अण्डाको उचित मूल्य नपाएको गुनासो

0
1167

दमक।

झापाका अण्डा व्यवसायीहरु भने उचित मूल्य नपाउँदा निराश बन्दै गएका छन् । यो व्यवसायबाट पलायन भएर बैकल्पिक ब्यवसाय रोज्नुपर्ने अवस्था आउन लागेको यस क्षेत्रमा लागेका व्यवसायीहरु बताउँछन् । नेपालसहित विश्वभर विश्व अण्डा दिवस मनाइरहँदा झापाका व्यवसायीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल अण्डा उत्पादक संघ प्रदेश १का अध्यक्ष एवम् अण्डा उत्पादक किसान माधव पराजुलीका अनुसार अहिले अण्डा व्यवसाय गम्भीर संकटमा रहेको छ । उनका अनुसार अहिले आफ्नो फार्मबाट मात्र दैनिक १० हजार अण्डा उत्पादन हुने गरेको छ ।

करिब ६० प्रतिशत स्थानीय बजारमा खपत हुने भए पनि बाँकी उत्पादन भएको अण्डाको बजार समस्या रहेको छ । झापाको दमकमा मात्र दैनिक सरदरमा १ लाख ७५ वटा अण्डा उत्पादन हँुदै आएको उनको भनाइ छ । १ नम्बर प्रदेशमा सबैभन्दा बढी अण्डा उत्पादन हुने नै दमकमा हो– पराजुलीले भने ।

प्रदेश १मा अहिले दैनिक ५ लाख अण्डा उत्पादन हुँदै आएको उनको भनाइ रहेको छ । अण्डामा प्रदेश आत्मनिर्भर रहेको छ र उत्पादन बढी भएका कारण बजार मूल्यमा समेत एकरुपता छैन– उनले भने । अण्डा उत्पादनका लागि प्रदेशमा करिब ३ अर्वको लगानी रहेको पनि पराजुली बताउँछन् ।

लागत मूल्य पनि पाइदैन

अण्डा बढी उत्पादन भएका कारण अण्डाले लागत मूल्य पनि नपाएको पराजुलीको भनाइ रहेको छ । एक कार्टुन अण्डा सरदरमा १५ सयमा बिक्री हुँदै आएकोमा र प्रतिगोटा ७ देखि ८ रुपैयाँभन्दा बढी अण्डाको मूल्य नपाएको उनले जनाए ।

हाम्रो लागत मूल्य ९ रुपैयाँभन्दा माथि रहन्छ तर बिक्री मूल्य ७ रुपैयाँको हाराहारीमा रहेकाले हामी संकटमा परेका छौं– पराजुलीले भने ।

आफूहरुले ७ रुपैयाँमा विक्री गरेको अण्डा बाहिर १२देखि १५ रुपैयाँमा बिक्री हुने गरेको पाएको पनि उनले जनाए । ४० प्रतिशत अण्डाको बजारको अभाव रहेकाले यसको बजार खोज्न सरकारले सहयोग गर्नुपर्ने उनको माग रहेको छ । यदि बजार यस्तै रहने हो भने हाम्र्रो अर्वाै लगानी डुब्छ र १५ सयभन्दा बढी बेरोजगार बन्छन्– पराजुलीको भनाइ रहेको छ ।

१ करोडभन्दा बढीको अण्डा गाड्नु पर्यो

नेपाल अण्डा उत्पादक संघ झापाका अध्यक्ष मनोज बुढाथोकीले भदौ महिनामामात्र जिल्लामा ७ हजार कार्टुन अण्डा बिग्रेका कारण गाड्नु परेको दाबी गरे । बर्षासहितको गर्मीको समयमा अण्डा १५ दिनभन्दा बढी भण्डारन गर्न नसक्ने अवस्था रहेकोले यो अवस्था आएको पनि उनले जनाए ।

एक करोड ५ लाख मूल्य भन्दा बढीको अण्डा हामीले पुर्नु पर्यो र यो पीडा फेरी नदोरियोस् भन्नेछ– उनले भने । जिल्लाका अण्डा उत्पादक किसानहरुले अण्डा नविकेर रोएर बस्नुपर्ने अवस्था आएको पनि उनको भनाइ छ । करिब १ बर्ष अघिदेखि यस्तो समस्या आइलागेको उनले जनाए ।

बैकको ब्याज तिर्न चिन्ता

अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको र बैंकको ब्याज तिर्न नै मुस्किल भएको अण्डा उत्पादक किसान भरत चम्लागाँईले बताए ।

बैकको ब्याज तिर्ने दिन आइसक्यो तर अण्डा गोदाममा थन्किएकाले कसरी तिर्ने भनेर चिन्ता छ– चम्लागाँईले भने । दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत रहेका चम्लागाँईका अनुसार यस क्षेत्रमा लगानी गरेका किसान तथा व्यवसायी नै यस क्षेत्रबाट पलायन हुने अवस्था रहेको छ ।

दमककै अर्का किसान देवराज अधिकारीले पनि यस्तै अवस्था रहे ऋणमा चुर्लुम्म ड्ुब्ने अवस्था रहेको जनाए । ३ हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पाल्दै आएका उनले अहिले कुखुरा घटाएको जनाए । ५ हजारभन्दा बढी समेत पालेको थिए तर अण्डा नबिकेका कारण घटाउन बाध्य भए– उनले भने ।

बजारको खोजी र जनचेतना जोगाउन माग

सरकारले आफुहरुलाइ अनुदान तथा केही दियोस्भन्दा पनि अण्डाको उपभोगबारे सचेतना जोगाउनपर्ने माग अण्डा उत्पादकहरुको रहेको छ ।

प्रदेश अध्यक्ष पराजुलीका अनुसार अहिले पनि नेपालमा ३३ प्रतिशतले मात्र अण्डा उपभोग गर्ने गरेका छन् । यो संख्या बढाउन सकेमा मात्र पनि आफूहरुलाई राहत मिल्ने उनको भनाइ छ ।

स्थानीय, प्रदेश र सघीय सरकारले यस बिषयमा ध्यान नदिएको पनि अण्डा उत्पादक किसानहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here