अन्तर्राष्ट्रिय झापाली समाज : सम्मेलनका चुनौति

0
928

भरत शिवाकोटी,

झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा र अन्य विभिन्न उद्देश्य लिएर विश्वका विभिन्न मुलुकहरुमा गएका झापालीहरुले सामाजिक उद्देश्य राखेर दुई दर्जनभन्दा बढी देशहरुमा झापाली समाज गठन गरिसकेका छन् ।

मुख्यतः झापा जिल्लाको सामाजिक, शैक्षिक लगायत समग्र विकासमा योगदान गर्ने उद्देश्य लिएर विभिन्न देशमा स्थापना भएका यिनै झापाली समाजहरुको छाता संस्थाको रुपमा दुई बर्षअघि ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ स्थापना भएर क्रियाशील रहेको संस्था हो, अन्तर्रािष्ट्रय झापाली समाज । २०७४ असोज २५ गते झापाको बिर्तामोडमा पहिलो सम्मेलन गरेको दुई बर्षपछि २०७६ साल असोज २५ र २६ गते बिर्तामोडमा नै आफ्नो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ अन्तर्राष्ट्रिय झापाली समाजले ।

सम्मेलन सफलातापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय झापाली समाज लागिरहेको र देश–बिदेशमा रहेका सम्पूर्ण झापाली दाजुभाइ, दिदीबहिनी, तथा शुभचिन्तकहरूलाई उक्त सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय झापाली समाजले अनुरोध समेत गरेको छ । सम्मेलनले मुख्यतः नयाँ कार्यसमिति चयन गर्नेछ भने समितिको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्र लिम्बूले अध्यक्षका निमित्त आकांक्षा देखाएका छन् ।

२०७४ सालमा सम्पन्न पहिलो सम्मेलनले सुरुङ्गा स्थायी घर भई अष्ट्रेलियामा रहेका सामाजिक अभियन्ता दिनेश पोखरेलको अध्यक्षतामा विश्वका १८ देशमा रहेका झापाली प्रतिनिधिहरु सम्मिलित समिति गठन गरेको थियो । हालसम्म आइपुग्दा २८ वटा देशमा आफ्नो सञ्जाल बिस्तार गरेको यो संस्थाले आसन्न सम्मेलनमा दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाएको छ । समाजले २०७५ वैशाख १३, १४ र १५ गते कतारको दोहामा र २०७५ असोज ८, ९ र १० गते दक्षिण कोरियाको सीउलमा क्षेत्रीय भेला सम्पन्न गर्दै विभिन्न कार्ययोजना तय गरेको छ । अन्तर्राष्ट्रिय झापाली समाजमा अष्ट्रेलिया, कोरिया, युएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्याण्ड, जर्मनी, साइप्रस, इङ्ल्याण्ड, क्यानडा, मलेसिया लगायतका देशहरु संलग्न रहेका छन् ।


२०७३ सालमा झापा जिल्लाका विभिन्न नदीहरुमा आएको बाढीबाट प्रभावित भएका बाढीपीडितहरुलाई झण्डै १५ लाख बराबरको राहत सामग्रीहरु वितरण गरेको यस संस्थाले सोही बखत झापाको कमल खोलामा आएको बाढीबाट विस्थापित भएका कमल गाउँपालिका–१ मा रहेका नौ घरपरिवारका निमित्त नौ वटा पक्की घर निर्माण गरिदिने घोषणा गरेको थियो । लागत अनुमानभन्दा बढी लागत खर्चका कारण समयमा निर्माण सम्पन्न गर्न नसके पनि निर्माणाधीन मिस्त्री नमूना बस्तीको ९० प्रतिशत काम सम्पन्न भइसकेको उक्त घर निर्माण समितिका सचिव केशव श्रेष्ठले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले आगामी सम्मेलनभन्दा अगावै मिस्त्री बस्तीको काम सम्पन्न गरी बस्ती हस्तान्तरण गरिसक्ने लक्ष्य रहेको जानकारी दिएका छन् । पोखरेलले विदेशमा कार्यरत झापालीहरुबाट सानो–सानो आर्थिक संकलन गर्नु आफैंमा कठिन कार्य भए पनि यसलाई आत्मासाथ गर्दै प्रवासमा रहेका नेपालीहरुद्वारा झापामा नै पहिलो र ठूलो कार्य गरेको तर कतिपय ब्यक्तिहरुले वास्तविकता नबुझी आलोचना गरेकोमा दुःख लागेको बताएका छन् ।

