पत्रकार आचारसंहिता संशोधन

0
718

झापा।

पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) सोमवारदेखि जारी भएको छ ।

प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गरेका हुन् ।

सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्य अनुरुप सरोकारवाला संघ–संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने तर्क राखे । उनले यो आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुँदा त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । साथै उनले पत्रकार महासंघको सहमतिमा बनेको यो आचारसंहिता कार्यान्वयनकालागि सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तीब्रतर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताए । उनले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानून बनेको बताउँदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे ।

त्यसैगरी काउन्सिलका सदस्य गोपाल बुढाथाकीले विभिन्न चरणमा छलफल पश्चात सहमतिमा पुगेर तयार पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्न कोशेढुंगा सावित हुने बताए ।

त्यसैगरी पत्रकार महासंघका सचिव एवम् आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चार माध्यमहरुको विकाससँगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको र पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सँधै सत्यतथ्य सूचना प्रवाह गर्न आचारसंहिता कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here