अर्जुनधारा।

अर्जुनधारा नगरपालिकाले घरपालुवा र सामुदायिक कुकुर नियन्त्रण गर्न कार्यविधि र मापदण्ड तयार गर्ने भएको छ ।
रेबिज रोग नियन्त्रण गर्ने उद्धेश्यले नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले गत भदौ २८ गतेदेखि सञ्चालन गरेको रेबिज रोग विरुद्ध निःशुल्क खोप तथा कुकुर बन्ध्याकरण कार्यक्रमको सोमबार आयोजित समापन कार्यक्रममा उक्त कार्यविधि र मापदण्ड तयार गर्ने शाखा प्रमुख पदमलाल राईले बताए ।
हिमालय एनीमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालको प्राविद्यिक सहयोगमा आर्थिक वर्ष ०७४÷०७५बाट निरन्तररुपमा सञ्चालन गरिएको कार्यक्रमबाट नगरमा रेबिज रोगको प्रकोप ८० प्रतिशत कम भएको शाखा प्रमुख राईले दावी गरेका छन् ।

नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रम प्रभावकारी भएको हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने नगर प्रमुख हरिकुमार रानाले बताए । उनी भन्छन्–“रेबिज रोगका कारण मानिस र पशुचौपाया कसैले अकालमा ज्यान गुमाउन नपरोस्” त्यसैगरी हार्ट नेपालका प्रमुख खगेश्वर भट्टराईले हार्ट र नगरपालिकासँगै सबैले रेबिज रोग नियन्त्रण गर्न हातेमालो गर्ने हो भने रेबिज रोगमुक्त नगरपालिका बनाउन सम्भव भएको बताए ।
१० दिनसम्म सञ्चालन भएको कार्यक्रम अन्र्तगत एक हजार ३२ वटा कुकुरलाई रेबिज विरुद्धको खोप दिइएको र दुई सय एक वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरण गरिएकामध्ये ४० प्रतिशत मंगरेल जातीको घरपालुवा कुकुर रहेको हार्टका प्रमुख भट्टराईले बताए ।
कार्यक्रममा हार्ट नेपाललाई नगरपालिकाकोतर्फबाट प्रशंसा पत्र वितरण गरिएको थियो । नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।






























