सम्पादकीय: नेपाल–चीन सम्बन्ध बलियो होस्

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

आवागमनले मित्रता बढाउँछ । मित्रताले हार्दिक र सद्भावपूर्ण सम्बन्ध स्थापित हुन्छ । यसले परम्परादेखिको सम्बन्धलाई अझ बलियो र चिरस्थायी बनाउँछ । विश्व सभ्यताकै अंश जस्तै भएको ‘आउने–जाने’ प्रक्रियाले दुई व्यक्ति, समूह वा राष्ट्रलाई नजिक ल्याउँछ, एकाकार गराउँछ र पछि परेकाहरु पनि समृद्धिको यात्रामा सामेल हुन पाउँछन् । नेपालको निर्माण भएसँगै शुरु भएको यस्तो सम्बन्ध अझै व्यापक बन्दै गएको छ । जसले नेपालको भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

त्यही परम्परागत नियमितताभित्र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आए । चीन दक्षिण पूर्व वा एसियामा मात्र होइन विश्व समाजमै आर्थिक समृद्धिका दृष्टिले सवल र उन्नत राष्ट्रको पहिचान बनाएको देश हो । राजकुमार सङचङ गम्पोसँग भृकुटीको विवाह भएपछि शुरु भएको औपचारिक सम्बन्धको इतिहास धेरै पुरानो हो । उनकै कारण चीन र तिब्बतसम्म बौद्ध धर्म र दर्शनको फैलावट भएको इतिहास नै छ । त्यसकै निरन्तरताका रुपमा चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि काठमाडौं आए । उनको आगमनबाट कति लाभ लिन सकिन्छ त्यो भौतिक तराजुमा जोख्नु दरिद्रता हुनसक्छ ।

नेपाली जाति स्वाभिमानी भनिएको छ । इतिहासमा हाम्रा पूर्वजहरुले व्यक्ति लाभ त्याग गरेर आर्जन गरेको स्वाभिमानी गौरव वर्तमानका नेतृत्वले थाम्न सक्दैनन् निश्चित छ । धनी, ठूला र शक्ति सम्पन्न राष्ट्रका प्रमुखहरुको आगमनलाई ऋण, अनुदान र सहयोगमा कसरी उपयोग गर्न सकिन्छ भन्ने ध्याउन्न, चिन्तन र मानसिकता देखिने गरेको छ । चीनले गर्ने लगानी वा सहयोग निस्वार्थ हुनै सक्दैन । आफ्नो स्वार्थ प्रतिकूलका कुनै लगानीको अपेक्षा गर्नु केटाकेटीपन हुनसक्छ ।

चीनका राष्ट्रपतिको तेइस वर्षपछिको राजकीय र औपचारिक भ्रमणलाई राष्ट्रिय स्वार्थ अनुकूल बनाउन सत्तासीन नेतृत्व, दल र सरकारको अभीष्ट हुनुपर्छ । यसमा कति सफलता हात लाग्छ त्यसैले कुटनीतिक क्षमताको मूल्यांकन गर्नेछ । ‘भूपरिबेष्टित नेपाललाई भूजडित’ बन्न सघाउँछौ भनेर विशिष्ट पाहुनाले उद्घोष गरेको सन्दर्भले हाम्रा अगुवाहरुको क्षमता, इच्छाशक्ति दृढता र कर्मठताको पनि परीक्षण गर्नेछ । यसतर्फ सचेत देशबासीको समेत सजग र इमानी खबरदारी रहनु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here