बिर्तामोड।

झापा नेत्रहीन संघको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष द्रोणाचार्य निरौलाको अध्यक्षता तथा राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नम्बर १की अध्यक्ष पार्वता श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव चन्द्रप्रसाद भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको स्थायित्वका लागि ४ लाख बराबरको अक्षयकोष स्थापना गरिएको र कोष वृद्घि गर्ने कार्यमा निरन्तरता दिइएको भट्टराईले बताए ।
स्थापनाकालदेखि नै झापाली दृष्टिविहीनहरुको हक, हित र अधिकारको संरक्षण गर्दै आएको संस्थाले, संस्था र सदस्यहरुको आयआर्जन गर्ने उद्देश्यले शुरु गरिएको धुप बनाउने उद्योगलाई अझ व्यवस्थित बनाइने प्रगति प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुले बिभिन्न तालिम लिएर सामग्री निर्माण गरे पनि उपयुक्त बजारीकरणको अभावमा व्यक्तिगत जीवनस्तर सुधार हुन नसकेको बताइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेलले संघका अध्यक्ष निरौलालाई पाँच हजार आर्थिक सहयोग हस्तान्तरण गरेकी थिइन् भने लायन्स क्लब अफ बिर्तामोडबाट प्राप्त ७० थान झुल सदस्यहरुलाई वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल नेत्रहिन संघकी केन्द्रीय सदस्य सीता सुबेदी, संस्थाका सल्लाहकार सदस्य ख्याम रेग्मी, पे्रमप्रकाश सिटौला, नैनकला भट्टराई, मदन बोहोरा, सामुदायिक वन उपभोक्ता समिति झापाका अध्यक्ष बेदप्रकाश भण्डारी लगायतले शुभकामना दिएका थिए ।































