आलोचना बढेपछि शिक्षक लाइसेन्सको परीक्षा रद्द

१३ आश्विन २०७६, सोमबार मा प्रकाशित

झापा।

माध्यमिक तहको अध्यापन अनुमति–पत्र (लाइसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगततर्फको परीक्षा रद्द भएको छ ।

कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गर्ने निर्णय गरेको हो । परीक्षा हुने समय र स्थानपछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

समयमै थाह पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले शुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आइतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगको मुख्य काम नै मर्यादित र विश्वसनीय रुपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेदवार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै गौतमले छलफलमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताए । ‘हामीले शुरुमा थाह पाउँदा कतिपय केन्द्रमा प्रश्न पत्र बाँडिएकै थिएन, तर बुझ्दै जाँदा कतिपयमा बाँडिएको हुन सक्ने समेत देखियो, कतिपय ठाउँमा परीक्षार्थीले लेख्न शुरु गरिसकेको पनि कुरा आयो, समग्रमा एकरुपता भएन’– गौतमले भने– ‘जब परीक्षाको मर्यादा, विश्वसनीयता र एकरुपतामा प्रश्न उठ्छ त्यसलाई हल गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर हामीले यो निर्णय गरेका हौं ।’

आयोगको लापरवाहीका कारण उक्त विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्नपत्रमै उत्तर समेत सार्वजनिक भएको थियो । उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परेपछि उक्त लापरवाही सार्वजनिक भएको हो । यसले आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जेको थियो ।

घटनालाई कमजोरीका रुपमा स्वीकारे पनि आयोगले ‘समयमै थाह पाएको र परीक्षा प्रतिस्पर्धात्मक नभएका कारण त्यसले त्यति ठूलो असर नहुने’ प्रारम्भिक अनुमान गरेको थियो । तर, शंका र कार्यसम्पादनमै प्रश्न उठ्नुले आयोगको समग्र मर्यादा कायम नहुने भएपछि रद्दको निर्णय गरेको गौतमले बताए ।

हरेक केन्द्रमा पठाइएको ४ अलग–अलग सेटमध्ये उत्तर बोल्ड भएको सेट वितरण भएको थाह पाउनासाथ तुरुन्तै अर्को प्रश्न पत्रको सेट खोलेर परीक्षा सञ्चालन गरिएकाले रद्द गर्नु जरुरी नभएको आयोगले तर्क गर्दै आएको थियो । तर, परीक्षार्थीले भने घटनालाई आयोगको हदैसम्मको लापरवाहीको संज्ञा दिँदै आलोचना गरेका थिए ।

५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अंग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए । यीमध्ये उक्त त्रुटीका कारण करीव ३ हजार जति परीक्षार्थीलाई मात्रै प्रभाव पर्ने गौतमले दावी गर्दै आएका थिए । अब सबै केन्द्रमा फेरि परीक्षा गर्ने गरी शुक्रबारको परीक्षा रद्द गरिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here