बिर्तामोड,
नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा झापाको चारआली स्थित पाउँ पाथीभरा मन्दिरमा दुर्गाभवानीको प्रतिमा प्रतिस्थापन गरिएको छ ।

बडा दशैं अन्र्तगत शनिबार सप्तमी आर्थात फूलपातीका दिन बिर्तामोडस्थित बीएण्डसी टिचिङ्ग हस्पिटलबाट दुर्गा माताको प्रतिमा सहित शोभा यात्रा गर्दै लगिएको थियो । शोभा यात्रालाई चारआलीस्थित श्री नयाँ श्रीनाथ गण चारआलीको नेपाली सेनाले बुट्टाबारीस्थित काली मन्दिरबाट फूलपातीसंगै दुर्गाको प्रतिमा लिएर गएको थियो ।
सेनाको सलामीसहित गरिएको शोभायात्रामा सयौंको सहभागिता रहेको थियो । बाजागाजा सहितको टोलीले पाउँ पाथीभरामा पुगेर दुर्गाको प्रतिमा प्रस्थिापन गरेको हो ।
पाथीभरा मन्दिरमा दुर्गामाताको प्रतिमा अनावरण गर्दै बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले माताले सबैलाई समारात्मक बाटोमा लैजान प्रेरणा प्रदान गर्ने बताए । उनले स्वास्थ्यसंगै पर्यटनको क्षेत्रमा समेत आफू सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

दुर्गामाताको प्रतिमा प्रस्थिापन गर्न पाएको भन्दै कार्यकारी निर्देशक प्रसाईले आफूले धार्मिक क्षेत्रमा समेत सहयोग गरिरहेको र पाउ पाथीभरा मन्दिरमा माताको प्रतिमा प्रतिस्थापन गर्न पाउनु आफ्नो अहोभाग्य भएको उल्लेख गरे । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको र मंसीरबाट सञ्चालनमा ल्याउने समेत बताए ।
कार्यकारी निर्देशक प्रसाईले यसअघि इलामको कुटीडाँडामा रहेको सानो पाथीभरा मन्दिरमा समेत दुर्गामाताको प्रतिमा प्रस्थिापन गरेका थिए । बीएण्डसी हस्पिटल सञ्चलन गर्नुअघि आफूले माता पाथीभरामा प्रतिमा प्रस्थिापन गर्दै सबैको रक्षा गरिदिन आग्रह गरेको बताए ।

पाथीभरा मन्दिरको विकासका र समृद्धिका लागि जस्तो सुकै सहयोग गर्ने बचन दिएका छन् । शनिबारको शोभायात्रामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, नेपाल रेडक्रश सोसाईटी झापाका सभापति लोकराज ढकाल, चारआली स्थित नेपाली सेनाका प्रमुख लगायत विशिष्ट ब्यक्तिहरुको सशभागिता रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

































