दशैं पुनर्मिलनमा ३७ पूर्व शिक्षक सम्मानित

0
901

सुरुङ्गा ।

नमुना विद्यालयको रुपमा प्रस्तावित झापाको कनकाई माविका विद्यार्थीहरुको साझा संगठन कनकाई भूतपूर्व विद्यार्थी समाजले ३७ जना पूर्व प्रधानाध्यापक तथा शिक्षकलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापकहरु लीलाप्रसाद सापकोटा, तेजनारायण चौधरी, चन्द्रप्रसाद मैनाली, कोमलप्रसाद पोखरेल, ईश्वरीप्रसाद शिवाकोटी, आशा शर्मा शिवाकोटी, निर्मलकुमार खतिवडा लगायत अन्य शिक्षकहरु रहेका छन् ।

विद्यालयको पहिलो एसएलसी ब्याच २०३६ सालका विद्यार्थी हाल कनकाई भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष दिनेशकुमार उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सेवा निवृत्त प्रअ तथा शिक्षकलाई मायाको चिनोसहित, खादा र आभारपत्रसहित सम्मान गरिएको थियो । सो कार्यक्रम दशैं पुनर्मिलन कार्यक्रमको रुपमा महानवमीका दिन सम्पन्न भएको थियो ।

सो अवसरमा महाकाव्यकार मित्रप्रसाद दाहाल रचित ‘आमा’ महाकाव्यको विमोचन गरिएको थियो । स्रष्टा दाहालको आठौं कृति तथा चौथो महाकाव्यको रुपमा रहेको १ सय ५० पृष्ठको उक्त महाकाव्यको कनकाई माविका शिक्षक भीमप्रसाद दहालले समिक्षा गरेका थिए ।

कृतिका लेखकको संघर्षको कथा समेटिएको महाकाव्यमा १७ सर्ग र ८ सय ५२ श्लोकहरु रहेको बताइएको छ । भूतपूर्व विद्यार्थी समाजका महासचिव महेन्द्र विश्वकर्माले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेल र आशा शर्मा शिवाकोटी, विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगी, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अखिलकुमार कोइराला लगायतले मन्तव्य राखेका थिए ।

आफू अध्ययन गरेको विद्यालय नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा नमुना विद्यालयको रुपमा छनौटमा परेको खुसियालीमा वृहत सांगीतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । पूर्व विद्यार्थी वीच संगठनलाई विस्तार गर्न, पूर्व विद्यार्थी र विद्यालय वीच प्रगाढ सम्बन्ध स्थापित गर्न र पूर्व विद्यार्थीको तर्फबाट संस्थागत रुपमा आर्थिक, प्राविधिक लगायतका सहयोग गर्ने वातावरण निर्माण गर्दै सो सन्देश सम्प्रेषण गर्न र समाजको मूल नारा ‘मित्रता, एकता र सहयोग’ को अभिप्राय अनुरुप आफू पढेको विद्यालयलाई सहयोग गर्न ठूलो धनराशिको अक्षयकोष निर्माण गर्ने उद्देश्यका लागि सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कोइरालाले बताए ।

नेपालकै उत्कृष्ट वाद्यवादकसहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा गीतसंगीतको क्षेत्रमा राष्ट्रिय छबि बनाएका कनकाई माविका पूर्व विद्यार्थीहरु सुमित पाठक, सरोज कोइराला लगायतले गीत प्रस्तुत गरेका थिए भने कलाकारहरु सन्ध्या ठटाल, कृष्ण तिवारीको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा पूर्व विद्यार्थी, पूर्व शिक्षक, विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा गीतसंगीतप्रेमीको सहभागिता रहेको थियो । सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम सफल बनाउन अध्यक्ष कोइरालाको अध्यक्षतामा कार्यसमितिका सम्पूर्ण सदस्य, सल्लाहकार, आजीवन सदस्य, कनकाई माविमा कार्यरत शिक्षक तथा कर्मचारी पदेन सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको थियो भने आर्थिक व्यवस्थापनमा दिनेशकुमार उप्रेती, संगीत व्यवस्थापनमा ध्रुबप्रसाद पाठक, नृत्य व्यवस्थापनमा अमन गुप्ता र दिलिपकुमार खतिवडालाई जिम्मेवारी दिइएको थियो ।

त्यसै गरी, काठमाण्डौका पूर्व विद्यार्थीहरुलाई संयोजनको जिम्मा समाजका महासचिव महेन्द्र विकलाई दिइएको थियो । स्वयम्सेवक व्यवस्थापनमा स्काउट शिक्षक राधादेवी केसी, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक चन्द्रप्रसाद पोखरेल, सगरमाथा टिन्स क्लबका शिक्षक संयोजक खेमराज भट्टराई र कनकाई बाल क्लबका शिक्षक संयोजक अम्बिकाप्रसाद रिजाललाई जिम्मेवारी दिइएको थियो ।

पहिलो चरणको कार्यक्रम सञ्चालन समाजका सदस्य एवम् शिक्षक तीर्थराज खरेलले गरेका थिए । सांगीतिक कार्यक्रमको सञ्चालन विद्यालयका पूर्व विद्यार्थी एवम् कलाकार राजेश घतानीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here