दशैंको अवधिमा पूर्वमा १३ जनाले ज्यान गुमाए: झापामा ६ महिने शिशुसहित ६ जनाको मृत्यु, ३२ जना घाइते

0
596

झापा।

दशैंको १४ दिनको अवधिमा प्रदेश–१ मा १३ जनाले ज्यान गुमाएका छन् । प्रदेश–१ का १४ जिल्लामा भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दसैंको अवधिमा ६१ वटा सवारी दुर्घटना भएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेश राईका अनुसार असोज १२ गते घटस्थापनादेखि असोज २६ गते पूर्णिमासम्म भएको सवारी दुर्घटनामा ६० जना गम्भीर घाईते र ७६ जना सामान्य घाईते भएका थिए ।

मृत्यु र घाईते हुनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेको राईले जानकारी दिए । प्रवक्ता राईका अनुसार ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीलाई कारबाही पनि गरेको जानकारी दिए ।

उनका अनुसार दसैँको बहाना बनाएर बढी भाडा लिने २५ वटा सवारी कारबाहीमा परेका छन् । बढी भाडा लिने र ट्राफिक प्रहरीको नियम उल्लघंन गर्ने सवारीबाट ३३ हजार रुपैँया राजश्व समेत संकलन भएको छ ।

गत बर्ष असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म ५० वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ४१ जना गम्भीर घाईते भएका थिए । त्यस्तै सो दुर्घटनामा ७७ जना सामान्य घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भीम दाहालले बताए ।

यता झापामा मात्रै ६ जनाले दशैंको अवधिमा ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमप्रसाद अधिकारीले दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए पनि दुर्घटनामा कमी आएको छैन् ।
दशैंको अवधिमा छ महिने शिशुसहित एक महिला र चार जना पुरुषले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही अवधिमा भएको दुर्घटनामा १० जना पुरुष र तीन महिला गम्भिर घाइते भए भने १९ जना सामान्य घाइते भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here