पाठ्यक्रमको चटारो

0
1395

बिर्तामोड ।

सबैलाई अहिले विजयादशमीको चटारो छ । कहिले आफ्नो अफिस बन्द होला र दशैं मनाउँला भन्ने चिन्ताले कर्मचारीलाई पनि पिरोलेको छ ।

अफिसमा काम गरिरहे पनि कतिपय कर्मचारीको मन अहिले दशैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ । तर, बिर्तामोड नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी भने दशैं विर्सिएर पाठ्यक्रम निर्माणमा जुटेका छन् ।

नगरपालिकाले यस वर्षबाट स्थानीय पाठ्यक्रम तयार गर्दै विद्यालयमा लागू गरेपछि नगर शिक्षा शाखाका कर्मचारीलाई पाठ्यक्रम निर्माणको चटारोले छोएको हो । उनीहरु अहिले स्थानीय पाठ्यक्रम तयार गर्न व्यस्त छन् ।

बिहीबार पूर्वाञ्चलकर्मी नगरपालिका शिक्षा शाखामा पुग्दा नगर शिक्षा अधिकृतसहित शिक्षासँग सम्बन्धित पदाधिकारी पाठ्यक्रम निर्माणको विषयमा छलफलमा थिए ।

नगरपालिकाले यस वर्षबाट आचरण सचेतना शिक्षा पाठ्यक्रममा लागू गरेको छ । कक्षा ३ र ४मा लागू गरिएको स्थानीय पाठ्यक्रम आचरण सचेतना शिक्षा अर्को वर्षदेखि कक्षा ६ र ७मा लागू गर्ने नगरको योजना अनुरुप नगर शिक्षा अधिकृत दिनेशप्रसाद आचार्यसहितका पदाधिकारीले पाठ्यक्रममा के–कस्ता विषय समेट्ने हो सो को गहन अध्ययन र छलफल गरी पाठ्यक्रम निर्माणमा जुटेको निर्वतमान नगर शिक्षा अधिकारी युवराज पाण्डेले जानकारी दिए ।

उनले भने– ‘गत वर्षबाट नगरले स्थानीय पाठ्यक्रम तयार गर्दै आचरण सचेतना शिक्षा लागू गरेको थियो, जसमा म आफैं संयोजकको रुपमा रहेको थिएँ । अहिले पनि त्यो जिम्मेवारी मलाई नै प्रदान गरेकाले पाठ्यक्रम निर्माणमा हामी लागेका हौं ।’

यता नगर शिक्षा अधिकृत आचार्यले बिर्तामोडको सामुदायिक तथा संस्थागत सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्दै आचरण शिक्षा प्रदान गर्न थालिएको बताए । उनले भने– ‘नैतिक शिक्षाको कमीका कारण बिद्यार्थीमा आचरण बिग्रदै गएको अवस्थामा नगर प्रमुख धु्रवकुमार शिवाकोटीको अगुवाईमा यो कार्यक्रम शुरु भएको हो । नगरले यसलाई निरन्तरता दिन्छ ।’

पाठ्यक्रमभित्र बिद्यार्थीको आनीबानी, आचरण, अनुशासन, संस्कार, संस्कृति, सभ्यताका विषयमा ज्ञान प्रदान गर्ने उद्देश्यले सबै विषय वस्तु समेटिएको छ । नगर शिक्षा अधिकृत आचार्यले भने– ‘कक्षा ५ र ६मा पनि यस्तै पाठ्यक्रम बनाएर लागू गर्छौं ।’

बिर्तामोड नगरपालिकाभित्र १८ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरले तयार गरेको पाठ्यपुस्तक सामुदायिक विद्यालयले मात्र होइन, निजी विद्यालयले समेत लागू गरेको न्यूटन्स एजुकेशन फाउण्डेशनका कोअर्डिनेटर देवेन्द्र हुमागाईंले बताए । उनले भने— ‘यो पाठ्यत्रक्रम लागू गरेसँगै विद्यार्थीमा केही परिवर्तन आएको हामीले महशुस गरेका छौं । उनले भने– नेपाली भाषामै तयार गरेर लागू गरिएको पाठ्यक्रमका कारण विद्यार्थीलाई सिकाउन सहज भएको, निजी र सामुदायिक विद्यालयका बिद्यार्थीले यसलाई पालना गरे आचरणमा सुधार आउने छ ।

‘निजी विद्यालयमा नेपाली बाहेक सबै विषय अंग्रेजी माध्यममा पठनपाठन हुने गरे पनि नगरपाालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम नेपाली भाषामा भएकाले समेत सहजता भएको छ’– हुमागाईंले भने ।

जिल्लामै पहिलोपटक बिर्तामोड नगरपालिकाले आचरण सचेतना शिक्षा लागू गरेको हो । यसअघि देशभरका विद्यालयमा नैतिक शिक्षा पठनपाठन हुँदै आए पनि केही वर्षयता नैतिक शिक्षालाई पाठ्यक्रमबाटै हटाएपछि बिर्तामोड नगरपालिकाले शिक्षा नीति नै तयार गर्दै स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here