न्यूटन्स् र एभरेष्टका अभिभावकलाई अमेरिकाबाट १२ सन्देश: एक महिने विदामा नानीहरुको यसरी ख्याल गरिदिनुहोस्

१८ आश्विन २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

नेपालीको ठूला चाडपर्वको सन्दर्भमा अधिकांश विद्यालय एक महिनाका लागि विदा छन् । शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सबै चाडपर्वलाई आ–आफ्नै तरिकाले मनाउन व्यस्त हुन्छन् । बाँकी समय आ आफ्नै ढंगले बित्छ । त्यो बेला कतिले बालबालिकाप्रति चासो कमै दिन्छन् ।

तर, बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीले चाडपर्वको बेलामा समेत आफ्ना विद्यार्थीप्रति चासो व्यक्त गरेका छन् । न्यूटन्स र एभरेष्टले यो लामो विदामा आफ्ना नानीहरुका लागि अभिभावक समक्ष १२ बुँदे सन्देश पठाएको छ । सन्देशले नानीहरुलाई संस्कार सिकाउने र स्वस्थ रहन जोड दिएको छ ।

हाल उपचारका क्रममा अमेरिकामा रहेका न्यूटन्स र एभरेष्टका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईं र संस्थापक धर्म प्रसाईंले पठाएको सन्देश पत्र विद्यार्थीमार्फत नै अभिभावक समक्ष पुर्याइएको छ । आफ्नो संस्कार, स्वास्थ्य, अनुशासनबारे ख्याल गरिदिन विद्यालयले अनुरोध गरेको सन्देश पत्र विद्यालय विदा हुने अन्तिम दिन विहीबार विद्यार्थीले नै बोकेर अभिभावकको हातमा दिएका थिए ।

लामो विदालाई ख्याल गरेर न्यूटन्स र एभरेष्टले गम्भीर चासो र बालबालिकाको संवेदनशिलता ख्याल गरी सन्देश सम्प्रेषण गरेर उदाहरणीय काम गरेको अभिभावकहरु बताउँछन् । विद्यालयले शुभकामना कार्डसँगै संलग्न गरी पठाएको सन्देशपत्रले अभिभावकलाई आफ्ना नानीप्रति थप जिम्मेवार बनाउने न्यूटन्सका प्रमुख सल्लाहकार तथा एभरेष्टका अध्यक्ष देवीप्रसाद गिरी बताउँछन् ।

विद्यालयका ओभरअल इञ्चार्ज देवेन्द्र गुमागाईका अनुसार न्यूटन्स र एभरेष्ट गरी एक हजार सात सय बढी विद्यार्थीका अभिभावकलाई घर–घरमै सन्देश पत्र सम्प्रेषण गरिएको हो ।

‘लामो विदामा नानीहरुलाई अभिभावकले दृष्टि पुर्याउनुपर्ने अति आवश्यक कुराहरु लिखित सुझावका रुपमा सम्प्रेषण गरिएको हो’ –हुमागाईंले भने– ‘ती सुझावहरु कार्यान्वयन गरी नानीहरुको भविष्यको सुनौलो बाटो निर्दिष्ट गर्ने कार्यमा सहयोग पु¥याउन अनुरोध गरिएको छ ।’

सन्देश पत्रमा हाम्रा चाडपर्वको विविध महत्व र आवश्यकताबारे आफ्ना नानीहरुलाई सरल ढंगले बोध गराइदिन भनिएको छ । यी चाडपर्वहरुमा घरमा साना–ठूला नानीहरुका परिचित अपरिचित सबै प्रकारका पाहुना आउने हुँदा पाहुनासँग कसरी आचार व्यवहार गर्नुपर्दछ भन्ने पहिले नै सिकाउन पनि अभिभावकलाई अनुरोध गरिएको छ ।

चाडपर्वमा खानपानका लागि बढी नै परिकार बनाइ खाने खुवाउने चलन हुँदा खानपिनका परिकार बनाउने सीप आफ्ना नानीहरुलाई पनि सकेसम्म सिकाउन विद्यालयको अनुरोध छ । चाडपर्वमा मिठा र पौष्टिक खानपान गरिने हुँदा ठीक मात्रामा ताजा खानेकुरा मात्र खान नानीहरुलाई सधैँ प्रोत्साहित गर्न आग्रह गर्दै भनिएको छ– ‘अन्यथा पौष्टिक खाना पनि कहिलेकाहीँ खतरनाक विरामीको कारण बन्न सक्छ ।’

