तस्करी बढ्यो, तीन पक्राउ

१८ आश्विन २०७६, शनिबार मा प्रकाशित

भद्रपुर।

झापा प्रहरीले एकै दिन तस्करीका सरसामान लोड गरिएको चार वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले करिब २२ लाख मूल्य बराबरको सामानसहित तस्करीमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय झापाका अनुसार कनकाई, हल्दीबारी र गरामनी क्षेत्रबाट प्रहरीले तस्करीका सरसामान, सामान लोड गरिएको गाडी र तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कनकाई नगरपालिका–४स्थित कोटीहोममा चालक नभएको, सडकमा रोकी राखिएको मे१च ६५०३ नम्बरको म्याजिक भ्यानबाट ३४ बोरा अवैध सुर्ती बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । झापा गाउँपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको उक्त सुर्ती बिर्तामोड लैजाने क्रममा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सुर्ती र गाडीको १७ लाख मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको उनले बताए ।

त्यस्तै प्रहरीले केचना नाकाबाट भन्सार छलेर भित्र्याइएको टेन्टको कपडा लोड गरिएको मे१०प ११२८ नम्बरको मोटरसाइकल र मे११प ४८२८ नम्बरको स्कुटरसहित बिर्तामोड–३ बस्ने १९ वर्षीय विजय तामाङ, सोही नगरपालिका बस्ने २५ वर्षीय शनिराम मुर्मू र २० वर्षीय प्रवीण दासलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले मोटरसाइकल र स्कुटर लोड गरी उक्त कपडा बिर्तामोडतर्फ लैजाने क्रममा प्रहरीले हल्दिबारी गाउँपालिका क्षेत्रबाट बरामद गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनीहरूलाई कपडासहित मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइसकेको जनाइएको छ । त्यसैगरी भद्रपुर भन्सार कार्यालयबाट कपडाको राजश्व तिरेर बिर्तामोडतर्फ गइरहेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यान प्रहरी कार्यालय झापाका सादा पोसाकको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

साडी, मर्फिन कपडा र सुतीको दरी लगायतका कपडा लोड गरिएको भ्यानमा पाँच लाखको सामान रहेको प्रहरीले जनाएको छ । सामान र प्रज्ञापनपत्र नमिलेपछि आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पठाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here