दशैं र नेपाली बजार

१७ आश्विन २०७६, शुक्रबार मा प्रकाशित

नेपालीलाई दशैंले छोपेको छ । दशैं नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो । दशैंको सांस्कृतिक महत्व एकातिर छ भने यसको लौकिक पहिचान बेग्लै छ । लौकिकताले जितेका बेला सत्य, न्यायभन्दा पनि ‘मीठो खाना र राम्रो नाना’ दशैंको पर्याय बनिएको छ । त्यही भएर दशैं मन्दिर, पूजा, आराधना, उपासना र सेवाभन्दा हाट–बजारको भीडभाडमा साटिएको छ । हाट–बजारमा खाद्यवस्तु र लुगाफाटाको पसलहरु भरिभराउ हुने समय नै दशैं हुने गरेको छ । हिमाल होस् वा पहाड अथवा तराई, शहर होस् वा गाउँ सबैतिर दशैंले लौकिकताको अनुशरण थालेको छ यतिबेला ।

आधुनिकताले प्राचीनतालाई र भौतिकताले अध्यात्मिकतालाई जित्दै लगेको छ। दुर्गा भगवतीसँग शक्ति, न्याय र सत्यको वरदार माग्नुपर्ने दशैं अन्याय, असत्य, हिंसा र विकृतिहरुको थुप्रोमा पुरिन लागेको छ । सदाचारिता, न्याय, आदर्श, मर्यादा लगायतका मानवीय गुण, दुष्टता, अनाचार, दुराचार, अन्याय र हिंसामा रुपान्तरण भएको छ । चारैतिर बेथिति, व्यभिचार, भ्रष्टाचार छ्याप्छ्याप्ती हुँदै दुर्गन्धले आकाश ढाकेको छ । सरकार त्यस्तै बेथिति, विकृति र दुराचारको भासमा डुबेको छ । त्यही भएर पनि दशैं हर्ष, उत्साह र पवित्रताभन्दा दुर्दशा बन्दैछ ।

अनेक विषमता र विसंगतिका बीच पनि नेपालीले दशैं मनाउँछन् । यसका लागि खाना र नानाको जोहो गर्छन् । यी दुबै वस्तु खरिद गर्ने उपभोक्ता आफ्नो क्षमता अनुसार बजार र पसल खोज्छन् । नेपाली बजार आत्मनिर्भर नभएका कारण उपभोक्ता सस्तो वस्तुको बजार खोज्न बाध्य हुन्छन् । उपभोग्य वस्तुमा भएको परनिर्भरताका कारण सीमावर्ती भारतीय बजार सीमा क्षेत्रका नेपालीको मुख्य बन्ने गरेको छ । अझ सरकारले ल्याएको ‘कर’का कारण वस्तुको मूल्य वृद्धि हुँदा नेपालीलाई छिमेकी बजारमा भर पर्न कर लागेको छ । सरकारले लगाएको करमाथिको कर ‘चक्रबृद्धि’ हुँदै जाँदा आम नेपालीको क्रयशक्ति र पहुँचभन्दा धेरै टाढा पुगेको छ । फेरि भीडभाड हुने समय गुणस्तरहीन वस्तु समेत बेच्ने गरेको सन्दर्भले छिमेकी बजारलाई गन्तव्य बनाउन थालेको छ ।

उपभोक्ता केही सचेत छन् यसबेला । तर, हुलामालमा सचेतनाले पनि घोका दिन सक्छ । त्यसकारण मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने उपभोग्य वस्तु खरिद गर्दा त्यसको गुणस्तरलाई ध्यान दिनैपर्छ । सस्तोका नाममा उपभोग गर्न नहुने गुणस्तर नभएको, म्याद गुज्रिएको वा स्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने वस्तुबाट जोगिनुपर्छ । ‘नेपाली बजार’ सुनसान भएको कतिपय व्यापारीको गुनासो सरकारले सुन्नु पर्छ, त्यसको कारण पहिल्याउनुपर्छ र समाधान गर्ने संस्था त्यही भएकाले सम्बोधन पनि गरिनुपर्दछ । करको बोझ मात्रै थप्दै जाने बजारको समस्या नसुन्ने व्यवहारले व्यापारी–व्यवसायी पलायन हुनसक्छ । त्यसो भयो भने देशको अर्थतन्त्रमा झनै गम्भीर असर पर्न सक्छ भन्नेतर्फ सम्बद्ध निकायको ध्यान जानुपर्छ । होइन भने दशैंमा मात्र होइन सम्पूर्ण जीवन पराश्रित हुँदै जाने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here