महान् नेताहरुबाट सिके हुन्थ्यो

१० आश्विन २०७६, शुक्रबार मा प्रकाशित

यज्ञराज प्रसाईं ।
नेपालमा गणतन्त्र शुरु भएको छ केही बर्षदेखि । गणतन्त्र भनेको परम्परागत निरंकुश तथा विभेदपूर्ण जीवन पद्धति माथि हस्तक्षेप हो । हिजोको पञ्चायती निरंकुशता र त्यसको लुटतन्त्र तथा २०४६ सालपछिको तथाकथित प्रजातन्त्रको पजेरो संस्कृतिविरुद्धमा नेपाली जनताले ठूलो त्याग र बलिदान गरेर ल्याएको गणतन्त्र नेपाली शासनसत्तामा आएको नयाँ संस्कृति पनि हो । अहिले हामी सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दैछौं ।

राजनीतिक प्रक्रियाको कार्यान्वयनमा विस्तारित जनसहभागितालाई जोड दिने प्रक्रिया वा पद्धतिलाई ‘सहभागितामूलक लोकतन्त्र’ भनिन्छ । नीति निर्माणदेखि कार्यान्वयनको विभिन्न तहसम्म जनताको प्रत्यक्ष र सक्रिय सहभागितालाई सुनिश्चित गरेर सहभागितामूलक लोकतन्त्रलाई प्रवद्र्धन गर्न सकिन्छ । तर, अहिलेसम्मको शासनशैलीलाई हेर्दा परम्परागत प्रतिनिधिमूलक लोकतन्त्र भन्दा सहभागितामूलक लोकतन्त्र पृथक देखिएन ।

हामीले देख्यौं निर्वाचनमा रकमको ठूलो चलखेल भयो । हिजो दुर्नाम चलेका ठूला तस्करहरु, जग्गा दलाल, रक्त चन्दनका तस्करहरु नै यतिवेला सत्तामा छन् । मत माग्न आउने एकजना उमेद्वारले स्वीकारोक्ति गरे मैले पार्टीलाई ३५ लाख बुझाउनुपर्ने भयो । यसको आशय ३५ लाखको ढोहो बुझाएर लिएको उम्मेदवारी विचारको उम्मेदवारी थिएन । यो उनको दलाली थियो र सारमा यो सरकार नोकरशाह दलाल पुँजीपतिको सरकार हो । यसको काम नै लुटतन्त्र हो । चुनाव खर्चको क्षतिपूर्ति नै यसको अन्तिम अभिष्ट हो ।

महँगा गाडीहरुको खरिद र सयर तथा संघ, प्रदेश तथा स्थानीय तहसम्मकै प्रतिनिधिहरुमा यतिबेला ‘पजेरो संस्कृति या अभिजात्य रवाफको शुरुवात भएको छ । नयाँ चिल्ला गाडीहरुको खरिद र गाडीको वैभवपूर्ण यात्रा तथा तामझाम जनताको भोको पेट र करङ्गप्रतिको अन्याय हो भन्ने सोच र शुद्धी उनीहरुमा देखिँदैन । उनीहरुलाई थाह हुनुपर्ने हो परम्परागत चिन्तनबाट नयाँ समृद्ध नेपाल बन्दैन र नयाँ संस्कृति बन्दैन । देश निर्माण गर्न आत्मत्याग हुनुपर्छ भन्ने केही उदाहरण विश्वसामु छन् ।

विकसित देशहरुमा आदर्श तथा सामान्य जीवनशैली अप्नाउने महान् नेताहरुको नामहरु हाम्रा अगाडि प्रशस्तै छन् । तर हाम्रोमा वाइडबडी जहाज खरिद भ्रष्टाचार र त्यससँग सम्बद्ध मन्त्रीहरुलाई बचाउ गर्ने सरकारको दुष्प्रयास ती महान् नेताहरुको अगाडि कति निन्दनीय छ ? सन् १९१७ को महान् वोल्सेविक क्रान्तिपछि लेनिन नयाँ सोवियत रुस निर्माणका नयाँ कार्यक्रम बनाउने क्रममा ठण्डा रुसको एउटा चिसो कोठामा कमरेडहरुसँग योजना कोर्दै थिए । उनी जाडोले लगलगाइरहेका थिए । त्यो देखेर स्थानीय जनताले हिटर ल्याइदिए र इञ्जिनियर बोलाएर कोठामा विद्युतीकरण गरिदिए । यो उनीप्रतिको जनताको संवेदनशीलता थियो ।

भनिन्छ, १९२४ सम्म नै लेनिनले आफ्नो पुरानो कोटले काम चलाए । महात्मा गान्धि, होची मिन्ह, नेल्सन मण्डेला, क्रोएशियाकी वर्तमान राष्ट्रपति कोलिन्डा ग्राभर, नेदरल्याण्ड्सका वर्तमान प्रधानमन्त्री जस्टिन ट्युडो, पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खान, मेक्सिकोका वर्तमान राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज, अमेरिकी पूर्वराष्ट्रपति वाराक ओबामा सरल जीवनमा रहने महान् व्यक्तिहरु हुन् । उनीहरु आफ्नो देशका औसत जनता सरह बाँच्न चाहन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले बार्षिक वेतन एक डलर मात्र लिन्छन् ।

जब कि हाम्रा भ्रष्ट नेताहरु विशिष्ट व्यक्तित्वको लागि भनेर आजीवन सुविधाका लागि जिब्रो लपलपाइरहेका छन् । दोहोरो सुविधाको छिनाझपटीमा तछाड्–मछाड् गरिरहेका छन् । वाइडबडी खरिदमा अर्बाैं भ्रष्टाचार गर्ने पर्यटनमन्त्रीहरु तथा गरीब जनताको बीचमा नयाँ गाडी चढेर उन्मादको शिर हल्लाउँदै हिँड्ने पदको उन्मादमा गर्वले फूलेका बेइमान नेताहरुले यी महान् नेताहरुबाट शिक्षा लिए हुन्थ्यो कि ? उनीहरुलाई थाह हुनुपर्छ देश आत्मत्याग, बलिदान र स्वार्थहीनताले मात्र बन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here