयमा एउटा कक्षा पढाई हुने मेचे भाषा विषय पढ्दा अरु विषयभन्दा धेरै चासो दिएर विद्यार्थीहरुले पढ्ने गरेको शिक्षिका सुमिता मेचेले बताइन् । ‘नयाँ भाषा भएकाले विद्यार्थीहरुले मन दिएर सुन्ने र घरमा गएर पढेर आउने गरेको पाएका छौं’ –मेचेले भनिन् । आफ्नो भाषा कक्षामा आएर पढाउन पाउँदा आफूलाई पनि गर्व लागेको उनले जनाइन् ।
वि.स. २०६८ सालको गणना अनुसार मेची जातिको जनसंख्या चार हजार आठ सय ६७ मात्र रहेको छ । उनीहरु मदिरा उत्पादन तथा परम्परागत रुपमा अर्काको खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार वैकल्पिक पेशा व्यवसाय दिएर उनीहरुलाई स्वरोजगार बनाउने कार्यक्रम समेत गाउँपालिकाले बनाइरहेको छ ।

‘लोपोन्मुख जाति मेचेको परम्परागत भाषा, संस्कृति जोगाउने दायित्व स्थानीय सरकारको पनि भएकाले पहिलो यसमा ध्यान दिएका हौं’ –उनले भने– ‘अब मेचे जातीलाइ दिगो आयश्रोतका लागि सीप सिकाउने र रोजगारका अवसर प्रदान गर्ने किसिमको कार्यक्रम पनि बनाउँदैछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here