मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करणमा ७ लाख रुपैयाँ बढी नाफा

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

काँकरभिट्टा,

मेची नेत्रालय मेचीनगर गोल्डकपको तेस्रो संस्करणमा ६ लाख रुपैयाँ भन्दा बढी नोक्शान व्यहोरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले चौथो संस्करणमा भने ७ लाख रुपैयाँ बढी नाफा गरेको छ ।

गएको बैशाख १२ देखि २१ गतेसम्म काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा भएको चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ मा ७ लाख १६ हजार १ सय ७५ रुपैयाँ नाफा गरेको छ ।

प्रतियोगिताको आय व्याय सार्वजनिक गर्न शनिबार काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले कुल ६१ लाख ३५ हजार ५ सय ७५ रुपैयाँ आम्दानी तथा ५४ लाख १९ हजार ४ सय रुपैयाँ विभिन्न शर्षिकमा खर्च भई कुल ७ लाख १६ हजार १ सय ७५ रुपैयाँ नाफा गरेको प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

उहाँले तेस्रो संस्करणको कुल घाटा ६ लाख ५२ हजार रुपैयाँ भएको र त्यसलाई समेत पूर्ति गरी कुल ६४ हजार १ सय ७५ रुपैयाँ बचत भएको आयोजक सेन्टरका प्रमुख सल्लाहकार समेत रहनु भएका गुरुङले जानकारी दिनुभयो । चौथो प्रतियोगिता सम्पन्न गर्न दाताले बोलेको कुल २ देखि अढाई लाख रुपैयाँ समेत संकलन हुन बाकी छ । सार्वननिक गरेको हिसाव यो वाहेकको हो ।

आयोजकका अनुसार १ नम्बर प्रदेश सरकार, मेचीनगर नगरपालिका राष्ट्रिय खेलकुद परिषदलगायत विभिन्न संघ संस्थाबाट अपेक्षा गरे भन्दा आर्थिक सहयोग भएका कारण यो पटकको प्रतियोगिता नाफामा गएको उहाँको भनाई छ । तर, आयोजकले यो भनदा बढी नाफाको लक्ष्य राखेको भएपनि गेट टिकटबाट अपेक्षा अनुसार रकम संकलन नभएका कारण सोचे अनुसार नाफा नभएको गुरुङको भनाई छ ।

प्रतियोगितामा गेट टिकटबाट ६ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । जिल्ला खेलकुद विकास समिति झापाका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पुर्याउने संघ संस्थालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेत, आयोजक संस्थाका कार्यवहाक अध्यक्ष नवराज ओलीलगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । नाइट चेस क्लबका महासचिव अशोक राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले पत्रकारको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here