पर्यटन मैत्री वातावरण बनाऊ

१३ आश्विन २०७६, सोमबार मा प्रकाशित

सरकारले अंग्रेजी सम्वतको आउँदो वर्षलाई पर्यटन वर्ष घोषणा गरेको छ । सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन लक्षित सेवा, सुविधा र आकर्षण बढाउन तर्फ भने खासै चासो देखाएको छैन । अर्थात् सरकार नारा, भाषण र प्रचारबाजीमा मात्र रमाएको छ जसका कारण पर्यटन भित्र्याउने अपेक्षित लक्ष्य पूरा हुनेमा विश्वास गर्ने आधार अझै देखिएको छैन । अबको तीन महिनापछि शुरु हुने पर्यटन वर्षका सम्बन्धमा देश–विदेशमा के–कति प्रचार भयो, कति विश्वास आर्जन गरियो वा नेपालका भ्रमण गर्न लायक गन्तव्यहरुको पहिचान र प्रसारका लागि के–के काम गरिए त्यसको तथ्य प्रकट नहुञ्जेल पर्यटन वर्षको सफलताको अनुमान गर्न गाह«ो छ ।

दुई वर्षअघि अर्थात् २०७४ मै पर्यटन वर्ष मनाउने घोषणा गर्दै उक्त वर्ष बीस लाख पर्यटन भित्र्याउने लक्ष्य सार्वजनिक गरिएको थियो । नेपाल पर्यटक÷भ्रमण वर्ष २०२० गठन गर्दै सुरज वैद्यलाई संयोजक नियुक्ति गरिएको भए पनि पर्यटनलाई आकर्षित गर्ने उल्लेख्य गतिविधि भइरहेको छैन । नेपाल पर्यटनको अथाह सम्भावना भएको देश हो । यहाँका हिमाल, पहाड मात्रै होइन अनेक जातजातिका मौलिक संस्कार र संस्कृति पनि पर्यटन क्षेत्रका आकर्षण हुन् । यिनै सम्भावना र आकर्षणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित र स्थापित गर्न सकिए पर्यटन प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रको विकास गर्न सकिन्छ ।

नेपाल आन्तरिक र बाह्य दुबैखाले पर्यटकका लागि आकर्षणको केन्द्र हुन सक्छ । तर, त्यसका लागि सरकारका तर्फबाट विशेष सेवा, सुविधा र अवसरहरु प्रदान गर्नुपर्दछ । बाह्य पर्यटकलाई लक्षित गरी सीमा नाकामा रहेका अध्यागमन, पर्यटन कार्यालयसँगै स्थानीय पर्यटन व्यवसायीहरुको सहभागिता र सहकार्यमा पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिनु पर्दछ । उल्लेखित दुई सरकारी कार्यालयहरुको सेवा सम्बन्धी कुनै क्रियाशिलता र सहभागिताले नदेखिएको सन्दर्भले सीमानाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुले कुनै सेवा प्राप्त गरेको देखिएको छैन ।

पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कार प्रवाह गरेर उनीहरुको मन जित्नु पर्दछ । त्यसैगरी सम्भावना बोकेका प्राकृतिक, सांस्कृतिक, भौगोलिक तथा धार्मिक क्षेत्रहरुको प्रचार–प्रसार विदेशी सञ्चारमाध्यमबाट प्रशारण गराएर त्यही अनुसारको सेवा विस्तार गर्न सकिए पर्यटन वर्ष सफल हुने निश्चित छ ।

त्यसका लागि पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्ने ‘एकलब्य’ उद्देश्यले मात्र यसले सफलता प्राप्त गरेको ठहर्दैन बरु पर्यटकहरुलाई हामीले के दियौं भन्ने कुराले नेपाल सम्भावनाको केन्द्र बन्न सक्छ । यसतर्फ सरकार, सम्वद्ध निकाय, विभाग, व्यवसायी एवम् पर्यटनको सम्भावना बोकेका सबै क्षेत्रका सरकार र बासिन्दाले गम्भीर चासो देखाउनु पर्दछ । अनि मात्र लक्ष्य हासिल गर्न नसके पनि पर्यटनमैत्री आधार तयार हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here