जिल्ला अस्पतालमा बल्ल शल्यक्रिया

१३ आश्विन २०७६, सोमबार मा प्रकाशित

दमक ।

झापाको दमकमा जिल्ला अस्पतालको रुपमा ४ बर्ष अघिदेखि नै स्वीकृत भएर सञ्चालनमा आएको दमक अस्पतालले मंगलवारदेखि शल्यक्रिया सेवा शुरु गरेको छ ।

यसभन्दा अगाडि अप्रेसन थिएटर (ओटी) नहुँदा यहाँ आएका सामान्य चिरफार गर्नुपर्ने बिरामीहरुलाई समेत दमक अस्पातलले नजिक रहेका अन्य निजी अस्पतालमा पठाउने गरेको थियो ।

दमक नगरपालिकाको ब्यवस्थापनमा एक बर्षअघिदेखि अस्पताल सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालहरु प्रदेश सरकार मातहत रहने भनिए तापनि दमक अस्पताल भने अहिलेसम्म दमक नगरपालिकाको मातहतमा रहेको बताइएको छ ।

आफूहरुले व्यवस्थापन जिम्मा लिएपछि निरन्तर पहल गर्दा बल्ल यो अवस्थामा पुगेको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एवम् दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । उनका अनुसार मंगलवार एक महिलाले यहीं अप्रेशन गरेर बच्चा पाएकी छन् ।

अस्पतालको सेवा विस्तारको क्रममा ४ बर्षपछि भएपनि यो सेवा शुरु भएको जनाउँदै उनले अब यसलाई सुरक्षित सुत्करी गराउने मुख्य केन्द्रको रुपमा विकास गरिने बताइन् । हामी निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्छौ– उनले भनिन् । कसैलाई बिरामले च्याप्यो भनेर फोन गरेपछि त्यहाँ निःशुल्क तत्काल एम्बुलेन्स पुग्ने छ– उनले भनिन् ।

सो सरकारी अस्पातलमा साधारण चिरफार बाहेक केही नभएको भन्दै आलोचना हुँदै आएको थियो । यो अस्पतालमा नेपाल सरकारले स्वास्थ्य बिमा लागू गरेपछि जिल्लाको प्रथम विन्दुको अस्पतालमध्येको एक भएको छ । स्वास्थ्य बिमा गराएका बिरामीहरुले पहिला यहाँ आएपछि मात्र अन्यत्र जानुपर्ने अवस्था रहे जान पाउने छन् । उपस्वास्थ्य चौकीको रुपमा रहेको अवस्थामा सिँधै अस्पताल भएपछि अस्पतालको रुपमा सेवा दिन कठिनाइ भएको बताइँदै आएको थियो ।

दमक नगरपालिकाका साथै, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाका स्वास्थ्य बिमा गराएका बिरामीहरु प्रथम विन्दु अस्पतालको रुपमा दमक अस्पताल आउने गरेकाले अधिक चाप रहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुरक्षा बास्कोटाले बताइन् । हामीलाई विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खाजा खाने समय समेत निकाल्न मुस्किल पर्छ– बास्कोटाले भनिन् ।

दमक अस्पतालका सूचना अधिकारी नगेन्द्र भण्डारीका अनुसार दैनिक ३ देखि ४ सय विरामी यहाँ उपचारका लागि आउने गरेका छन् । ल्याव लगायतका उपकरणहरु नयाँ भएको र यहाँ आएपछि सेवा राम्रो पाइन्छ भन्ने विरामीहरुलाइ पार्नका लागि पनि आफूहरु लागीपरेको उनको भनाइ छ । अप्रेसन थिएटर ढिला शुरु भए पनि यहाँ उपकरणहरु आधुनिक र गुणस्तरीय रहेको उनले दावी गरे ।

दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार ६ महिनाअघि नै अस्पतालमा सुरक्षित प्रसूति सेवाका लागि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइए पनि अप्रेशन थिएटर नभएका कारण समस्या हुँदै आएको थियो । अप्रेशन थिएटर नभएका कारण नै हामीले विरामीहरु भर्ना गर्ने अवस्था थिएन र अब त्यस्तो अवस्थाबाट हामी मुक्त भएका छौं– अर्यालले भने । नगर अस्पतालको रुपमा लिँदा मात्र पनि यसले कम्तिमा पनि ८५ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।

नगरपालिकाले धानेको अस्पताल

मेडिकल सुपरिटेण्डेन्टसहित ३ जना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पातलमा केही समय यता दरबन्दीका डाक्टरहरु भने अस्पतालमा रहेका छैनन् । बारम्बारको पहलले सरकारको छात्रवृत्तिबाट पढेर आएकी डा. सुरक्षा बास्कोटा (एमडी जिपी) ले नै निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन् । अस्पतालमा अहिले १० जना चिकित्सकहरु कार्यरत् छन् ।

यसमा दुई जना दाँतका डाक्टरहरु (विडिएस) रहेका छन् । यसमा ५ जना नगरपालिकाले र बाँकी ५ जना करारमा सरकारले नै पठाएका डाक्टरहरु रहेको जनाइएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार अहिले स्वास्थ्यकर्मीसहित ७० जना कर्मचारी अस्पातलमा कार्यरत छन् । जसमध्ये २९ जना बाहेक सबै नगरपालिकाले नै स्वास्थ्यकर्मी तथा कर्मचारी व्यवस्थापन गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here