सरकारको जवाफदेहिता खोई ?

१० आश्विन २०७६, शुक्रबार मा प्रकाशित

विष्णुप्रसाद खरेल,

कर जति उठे पनि, पुग्ने होइन देशमा,
रित्याइसके ढुकुटी त, सेवकको भेषमा ।
बलात्कार र हत्याकाण्ड, साह्रै मौलाउँदैछ,
नेता बहुला परेपछि, देशै बहुलाउँदैछ ।

कवीयात्री शीतल शर्माले लेखेको यो कविताको हरफले देशको दृश्य उजागर गरेको छ । धेरैबेर सोचें । मेरो मानसपटलमा पनि निष्कर्ष आयो– हो, देश बहुलाउँदैछ । सरकारले गरेका र भनेका कुराहरुलाई नियालेर हेर्ने हो भने साँच्चै नै– देश बहुलाउँदैछ !

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई बनेको पार्टी हो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । २०७४ को तीनै तहको चुनावी अङ्कगणित र देशव्यापी कार्यकर्ता र सङ्गठनको संरचना हेर्दा नेकपा देशको सबैभन्दा ठूलो राजनीतिक दल हो । त्यति मात्र होइन, केन्द्रमा झण्डै दुई तिहाइ नेतृत्वको सरकार, छ वटा प्रदेशमा सरकारको नेतृत्व र स्थानीय तहमा पनि आधाभन्दा धेरै ठाउँमा नेतृत्व छ । यो नेकपाको शक्ति हो । जहाँत्यहीँ सरकारको नेतृत्व हुँदा साधनस्रोतले सम्पन्न पार्टी हो– नेकपा । यस्तो शक्तिशाली पार्टीको शक्तिसाली सरकार हुँदा पनि मानिसहरु भन्न थालेका छन्– देश बहुलाउँदैछ ।

सरकारमाथि विपक्षी र जनस्तरबाट समेत प्रश्नै–प्रश्न उठे पनि केपी ओली नेतृत्वको सरकारले धेरै जनपक्षीय काम गरेको दाबी गर्दै आएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा राखेकै छ । पछि परेको नेपाली समाजलाई रूपान्तरण गर्ने सपना पूरा हुँदै गएको प्रधानमन्त्रीको दाबी छ । पछिल्लो पटक प्रधानमन्त्रीले संविधान दिवसमा गरेको सम्बोधनमा पनि भनेका थिए– ‘म बिनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना होइन, ब्युँझिएको बेलाको सपना देखौँ ।’ प्रधानमन्त्री ओलीले जतिसुकै दाबी गरे पनि कविहरु देश बौलाएको सपना देख्न थालेका छन् । अझ कवियत्री शीतल शर्माले त आरोप नै लगाएर भनेकी छन्– नेता बहुला परेपछि, देश बहुलाउँदैछ ।

मानिसलाई अधैर्य, दम्भकारी, आक्रमक र जवाफदेहिताविहीन बनाउनु नै बहुलापनको लक्षण हो । सरकार र नेकपालाई यसो भनेको अभिव्यक्ति त्यसै आएको होइन । यसका पनि कारणहरु छन् । ती कारणहरुलाई खोतलेर हेर्दा यस्तो तर्कमा बल पुग्छ । अहिले सरकारमा रहेकाहरु र सरकारमा रहेको पार्टी नेकपाका नेता र कार्यकर्ताहरुमा अधैर्य, दम्भकारी, आक्रमक र जवाफदेहिताविहीन चरित्र छ्यापछ्याप्ती भेटिन्छ । उनीहरुमा बढेको उन्मादले बहुलापनको संकेत गर्न थालेको छ । त्यसैले विश्लेषकहरु भन्न थालेका छन्– नेता बहुला परेपछि देश बहुलाउँदैछ ।

नेकपाको सरकार र केपी ओलीको सत्तारोहणको शुरुवात, आशाजनक थियो । आम मानिसहरुमा एउटा उत्साह र आशा पलाएकै हो । केही त हुन्छ भन्नेहरुको कमी पनि थिएन । संविधान जारी भएपछि यसको कार्यान्वयनका लागि निर्वाचित बलियो सरकारले एउटा आशा जगाएको थियो । गठबन्धनको अपवित्र राजनीतिबाट दिक्क भएका आम नागरिकहरुमा एउटा बलियो पार्टीको झण्डै दुइतिहाईको सरकारबाट राजनीतिक स्थिरता र विकासको आशाका किरणहरु जतात्यतै देखिन थालेको थियो । नागरिकहरुमा पलाएको आशाको किरणलाई प्रकाशमा बदल्ने दायित्व सरकार र सरकारमा रहेको दल नेकपाको ओजिलो दायित्वका रुपमा उदाएको थियो । सरकार र उक्त दललाई धैर्यवान, शालिन, समन्वयकारी र जवाफदेही चरित्र शोभायमान हुने थियो । तर, भयो अर्कै । उनीहरु उदण्ड भए ।