मुख्यतः वैदेशिक रोजगारिका निमित्त प्रवासीएका झापालीहरू सँगै अन्य विभिन्न उद्देश्यले प्रवासमा रहेका अगुवा झापालीहरूले झापाका निमित्त थालनी गरेको यो सामाजिक अभियानलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ! दुई बर्षको अवधिमा संस्थाले हासिल गरेको संस्था विस्तारको काम र झापा जिल्लामा गरेको राहत वितरण तथा मिस्त्री बस्तीको निर्माण काम आफैंमा महत्वाकांक्षी हुन् ।

अझै भन्नुपर्दा दोहा र सिउलमा सम्पन्न क्षेत्रीय भेलाद्वारा घोषित कार्यक्रम त झनै महत्वाकांक्षी छन्, जुन कामहरुको कार्यान्वयन हेर्न बाँकी नै छ । देशगत रुपमा धेरै थोरै काम गरिरहेका झापाली समाजहरुको छाता संस्था भइसकेपछि अन्तर्राष्ट्रिय झापाली समाजले २८ वटा देशमा रहेका झापाली समाजसँग सुमधुर सम्बन्धको स्थापित गर्न जरुरी देखिएको छ, सँगै सबैप्रति समान व्यवहार गर्नुपर्ने पनि देखिन्छ । संस्था विस्तार भएका देशहरु हेर्दा कुनै देशहरुमा रहेका व्यक्तिहरुको औसत आय राम्रो देखिन्छ भने कुनै देशहरुमा रहेका व्यक्तिहरुको औसत आय त्यति राम्रो देखिँदैन ।

त्यसैले संस्थाका कार्यक्रमहरु गरिँदा वा हुँदा महत्वपूर्ण मानिने आर्थिक पाटोमा संस्थाले औसत आयलाई मध्यनजर राख्नैपर्छ । यदि यसो गरेको खण्डमा संस्था बाहिर रहेका झापालीहरू समेत गोलबद्द हुँदै जानेछन् । तर, केवल आर्थिक पाटोलाई मात्र सर्वेसर्व मानेर संस्थालाई अघि लैजान खोजियो भने अन्तर्राष्ट्रिय झापाली समाज केही पैसावाल व्यक्तिहरुको पेवा जस्तो त हुने नै छ यो सँगै देशगत रुपमा रहेका औसत आय कम भएका झापाली समाजहरु अन्तर्राष्ट्रियको छाताबाट नबाहिरेलान् भन्न समेत सकिन्न । यो विषयमा अन्तर्राष्ट्रिय झापाली समाजले गहन गरी सोच्दै सचेत हुनै पर्दछ ।

देशगत रुपमा रहेका समाजहरुका समेत झापामा आ–आफ्नै सम्पर्क व्यक्ति छन् त कतिका त सम्पर्क समितिहरु नै क्रियाशील रहेका छन् । तर, दुई दर्जनभन्दा बढी देशहरुमा संस्था रहेको अन्तर्राष्ट्रिय झापाली समाजको हालसम्म नेपालमा आधिकारिक सम्पर्क समिति छैन, जसका कारण संस्थाले बेला–बेला विभिन्न समस्याहरु झेल्दै आएको छ ।

यसलाई निराकरण गर्न देशगत रुपमा रहेका अधिकतम् झापाली समाजहरुलाई अपनत्व हुने गरी अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो नेपाल सम्पर्क समिति गठन गर्दै नेपालमा रहेका देशगत सम्पर्क समिति र व्यक्तिहरुको व्यवस्थित साझा कार्यालयको व्यवस्था गर्न सके सबै काम छिटो–छरितो र प्रभावकारी हुन सक्नेछ । जसको फाइदा २८ वटा देशमा रहेका झापाली समाजहरुले नै लिन सक्ने छन् । आन्तरिक कामहरुलाई व्यवस्थित गर्दै कागजी कार्ययोजनालाई कार्यान्वयन गर्न र कार्यान्वयन हुन सक्ने कामहरुको मात्र योजना बनाउने विषयमा अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन एउटा कोसेढुंगा सावित हुन सकोस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here