सम्पादकीय : ठूलालाई चैन नहोस्

0
737

संघीय गणतन्त्रात्मक संविधानमा सभामुखको पदलाई सम्मानित पद मध्येको एक मानिन्छ । अझ देशका प्रमुख तीन अङ्गहरु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मध्येको सर्वोच्च संस्था हो व्यवस्थापिका अर्थात् प्रतिनिधिसभा । यसकारण प्रतिनिधिसभा सर्वोच्च हो, कि उसले निर्माण गरेको विधि र कानून अनुसार कार्यपालिका सञ्चालन हुन्छ र विधि अनुसार काम गरे नगरेको निरुपण गर्छ न्यायपालिका सभाले । यसरी तीनवटै सर्वोच्च हुँदाहुँदै पनि कार्यक्षेत्र, अधिकार र दायित्वका कारण व्यवस्थापिका सभालाई सम्माननीयहरुमा पनि सम्माननीय मानिन्छ । त्यसमा पनि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने संस्थाको प्रमुख अर्थात् सभामुख वरेण्य पद हो ।

वर्तमानमा सभामुख पदमा कृष्णबहादुर महरा आसीन थिए । अहिले बलात्कारको आरोप लागेका कारण यो पद रिक्त छ । अर्थात् तत्कालीन सभामुख महराले पदबाट राजीनामा दिएका छन् । यति ठूलो पदमा आसीन व्यक्तिमाथि नेपालको इतिहासमै गम्भीर आरोप लागेको यो पहिलो पटक हो । संसद सचिवालयकै एक महिला कर्मचारीले आफू माथि बलात्कारको प्रयास भएको आरोप लगाइन् । सोमबार साँझ सभामुख माथि लागेको यो आरोपले देशमा तरंग ल्यायो । सामाजिक सञ्जालमा छरपष्ट यो समाचार सदृष्य प्रशारण पनि भयो । गएको आइतबार बेलुका भएको घटनापछि पीडित भनिएकी महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यही समय प्रहरीले समेत अनुसन्धान शुरु गरी प्रमाणहरु संकलन गर्यो ।

सार्वजनिक भएको दोस्रो दिनसम्ममा घटनाले नयाँ मोड लियो । पीडित भनिएकी महिलाले आफूले बोलेको कुरा खण्डन गर्दै सञ्चारमाध्यमहरुले नबोलेको कुरा प्रशारण गरेको आरोप लगाउन भ्याइन् । एक दिनअघि ‘हाइप्रोफाइल’का महरामाथि बलात्कारको आरोप लगाउने महिलाले भोलिपल्टै फरक मात्र होइन सञ्चारमाध्यमलाई दोष दिएर चोख्याउने प्रयासमा लाग्नुले परिस्थितिमा ‘गडबडी’ आएको हुनसक्ने अनुमान गरिँदैछ । उनले घटना भएको दिन प्रहरीलाई नबोलाएको भए न समाचार बन्थ्यो न त खण्डन–मण्डन नै गर्नुपथ्र्यो । यदि आरोप मात्रै थियो, महरा निर्दोष थिए भने राजीनामा दिनुपर्ने नै थिएन । त्यसैले नेपाली जीवनमा प्रचलित– ‘हावा नआई पात हल्लिँदैन’, ‘आगो नबली धुँवा आउँदैन’ भन्ने उखान यो विषयमा पनि प्रमाणित हुन्छ । किनकि आरोप र खण्डनको मुद्दाले सत्तारुढ दल र सरकारको जीवनमा भय, आशंका र अविश्वास जन्माएको छ ।

पीडित भनिएकी महिलाले किन कुरा फेरिन ? किन उजुरी गरिनन् ? त्यसको जवाफ उनैसँग होला । घटनाको नयाँ मोडले दल, सत्ता र शक्तिको प्रभाव, दबाव, धम्की अथवा ऐश्वर्यको आकर्षणको समेत संकेत गरेको छ । प्रहरीकै सामु उनले किन मुख फेरिन्, किन पत्रकार र सञ्चारमाध्यमलाई दोषी देखिन्, प्रहरी स्वयम् तत्काल अनुसन्धान गर्नुपर्ने कर्तव्यबाट किन पछि हट्यो यो इतिहासमा कतै खुल्ला । महराले उनी आवद्ध दलको निर्देशन अनुसार सभामुख पदबाट राजीनामा दिएर छानविनलाई सघाउँछु भनेको सन्दर्भले पनि घटना सत्य नै हो भन्ने आधार बनाएको छ। त्यसैले उच्च ओहोदामा बसेका व्यक्तिमाथि इतिहासमै पहिलो पटक लागेको गम्भीर आक्षेपको सन्दर्भमा यसको निरुपण आम जनताको पनि चासोको विषय हो । ‘सानालाई मात्र ऐन’ नहोस् त्यसका लागि खण्डन होइन स्वतन्त्र र निष्पक्ष अनुसन्धानबाट सत्यतथ्य सार्वजनिक गरिनु पर्दछ । यसले मात्र विधि र कानूनको शासनको विशेषतालाई जोगाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here