दार्चुलाको समृद्धि – चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक

२५ आश्विन २०७६, शनिबार मा प्रकाशित

दार्चुला,

ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो ।

द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो ।पञ्चायतकालमा भारतीयले समेत प्रयोग गर्ने खलङ्गा–तिङ्कर गोरेटो बाटो द्वन्द्वकालीन समयदेखि नै अवरुद्ध भएको छ । पञ्चायतकालमै निर्माण भएको बाटो देशमा सङ्कटकाल लागेदेखि सरकारले ध्यान गएको छैन् ।

सौका समुदायबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएर सहायकमन्त्रीसमेत भएका बहादुरसिंह ऐतवालको पालामा दार्चुला–तिङ्कर घोरेटो बाटो बेनेको हो, ब्यास गाउँपालिका–१ छाङरुका स्थानीयवासी ६५ वर्षीयजीतबहादुर बोहराले बताउनुभयो ।

त्यसपछि बनेका सरकारको यो बाटो निर्माणतर्फ ध्यान गएको छैन् ।देशमा बहुदल आएसँगै ब्यास जोड्ने बाटो भत्कन शुरु गरेको थियो । बाटो मर्मतका नाममा आउने रकम स्थानीय नेता कार्यकर्ताले अपचलन गरेको हुँदा पनि घोरेटो बाटो विस्तारै प्रयोगविहीन हुन थालेको छ । अहिले भारतले नदी किनारमा सडक बनाउँदा नेपालको बाटो बन्द भएको छ ।

“पञ्चायतकालमा भारतीय व्यापारी र कैलाश मानसरोवर जाने धार्मिक तीर्थ यात्रीसमेत नेपालको बाटो भएर आउँथे, अहिले बाटो नै छैन, तिङ्करीले भन्नुभयो ।” पञ्चायतकालमै निर्माण भएको गोरेटो बाटो त अलपत्र नै प¥यो तर गणतन्त्र आएपछि निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक पनि अलपत्रै छ ।

एघार वर्षअघि दार्चुला तिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पछिल्लो समय ओझेलमा परेको छ । महाकाली करिडोरअन्तर्गत बजेट विनियोजन हुन थालेपछि दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको हो ।आर्थिक वर्ष २०६५÷६६ बाट दार्चुला–तिङ्कर सडकको रुपमा नामाकरण हुँदै शुरु भएको सडकले गति लिएको छैन् । अहिले यही सडकलाई महाकाली करिडोर नामाकरण गरिएको छ ।

महाकाली करिडोरअन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदैछ ।दार्चुला–तिङ्कर सडक निर्माणमा प्रगति भएको छैन् । दुई वर्षदेखि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका केही ठाउँमा निर्माण कार्य भए पनि चीनसँग जोड्ने गरी निर्माण भएको काम भने प्रभावित भएको छ ।

तिङ्कर छुने गरी निर्माण हुनुपर्ने सडक अहिले बैतडी–डडेल्धुरा क्षेत्रमा मात्रै काम शुरु भएको छ ।दार्चुला–तिङ्कर सडकअन्तर्गत ११ वर्षमा ३० किलोमिटरको साधारण ट्र्याक खुलाउने काम मात्रै भएको छ । ब्यासको सुनसेराभन्दा माथिल्लो क्षेत्रमा कामले गति लिएको छैन् ।

सडक निर्माणले गति नलिँदा ब्यासको तिङ्करसम्म गाडी गुडला र ब्यासको स्याउ तराई ढुवानी गर्ने सपना बुनेको व्यासी अहिले पनि निराश छन् ।सुदूरपश्चिम प्रदेशकै चीनसँग नाका जोडिने छोटो मार्गको रुपमा रहेको दार्चुला–तिङ्कर सडक निर्माणको लागि पटक–पटक सरकारलाई दबाब दिँदै आएको सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य गेल्बुसिंह बोहराले बताउनुभयो ।

हामीले शुरुदेखि नै दार्चुलाबाट तिब्बत जोड्ने गरी छोटो मार्गको रुपमा दार्चुला–तिङ्कर सडकको निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छांै, बोहराले भन्नुभयो । यो मार्ग हुँदै नाका खोले नेपाल भारत र चीनसँगको व्यापारमा सहज हुने छ । यतिमात्र हैन, दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने बोहराको भनाइ छ ।पछिल्लो समय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा दार्चुलाको तिङ्कर नाका चीनसँग जोड्ने गरी काम हुने बताए पनि यो वर्षको बजेट पनि पर्याप्तरुपमा विनियोजन भएको छैन् । करिडोरकै लागि रु ३० करोड बजेट आउने गरेको छ ।यही शनिबार चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा यो नाकाले प्राथमिकता पाउनुपर्ने बताउनुहुन्छ जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की ।

