सीडीओले सूचना अधिकारीको बोर्ड नदेखेपछि…

0
683

भद्रपुर।

जिल्ला प्रशासन कार्यालय झापामै सूचना अधिकारीको नाम र फोन नम्बरसहित टाँस गरिएको बोर्ड नराखिएकोले तत्काल राख्न कर्मचारीलाई निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उदय राना मगरले बताएका छन् ।

काभ्रे जिल्लाबाट भर्खरै सरुवा भएर झापा आएका सीडीओ रानाले सोमबार झापाली पत्रकारसँग गरेको परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । सूचनाको अधिकार र पहुँचबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने बताउँदै सीडीओ रानाले भने– आफ्नै कार्यालयभित्रै सेवाग्राहीले सेवा लिने ठाउँमा सूचना अधिकारीको बोर्ड मैले देखिनँ र तत्काल सूचना अधिकारीको नाम र फोन नम्बरसहितको बोर्ड राख्न कर्मचारीलाई निर्देशन दिएको छु ।

‘सूचना अधिकारी बोर्ड देखिने स्थानमा हरेक सरकारी कार्यालयले राख्नु पर्छ’– उनले भने– ‘ढिला भएपनि पहिला आफू कार्यरत कार्यालयबाटै यसको सुरुवात गर्छौ, अनि जिल्लाका हरेक कार्यालयमा सूचना अधिकारीको बोर्ड राख्न लगाउँछौं ।’
जिल्लाका सरकारी कार्यालयको सूचना अधिकारी र कार्यालय पोसाकको बिषयमा पत्रकारले राखेको जिज्ञासा पश्चात सीडीओ रानाले भने– ‘कार्यालय पोशाक लगाउन र सूचना अधिकारीको बोर्ड अनिवार्य राख्न कार्यालय प्रमुखको बैठकमा निर्देशन दिनेछांै ।’

सीडीओ रानाले जिल्लाको शान्ति सुरक्षासँगै सुशासन सम्बन्धी महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गरे । बिगतमा भइरहेका गतिविधिलाई यथावत् राखी अझ महत्वपूर्ण तवरले जिल्लाको काम गर्ने उनको भनाइ छ । तर, पत्रकारको भूमिका सहयोगी हुनुपर्ने उनले बताए । प्रशासन लगायत समग्र झापा जिल्लालाई समृद्ध बनाउन पत्रकारको तर्फबाट गरिने सहयोगमा कुनै कञ्जुस्याँई नहुने पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले बताए ।
त्यसैगरी राष्ट्रिय समाचार समितिका सदस्य दयाराम दाहालले आम जनतालाई सुसूचित गराउन पत्रकार र जिल्लाको प्रशासन पक्षको समन्वयकारी भूमिका हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार ईश्वर अधिकारी, उत्तम नेपाल, पार्थ मण्डल, डिकेश लामा, विष्णुप्रसाद पोखरेलले सुझाव तथा जिज्ञासा राखेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न गएपछि उनको स्थानमा राना आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here