बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

0
311

कञ्चनपुर,

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएवापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्करूपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका नौ वटै स्थानीय तहले हालसम्म केन्द्रलाई रु पाँच लाख ५० हजार रकम उपलब्ध गराएका छन् । “निरन्तर सहयोग गर्ने स्थानीय तहले प्रतिबद्धता गरेपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्करुपमा दिन थालेका छौँ”, उहाँले भन्नुभयो, “विपन्न र आर्थिक अभाव भएका बिरामीले सहजरूपमा रगत पाउने भएका छन् ।”

यो बाहेक केन्द्रलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट कहिलेकाहीँ पटकेरूपमा मात्रै थोरै बजेट उपलब्ध हुने गरेको थियो । सो रकमले नपुग्ने भएपछि दाताले उपलब्ध गराएको रगत सेवाग्राहीलाई दिँदा शुल्क लिनुपरेको कोषाध्यक्ष भट्टको भनाइ छ ।

रक्त सञ्चार केन्द्रमा रक्त सङ्कलनका लागि आवश्क सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्षलगायतका सुविधा रहेका छन् । केन्द्रमा वार्षिकरूपमा ६०० देखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिकरुपमा भने ५० देखि १०० पिन्ट रगत मात्रै खपत हुँदै आएको छ । होल बलड चेक गर्ने स्पिटर मेसिन नहँुदा त्यसका लागि केन्द्रले कैलालीको धनगढी पठाउँदै आएको छ ।

महाकाली अस्पतालमा चिकित्सको अभाव हँुदै आएकाले थोरै मात्र रगतको खपत हुने गरेको छ । १०० देखि ३०० पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्त सञ्चार केन्द्र विसं २०५० देखि सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here