नेपाल क्रिकेट: कप्तान पारस खड्काको अप्रत्याशित राजीनामा, क्यानलाई ‘थाहा छैन’

0
941

काठमाण्डौं ।

नेपाली क्रिकेटको उपलब्धि र अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को निलम्बन फुकुवा गर्दै ससर्त सदस्यता दिने निर्णय गरेको भोलिपल्ट खड्काले कप्तान पद छोड्ने धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै ३२ वर्षीय खड्काले क्यानको नयाँ कार्यसमिति, खेलाडी र अन्य साझेदारले नेपाली क्रिकेटमा राम्रो गरून् भन्ने कामना गरेका छन्।

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए। उनले नेपाली क्रिकेटमा ‘सबै कुरा नयाँ सुरु हुनुपर्ने’ बताउँदै कप्तानी छोड्ने समय भएको बताएका छन्।

क्यानलाई ‘थाहा छैन’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खड्काको राजीनामाबारे आफूहरूलाई जानकारी नभएको बताए। “आधिकारिक रूपमा हामीकहाँ राजीनामा आएको छैन,” उनले बीबीसीसँग भने।

“कुनै पनि टोलीमा कप्तानले राजीनामा गर्ने वा नयाँ नेतृत्व चयन हुने कुरा नौलो भने होइन।” आधिकारिक रूपमा क्यानलाई जानकारी गराइएको खण्डमा के गर्नु हुन्छ भन्ने बीबीसी न्यूज नेपालीको प्रश्नमा उनले भने, “त्यसबारे निर्णय हामी पदाधिकारीहरूको बैठक बसेर गर्नेछौँ।”

कप्तान खड्कासँग कुरा गर्ने बीबीसीको प्रयास भने सफल हुन सकेन।

खड्काको क्रिकेट यात्रा

पारस खड्काले नेपालको तर्फबाट छवटा एकदिवसीय अन्तर्राष्ट्रिय एवम् २७ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

उनले नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी-२० खेल खेलेका छन्। उनले नेपालको यू-१५ र यू-१७ टोलीहरूमा खेल्नुको साथै तीन पटक यू-१९ विश्वकप खेलेका छन्।

अबको बाटो

गत वर्ष बीबीसीसँग कुरा गर्दै खड्काले आफ्नो सक्रिय खेल जीवनपछि क्रिकेट प्रशासनको नेतृत्व तहमा र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जान सक्ने बताएका थिए।

नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर आईसीसीबाट प्रतिबन्धित भएको बेलामा पनि खड्काको नेतृत्वमा राष्ट्रिय टोली कायम थियो।

उनी मैदानभित्र कप्तान भएकै बेला मैदानबाहिर राष्ट्रिय टोलीका एक छनोटकर्ता थिए। क्यान निलम्बित भएको समयमा उनले आईसीसीसँग पत्राचार गर्ने समन्वयकर्ताको भूमिका निर्वाह गरेका थिए।

“पहिले म मेचीदेखि महाकालीसम्म पुगेर त्यहाँको वातावरण क्रिकेटमय बनाउन चाहन्छु। अभिभावकहरूले छोराछोरीलाई ‘क्रिकेटर बन’ भन्ने अवस्था आओस् भन्ने मेरो इच्छा हो,” गत वर्ष उनले बीबीसीलाई भनेका थिए। “त्यो सब गरिसकेपछि परिस्थितिले दिन्छ भने ह्वाई नट पोलिटिक्स?”-बीबीसी नेपालीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here