शुभकामनाको आभामा चम्कन्छ दशैं

२० आश्विन २०७६, सोमबार मा प्रकाशित
निधारमा जब मान्यजनको
पवित्र हातको स्पर्श हुन्छ
प्रेम र स्नेहको
जीवन्त प्रवाह
युगको लयमा समाहित हुन्छ ।
जमराका पहेँला मुजुराबाट
आशीर्बचनका
चहकिला किरणहरु
अद्भुत तेज बनेर – छरिन्छन्।
मौलिकता
संस्कृतिको बहुरङ्गी बगैंचामा मुस्कुराउँछ।
सुखदुःखका भावनाहरु
मायाँलु आँचलभित्र
अंकमाल गरेर
निस्फिक्री साउतीमा रमाउँछन्।
शुभ कामनाका
पवित्र भावनामा
छचल्किन्छन्
सद्भाव र प्रेमका – स्पन्दित तरङ्गहरु।
हो !!
परिस्कृत
सुसंस्कार र सभ्यता
सुन्दर परम्पराको – संवाहक बनेर
उषाकालीन
सूर्यका प्रकाशसँगै – मन मनमा झुल्कन्छन्।
द्वैष र अभावमा पोल्ने कुचक्रका रापहरु
मलिन बन्छन् ।
बाल्यकाल
पुतलीबनेर नाँच्छ आँखामा।
सहनाई,ट्याम्को र नरसिङ्गाको धून
मनलाई आल्हादित बनाउँछ।
चङ्गासँगै कावाखान्छन्
मीठामीठा कल्पनाका तरेलीहरु।
करेसामा
धानको लहलह बालामा झुल्छ
मनोहर शरद ।
दोहोरीको झुलनमा
प्रेमको स्वर्ग भेट्टाउछन् – प्रेमिल जोडिहरु।
लिङ्गेपिङ  र रोटेपिङको
उत्साह र उमङ्ग
आँखामा – उत्सव बनेर चम्कन्छ।
अनि
आपसी प्रेम र सम्मानका चहकिला चन्द्रमा
हृदयको
मायालु आँगनमा उदाउँदा
स्नेहको आभाले आलोकित हुन्छ
समस्त भूमण्डल।
उत्सवको पर्व – दशैं
सहिष्णुता र एकतामा सूत्रबद्ध
शुभ कामनाको आभामा चम्कन्छ।
बाबुराम न्यौपाने “उत्स”/दमक
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here