बिर्तामोड।

डा. गोविन्द केसी विरुद्ध अनशन बस्ने युवा अभियन्ता दाबी गर्ने विजय थापाले चेतावनी दिएका छन् । उनी यसअघि पनि केसी विरुद्ध अनशन बसिसकेका छन् ।
डाक्टर केसीले सोमबार आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी सरकारलाई दिएका थिए । डा. केसीले आफ्ना माग पूरा गर्न कात्तिक ८ गतेसम्म सरकारलाई अल्टिमेटम पनि दिएका छन् । आफू कार्यरत टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।
डा. केसीले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठह¥याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् ।
यता मंगलबार थापाले राजधानीकै रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी आफू डा. केसी र उनका मुद्धाको विपक्षमा अनशन बस्न लागेको बताए । यस अघि दुई पटक डा. केसीकै विरुद्ध अनशन बसिसकेका थापाले अनशनका नाममा शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई वाधा पुर्याउन नहुने भन्दै आफू डा. केसीको विरुद्ध संघर्षमा उत्रेको बताए ।
थापाले सरकारले आफ्ना पुराना माग पुरा नगरेको पनि आरोप लगाए । थापाले संविधानप्रदत्त मौलिक अधिकारका रुपमा रहेको निःशुल्क स्वास्थ्य जनताले पाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका छन् ।
यस्तै, उपत्यका बाहिर सरकारले मेडिकल कलेज संचालनको अनुमति दिनुपर्ने, वंगलादेश विमानमा मृत्यु भएका विद्यार्थी डाक्टरको परिवारलाई क्षेतीपूर्ति दिनुपर्ने, सरकारी तलब भत्ता खाने कोही कर्मचारीले राजनीति गर्न नहुने लगायतका माग थापाले अघि सारेका छन् ।































