चारपाने।
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले फरक तरिकाले नवौं स्थापना दिवस मनाउने तयारी गरेको छ ।
‘दशँै आयो खाउला पिउला, चाडपर्वमा कसैले फैलाउनु नपरोस् हात, यसपालीको दशँैमा शिखरले दिनेछ तपाईको साथ यसपाली दशैं शिखरसँग’ भन्ने नाराका साथ रक्तदान र विपन्नलाई कपडा तथा खाद्यान्न वितरण कार्यक्रम गरेर स्थापना दिवस मनाउने भएको हो ।
स्थापना दिवस अन्तर्गत असोज ११ गते बिर्तामोडमा रक्तदान र असोज १५ गते विपन्न समुदायका ५० जनालाई नयाँ कपडा र खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उनले आफ्ना गाउँ–ठाउँमा रहेका विपन्न समुदायका व्यक्तिहरु भए जानकारी गराउन समेत सबैसँग आग्रह गरे ।
कसैले पनि आर्थिक अभावमा चाडपर्व मनाउन नपाउन् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उनले बताए । २०६७ साल बैशाख २२ गते औपचारिक रुपमा सेवा शुरु गरेको शिखर साकोसले छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनले बताए । स्थापना कालमा ४४ जना शेयर सदस्यले एक हजारका दरले शेयर लगानी गरेर शुरु गरिएको शिखर साकोसमा हाल सात हजार आठ सय ३९ जना शेयर सदस्य रहेको उनले बताए ।
संस्थाको शेयर पुँजी चार करोड ७० लाख, बचत रकम ४८ करोड ४३ लाख, ऋण लगानी ५० करोड ८४ लाख र कोषमा एक करोड ५० लाख राख्न सफल भएको अध्यक्ष राउतले बताए ।
झापाको कनकाई पूर्वलाई कार्यक्षेत्र बनाएर सहकारी सेवा विस्तार गर्नेक्रममा संस्थाको हाल राजगढ र गरामनीमा सेवा केन्द्र सञ्चालनमा रहेको बताउँदै अध्यक्ष राउतले शिखर साकोसले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, फोन गरे हुन्छ शिखर घरमै आईपुग्छ जस्ता प्रविधियुक्त सुविधाहरु शुरु गरेको जानकारी दिए ।
सानादेखि ठूला उद्यमी व्यवसायी सदस्यहरुलाई सहजरुपमा ऋण प्रवाह गर्दे आएको बताउँदै उनले यस बर्ष २२६९ जनालाई ऋण लगानी गरिसकेको बताए । शिखर साकोसले शिखर बजार, कृषि परियोजना लगायत सञ्चालन गर्दै आएको उनले बताए । कार्यक्रममा संस्थाका सचिव हिमालय प्रसाईं, व्यवस्थापक लीलानाथ रेग्मी, सञ्चालक सदस्यहरु किरण पौडेल र किरण थापाले संस्थाका बारेमा जानकारी गराएका थिए ।






