आफू बाहेक अरु दल र दलमा आस्था राख्नेहरु मानिस नै होइनन् भन्ने दम्भ बढ्न थाल्यो । नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा उनीहरुभन्दा लामो इतिहास र योगदान दिएका दल र दलका कार्यकर्ता र समर्थकहरुको तेजोबध गर्ने उग्र गतिविधि उनीहरुको सहारा र साधन बन्यो । यही समयमा ‘अरिंगाल’ शब्दको उत्पत्ति भयो । देशभर अरिंगाल प्रबृत्तिलाई मौलाउने बनाउन निर्देशन नै भयो । निषेधको राजनीतिलाई हुर्काउने र नियन्त्रणवादी सोच राखेर काम गर्ने संस्कारको विकास गरियो । आम नागरिकहरुले यो चरित्र र स्वभावलाई राजनीतिक चरित्रका रुपमा स्वीकार गर्न सकेनन् । त्यसैको उपज हो कवीयात्री शीतल शर्माको कविताको हरफ– नेता बहुला भएपछि, देश बहुलाउँदैछ ।

देखियो पनि । जे गर्छु भन्छन्, त्यो गर्न सक्दैनन् । गरेनन् पनि । सेण्डीकेट तोड्छौं भने तोडेनन् । फलफूल र तरकारीका माफिया र विचौलियाहरु हटाउँछौं भने– आफैं पछाडि हटे । भ्रष्टाचारी निर्मुल पार्छौं भने– झन् कहालीलाग्दो गरी भ्रष्टाचार बढेको बढेकै छ । शान्ति र सुरक्षा कायम गर्छौं भने– हत्या र बलत्कारका श्रृंखला झन् बढिरहेका छन् । अपराधीहरुले उन्मुक्त पाइरहेका छन् । कम्युनिष्टहरु सादगी र असल चरित्रका हुन्छन्, उनीहरु जनताका हरेक सुख र दुःखमा समाहित हुन्छन् भन्ने– त्यो पनि देखिन छाडेको छ । कम्युनिष्टहरु नागरिकप्रति बिनम्र हुन्छन् भन्ने– झन् उदण्डकारी भएर आएका छन् ।

कम्युनिष्टहरु गरीबका पक्षमा उभिने अजय शक्ति हुन् भन्ने– नेकपाका कार्यकर्ता र नेताहरुमात्र धनी हुने दौड चलेको छ । गरीबहरु झन् गरिब हँुदैछन् । आर्थिक रुपले पछाडि परेका आम नागरिकहरु, बढिरहेको अप्रत्यक्ष र प्रत्यक्ष करका कारण बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । सरकारका हरेक गतिविधिहरु धनीहरुको संरक्षणमा केन्द्रीत देखिन थालेको छ । जनताले कर नतिरे जरिवाना र कारवाहीमा पर्नुपर्ने, तर ठूला राष्ट्रिय र बहुराष्ट्रिय ब्यापारी समूहहरुले अर्बौंअर्ब कर नतिर्दा पनि हुने परम्पराको संरक्षण भइरहेको छ । कतिसम्म गाइजात्रा देखियो भने नागरिकहरु दैनिक विषादी सेवन गरिरहँदा पनि सरकार त्यो रोक्न सकिरहेको छैन । निर्णय त गर्छ, तर कुनै कुरा कार्यान्वयन गर्ने क्षमता राख्दैन । बलियो भनिएको सरकार लुते देखिएको छ ।

देश एउटा दलले मात्र निर्माण गर्न सक्दैन । सबैको साझेदारीले मात्र देशको विकास सम्भव छ । सबै राजनीतिक दल र आम नागरिकहरुको समन्वय नै विकासको पहिलो सूचक हो । यो कुराको स्मरण नगर्नु नै बहुलापनको लक्षण हो । जसले अरुको अस्तित्वलाई स्वीकार गर्न सक्दैन र आफूमात्र सबैथोक हुँ भन्छ त्यो नै बहुलापनको संकेत हो । मानसिक रुपमा विक्षिप्त भएको ब्यक्ति आफूसँग आफै रमाउँछ । एक्लै खुशी हुन्छ । एक्लै दुःखी पनि हुन्छ ।

नेपालीहरुले देखेको सपनाको शोषण पटक–पटक भएको छ । राणाहरुबाट जहानियाँ शासनका रुपमा शुरु भएको यो राजनीतिक अभ्यासमा राजा त्रिभुवन पनि चुके । राजा महेन्द्रको महत्वाकांक्षाले तीस बर्षसम्म नेपालीहरु नागरिक बन्न सकेनन् । सधैँ रैती भएर बस्न बाध्य भए । लोकतन्त्रको पुर्नवहाली भएपछि नेपालीहरु नागरिक हुनेक्रमको विकास भएको छ । अहिले नेपाली नागरिक सार्वभौम शक्तिका रुपमा स्थापित भएका छन् । हरेक राजनीतिक दलहरुको परिक्षण अब नागरिकहरुबाट मात्र सम्भव छ ।

त्यसैले नागरिकहरुको सम्मान र उनीहरुको भावनाको कदर राजनीतिक दलहरुको पहिलो जवाफदेहिता हो । प्राथमिकतामा रहेको यो जवाफदेहिताबाट जब दल र दलका नेताहरु बेखबर हुन थाल्दछन्, कवीयत्री शीतल शर्माले मात्र होइन हरेक नागरिकहरु बोल्न र लेख्न थाल्नेछन्– नेता बहुला भएपछि, देश बहुलाउँदैछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here