चाडबाडको बेला घरमा सरसामानको अस्तव्यस्तता, घर बाहिरभित्र फोहोर वस्तुको प्रचुरता हुनसक्ने र भएको अवस्थालाई व्यवस्थापन गर्न आफ्ना नानीहरुलाई आफूसँगै ती कार्यमा लाग्न उत्साहित गर्न पनि अभिभावकलाई अनुरोध गरिएको छ ।

नानीहरु हराउने र कुनै अपराधको सिकार नबनुन भनेर सजगता अपनाउन विद्यालयको अनुरोध छ– ‘नानीहरुलाई एक्लैदोक्लै कही टाढा जान सधँै रोक्नुहोस्, जानै पर्ने भए आफै या भरपर्दो कसैको साथ लगाइ पठाउनुहोस् ।’

त्यस्तै आफ्ना नानीहरुको सकारात्मक कार्य र व्यवहारको सधँै प्रशंसा गर्न अभिभावकलाई सुझाइएको छ । ताकि त्यस्ता कार्य गर्न नानीहरु उत्प्रेरित होउन भन्ने विद्यालयको अपेक्षा छ । नानीहरु साथीसंगत अनुसारले तुरुन्तै आफ्नो बाटो परिवर्तन गर्न सक्ने हुँदा सधैँ असल साथी संगतको साथमा लगाइदिन पनि भनिएको छ ।

चाडपर्वका प्रमुख दिनहरु बाहेक विदाका समयमा सबै दिन कम्तीमा दुई घण्टा पढाइलेखाइ गर्न प्रोत्साहित गरिदिन पनि विद्यालयले अनुरोध गरेको छ । यो नानीहरुका लागि एकप्रकारको फुर्सदको समय पनि भएको हुँदा र उनीहरुलाई पाठ्यपुस्तक पढ्दा–पढ्दा दिक्क पनि लाग्ने हुँदा पाठ्यक्रम बाहिरका चाख लाग्दा फिक्सन, कथा, कविता, वैज्ञानिक अनुसन्धानात्मक विषय, चर्चित साहित्यकारका साहित्यिक कृति जस्ता पुस्तक किनेर ल्याइ नानीहरुलाई पढ्न दिने र पढ्ने बानीको विकास गराइदिन पनि विद्यालयले सुझाव दिएको छ ।

अहिलेको समयमा विभिन्न विद्युतीय उपकरणको प्रयोगले धेरै बालबालिका अध्ययनबाट विमुख भइरहेको र राम्रै पढाइ भएका नानीहरु पनि पठनपाठनमा कमजोर हुँदै गएको देखिएकोले कमै मात्रामा विद्युतीय उपकरण प्रयोग गर्न उत्साहित गर्न पनि सुझाइएको छ । मोबाइल, ट्याव लगायतका विद्युतीय उपकरणमा गेम तथा विभिन्न सञ्जालमा व्यस्त हुने बानीका कारण उनीहरुको स्वास्थ्यसँगै पढाइ बिग्रिने विद्यालयको चिन्ता छ ।

‘शिष्टाचार र सदाचारको पाठ प्राथमिक उमेरमै सिकिसक्नु पर्ने हुँदा हामी त सिकाउँछौं नै तपाईंको तर्फबाट पनि आफ्ना नानीहरुलाई शिष्टाचार र सदाचारको पाठबाट दिक्षित गरिदिनुहुन अनुरोध छ’ – अमेरिकाबाट विद्यालयका संस्थापक प्रसाईं दम्पत्तिले प्रेसित गरेको सन्देश पत्रमा भनिएको छ– ‘परिस्थितिबस तपाईंहरुबाट धेरै टाढा रहे पनि हाम्रा महान चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यथासक्दो छिटो तपाईंहरुको सान्निध्यमा रहन आइपुग्ने छौं ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here