चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारी व्यापक

२२ आश्विन २०७६, बुधबार मा प्रकाशित

काठमाडौँ,

चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।

बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।

विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ ।

राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘अतिथिदेवो भवः’ को आदर्शलाई व्यवहारत अपनाइरहेको नेपालले विशिष्ट पाहुनाको भ्रमणमा जनस्तरबाट समेत स्वागत हँुदै आएको छ ।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ ।

बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ ।

यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

काठमाडौँ शहरको सौन्दर्य अभिवृद्धिमा कार्यरत काठमाडौँ महानगरपालिका तीनकुनेस्थित खुलास्थललाई कृत्रिम उद्यान (आइल्याण्ड) बनाई हरियाली तुल्याउँदै छ । कतिपय स्थानमा अस्थायी संरचना बनाई आकर्षक बनाएको छ ।महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरुले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरुमा रङ्रोगन भइरहेको बताउनुभयो ।

स्वागतका झण्डा राखिने खम्बाहरु पनि महानगरपालिकाले सजाउँदैछ । प्रवक्ता डङगोलले भन्नुभयो, “हामीले जिम्मा पाएअनुसार सरसफाइको काम व्यापक भइरहेको छ । शहरलाई सफा र हरियाली बनाइनेछ । सडक बत्तीहरुको व्यवस्थापनको काममा पनि हामी लागेका छौँ ।”

राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा फहराएर विद्यार्थी बस्नेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here