सुनपछि बैंक निशानामा: ५ अर्ब लुट्नबाट जोगियो, मुख्य नाइके भारतमा

९ आश्विन २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

पटक–पटक हुने तस्करीका घटनाले नेपालको सुरक्षा प्रणालीमाथि प्रश्न सिर्जना भएको छ । चीनबाट नेपाललाई अन्तर्राष्ट्रिय ट्राञ्जिट बनाई सुन तस्करी हुने गरेको आधिकारिक रुपमा २०७० मंसीरमा पुष्टि भएको थियो ।

त्यसबेला १७ किलो सुन तातोपानी भन्सार गेटमै बरामद भएको थियो । चीनको खासाबाट तातोपानी हुँदै काठमाडौंमा सुन जाँदैछ भन्ने सुराकी पाएपछि चेकजाँच गर्ने क्रममा भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको सयुंक्त टोलीले सुन बरामद गरेको थियो ।

पछिल्लो समय ३३ किलो सुन काण्डमा गोरेसहितका विभिन्न व्यक्ति पक्राउ परेका थिए भने नेपाल प्रहरीकै उच्च ओहोदाका व्यक्ति समेत सुन तस्करीमा संलग्न भएको घटना सार्वजनिक भएको थियो । सुन तस्करीको घटना सेलाउँदै गइरहेका बेला चीनसहित विभिन्न देशका ह्याकरको निशानामा नेपालका बैंकहरु परेका छन् । यसले नेपालको विद्युतीय सुरक्षा प्रणालीमाथि नै शंका उत्पन्न भएको छ ।

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’ को सानो हिस्सा मात्र भएको प्रहरीले दाबी गरेको छ । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’ लाई मुम्बईमा बसेर अपरेट गरिरहेका थिए ।

यो लुटका मुख्य मास्टरमाइण्ड पिटर हुन् जलाई काले भनेर चिनिन्थ्यो । उनी मुम्बईमा बसेर नेपालमा विभिन्न व्यक्तिहरुलाई परिचालन गरी रकम लुटिरहेका थिए । कालेले कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा सिस्टम ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ । पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ । पिटरले मुम्बईमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ । उनीहरुलाई भारतमा बोलाइ मिटिङ गर्ने र कमिशन डिल गर्ने गरेको भेटिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली व्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिशन दिइ हुण्डीमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, सुवन्धर पञ्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ । उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ । राष्ट्र बैंकले लुटमा बैंककै कर्मचारीहरुको संलग्नता भएको पुष्टि गरेको छ । राष्ट्र बैंकका अनुसार तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा ट्रान्सफर गरेका थिए । त्यसमध्ये २ करोड हाराहारी ट्रान्सफर गरिएका खातावालाहरुले झिकिसकेका छन् ।

प्रहरीले हालसम्म पनि मुख्य ह्याकरलाई पक्राउ गर्न नसक्दा अझै पनि नेपालका बैंकहरु लुटिन सक्ने सम्भावना भएको सरोकारवालाहरुको भनाइ छ । ह्याकरसंग बैंककै कर्मचारीको मिलेमतो हुनुले पनि बैंकिङ सुरक्षा प्रणालीप्रति उपभोक्ता सशंकित बनेका छन् । प्रहरीले केही साता अघि मात्रै एटिएम कार्ड ह्याक गरेर रकम लिकाल्दै गरेको अवस्थामा पाँच जना चिनियाँ ह्याकरहरुलाई पक्राउ गरेको थियो । उक्त समयमा समेत मुख्य ह्याकर भने फरार रहेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here