कनकाईमा सांगीतिक महोत्सव हुने

0
810

सुरुङ्गा।

कनर्का मावि सुरुङ्गाका पूर्व विद्यार्थीको साझा संगठन कनकाई भूतपूर्व विद्यार्थी समाजको आयोजनामा सांगीतिक महोत्सव हुने भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यालय नमुना विद्यालयको रुपमा छनौटमा परेको खुसियालीमा वृहत सांगीतिक कार्यक्रमका साथ आगामी महानवमीका दिन दशैं पुनर्मिलन कार्यक्रम–२०७६ हुने भएको हो ।

कनकाई माविको प्रांगणमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थी, पूर्व शिक्षक, विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा गीतसंगीतप्रेमीको सहभागिता रहने छ । पूर्व विद्यार्थी वीच संगठनलाई विस्तार गर्न, पूर्व विद्यार्थी र विद्यालय वीच प्रगाढ सम्बन्ध स्थापित गर्न र पूर्व विद्यार्थीको तर्फबाट संस्थागत रुपमा आर्थिक, प्राविधिक लगायतका सहयोग गर्ने वातावरण निर्माण गर्दै सो सन्देश सम्प्रेषण गर्न कार्यक्रमको आयोजना गर्न लागिएको कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अखिलकुमार कोइरालाले जानकारी दिए ।

समाजको मूल नारा ‘मित्रता, एकता र सहयोग’ को अभिप्राय अनुरुप आफू पढेको विद्यालयलाई सहयोग गर्न ठूलो धनराशिको अक्षयकोष निर्माण गर्ने उद्देश्यका लागि सन्देश प्रवाह गर्न कार्यक्रम सफल हुने अध्यक्ष कोइरालाले बताए ।

उक्त कार्यक्रममा गीतसंगीतको क्षेत्रमा राष्ट्रिय छबि बनाएका कनकाई माविका पूर्व विद्यार्थीहरु सुमित पाठक, सरोज कोइराला, राजु अधिकारी, राजेश घतानी लगायतका कलाकारहरुको प्रस्तुति रहने कनकाई भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष खेमप्रसाद प्रसाईले बताए ।

सो अवसरमा विद्यालयका विद्यार्थीको सांस्कृतिक प्रस्तुति पनि रहनेछ । सो अवसरमा उक्त विद्यालयबाट सेवा निवृत्त भएका प्रधानाध्यापक तथा ३ दर्जन बढी शिक्षकहरुलाई सम्मान पनि गरिँदैछ । कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन् । अध्यक्ष कोइरालाको अध्यक्षतामा कार्यसमितिका सम्पूर्ण सदस्य, सल्लाहकार, आजीवन सदस्य, कनकाई माविमा कार्यरत शिक्षक तथा कर्मचारी पदेन सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

आर्थिक व्यवस्थापनमा दिनेशकुमार उप्रेती, संगीत व्यवस्थापनमा ध्रुबप्रसाद पाठक, नृत्य व्यवस्थापनमा अमन गुप्ता र दिलिपकुमार खतिवडा रहेका छन् । त्यसै गरी, काठमाण्डौका पूर्व विद्यार्थीहरुलाई संयोजनको जिम्मा समाजका महासचिव महेन्द्र विकलाई दिइएको छ ।

स्वयम्सेवक व्यवस्थापनमा स्काउट शिक्षक राधादेवी केसी, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक चन्द्रप्रसाद पोखरेल, सगरमाथा टिन्स क्लबका शिक्षक संयोजक खेमराज भट्टराई र कनकाई बाल क्लबका शिक्षक संयोजक अम्बिकाप्रसाद रिजाललाई जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here