‘‘चीनसँग सीमा जोडिएको क्षेत्रको जिल्ला भएको हिसाबले दार्चुलाको तिङ्कर हुँदै चीन जोड्ने सडकको कुरा भ्रमणका क्रममा प्राथमिकता साथ उठ्नुपर्छ,’’ कार्कीले भन्नुभयो ।“त्रिदेशीय सीमा भएका कारण पनि यो सडकको महत्व छ”, उहाँले भन्नुभयो । एघार वर्षसम्म गति नलिएको सडकलाई सरकारले समेत चासोका साथ काम अघि बढाउनुपर्नेमा उहाँको सुझाव छ । अहिलेको समयमा तिङ्कर सडकको कुरा उठाउन सके सुदूरपश्चिमको व्यापारिक, धार्मिक र पर्यटकीय मार्गको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिङ्कर सडकको साधारण बाटो गत वर्ष ब्यास गाउँपालिकाको सुनसेरासम्म खोलिएको छ ।

गतवर्ष सुनसेरासम्म गाडी पु¥याइएको भएपनि अहिले यो सडकले ब्यास गाउँपालिका वडा नं ४, ५ र ६ को सीमा जोडेको छ । सडक निर्माणलाई प्राथमिकता दिने हो भने ब्यास क्षेत्रमा महाकाली नदीमाथि बनाइएका तुइनसमेत विस्थापित हुनेछन् ।तिङ्करसम्म गाडी पु¥याउन सके दार्चुलासहित सुदूरपश्चिम प्रदेशकै धार्मिक, व्यापारिक र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माण व्यवसायीबाट काम गराउँदा राष्ट्रिय प्राथमिकताको तिङ्कर सडक निर्माणमा ढिलासुस्ती हुने भन्दै प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले पटक–पटक नेपाली सेनालाई जिम्मेवारी दिन आग्रह समेत गर्नुभएको छ ।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिँह साउद चीनको दुर्गम क्षेत्रमा पनि चरम विकास भएको बेला नेपाल सरकारले चीनसँग सीमा जोडिने दार्चुलाको तिङ्कर सडकलाई व्यापारिक नाकाको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ ।कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्कर ४२५ किलोमिटर छ । यस्तै सदरमुकाम खलङ्गादेखि तिङ्करको एक नम्बर पिलरसम्म १३५ किलोमिटर दुरीमा पर्छ । निर्माणाधीन रहेको दार्चुला–तिङ्कर सडकको हालसम्म ६० किलोमिटरसम्म मात्रै बोलपत्र आह्वान गरिएको छ । ब्यास–२ को दुम्लीङभन्दा माथि ठेक्का नै नलागेको दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताउनुभयो ।

हालको ब्यास गाउँपालिका–१ को छागरु र तिङ्कर गाउँसम्म मात्रै सडकको पहुँच पु¥याउने हो भने चीनसँगको व्यापारमा सीधा सम्पर्क हुने स्थानीयवासी बताउँछन् । दुई दशक अघिसम्म निरन्तर चीनसँगको हुँदै आएको व्यापार पुनः शुरु गर्नको लागि दार्चुला–तिङ्कर सडक निर्माण कार्यलाई अहिले प्राथमिकता दिनुपर्ने स्थानीयवासी जीतसिंह बोहरा बताउनुहुन्छ ।दार्चुला–तिङ्कर सडक निर्माणमा ढिलाइले ब्यासमा फल्ने स्याउ भारतमा बिक्री हुन्छ । बोहराले भन्नुभयो, “नेपालतिर सडक निर्माण होला भनेरै १० वर्ष अघिबाट स्याउ खेती शुरु गरे । अहिले हजारौं बोटमा स्याउ फल्छ, कोदो, जौ, फापर आलु फल्छ तर बाटोघाटो छैन् ।”

तिङकरबाट ताक्लाकोट चार÷पाँच घण्टामा पुगिने भएपनि वैधानिक रुपमा मार्ग खुल्न सकेको छैन् । वर्षौदेखि चीनको ताक्लाकोट व्यापार गर्दै आउनुभएका बोहरा अहिले चीनका राष्ट्रपति आएको बेला यो नाका खुलाउने विषय चर्चामा ल्याउन आग्रह गर्नुहुन्छ । दार्चुला–तिङ्कर सडकलाई चीनसँग जोड्न हुन सकेमा सुदूरपश्चिमको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here