निक्षेपको सुरक्षा गर

0
431

बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई घरबारविहीन बनाइरहेको समाचार सार्वजनिक भइरहेकै बेला एउटा समूहले बैंकलाई नै नोक्सानी पु¥याएको घटना बाहिर आएको छ । कतिपय सहकारी तथा बैंकहरुले निम्न तथा मध्यम वर्गीय परिवारसँग व्यावसायिक कारोबार गर्ने क्रममा बढी ब्याज लिएको, समय अघि नै लिलाम गराएको जस्ता आरोप लाग्ने गरेको छ । त्यसैगरी कतिपय ठूला र घरानीया वर्गले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्ने, फरार हुने तथा कतिले नक्कली धितो कायम गरी हानी पु¥याउने काम गर्ने गरेका छन् ।

बैंक आर्थिक गतिविधिलाई गति प्रदान गर्ने वित्तीय संस्था हो । जसले जनताको निक्षेप संकलन गर्छ र उद्योगी–व्यवसायी वा व्यापारीहरुलाई ऋण प्रवाह गर्दछ । यस अर्थमा बैंक आफैं व्यापारिक प्रतिष्ठान हो, जसले अरुहरुलाई वित्तीय सहयोग प्रदान गर्दै आफू आर्थिक लाभ लिन्छ । यसका लागि अनेक नामका वाणिज्य बैंकहरु स्थापित र सञ्चालित छन् । ती सबैलाई निर्देशन, अनुगमन, नियमन र नियन्त्रण गर्ने काम देशको केन्द्रीय बैंकले गर्दछ । जसलाई नेपाल राष्ट्र बैंक भनिन्छ हामी कहाँ । आफ्नो कर्तव्य र कार्यक्षेत्रभित्र रहेर राष्ट्र बैंकले समय–समय नयाँ नीति, योजना र निर्देशिका जारी गर्दै सबै बैंकहरुकाबीच समानता र समन्वयकारी भूमिका निर्वाह गर्दछ ।

नेपालको पहिलो वाणिज्य बैंक भनिन्छ– नेपाल बैंक लिमिटेडलाई । त्यसपछि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको स्थापना भयो त्यही उद्देश्य प्राप्तिका लागि । समयको अन्तरालमा निजी क्षेत्रबाट बैंक खोल्ने प्रतिष्पर्धा जस्तै भयो । अहिले देशका सबैजसो क्षेत्रहरुमा कुनै न कुनै बैंक सञ्चालन भइरहेका छन् । अझ बजार, शहर क्षेत्रमा अनगिन्ती छन् यस्ता बैंकहरु जसले सेवासहितको मुनाफा कमाउने उद्देश्य लिएका छन् । यसरी व्यापार गर्दै आएको बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृतसहित एघार जना अनियमितताको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई झापा कन्काई नगरपालिकाको घैलाडुब्बा भएर बग्ने विरीङ खोला धितो राखेर ऋण प्रवाह गरेको आरोप लागेको छ । कर्मचारीको मिलेमतोमा खोला बगिरहेको क्षेत्रको जग्गाको नक्कली श्रेस्ता तयार गरी ऋण दिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी बैंकलाई चार करोड पचास लाख नोक्सानी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

विरीङ नदीलाई ‘झापाको दुःख’ भनिन्छ । त्यस्तै कन्काई लगायतका नदीले किनारका जमिन कटान गरेर नम्बरी जग्गा बगरमा परिणत गर्ने गरेको छ । नदीले बर्षेनि धार परिवर्तन गर्ने हुँदा नदी बग्दै गरेको ठाउँ नम्बरी जग्गा पनि हुन सक्छ । त्यसो त प्रहरीले जग्गाधनी सुरेन्द्र श्रेष्ठ जो स्वयम् ऋणी भनिएका छन् उनको वास्तविकताको अनुसन्धान गरेको होला र ऋण स्वीकृति गर्नु पूर्व बैंकद्वारा गरिने प्रक्रियाको समेत अध्ययन गरेकै हुनुपर्छ । त्यसैले किर्ते कागजात बनाएर ऋण लिने र ब्याज पनि नतिर्ने मात्रै होइन यस्तो मिलेमतोमा संलग्न सबै कानूनको दायरामा आउनुपर्छ । पछिल्लो समय काठमाडौंमा बस्नेहरु झापाका यस्ता जग्गाका मालिक हुने प्रवृत्ति बढेको छ, यसले अनपेक्षित घटनाको संकेत चाहिँ गर्छ । तर, हामीकहाँ बालुवाटार नै भागवण्डा भइसकेको उदाहरण छ यसले ‘यथा राजा तथा प्रजा’ अर्थात् जस्ता नेता त्यस्तै जनता हुनु अनौठो भने पक्कै होइन । तर, बैंकहरुले अस्वस्थ प्रतिष्पर्धा गरेर निक्षेपकर्ताको निक्षेपलाई सुरक्षा दिने कर्तव्यप्रति भने सजग हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here