सताक्षीधाम र आसन्न कोटीहोम

२९ आश्विन २०७६, बुधबार मा प्रकाशित

झापाको धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको सताक्षीधाममा भक्तजनहरुको आवागमन बाक्लो हुन थालेको छ । प्राकृतिक वातावरणका कारण समेत रमणीय रहेको सतासीधाममा केही वर्षयता बर्षेनि धार्मिक अनुष्ठानहरु भइरहेका छन् । यसैक्रममा यो वर्ष कोटीहोमको आयोजना गर्न लागिएको छ । पाँच वर्षअघि सो स्थानमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएपछि गाईको महत्व, आवश्यकता, शास्त्रीय भनाइ र वैज्ञानिक तथ्यका आधारमा प्रचारप्रसार गर्ने काम भइरहेको छ । गृहस्थ जीवनमा रहेकाहरुले आयोजना गर्न नसक्ने तर पर्यावरणीय दृष्टिले अत्यन्त महत्वको रहेको कोटीहोम झापामा पहिलोपटक योगीराज नरहरिनाथले कन्काईको पूर्वी तहमा आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेका थिए ।

योगीराजकै अगुवगाईमा भएको झापाको पहिलो कोटीहोम स्थल अहिले कोटीहोमका नामले सुपरिचित छ । सताक्षीधाम एक सय आठ कृुण्ड निर्माण गरी सत्ताइस हजार किलोग्राम ‘चरु’ होम गरिनेछ । आयोजकले यसका लागि एकहत्तर लाख खर्च हुने जनाएको छ । कोटीहोममा सहभागी हुन आउनेहरुका लागि पैंतीस वटा कुटी बनाइने र त्यसमा एक सय चालीस जना विदेशी अतिथि बस्न सक्ने बताइएको छ । कोटीमोममा अष्टोत्तरशत् कुण्डीय श्री गोपाल महायज्ञ एवम् श्रीमद्देवीभागवत कथा महोत्सव समेतको आयोजना हुँदैछ । गौशाला स्थापना भएपछि नेपालको संविधान र सनातनी परम्पराभित्रको गौवंशको संरक्षण गर्न थालिएको छ । यसका कारण त्यस क्षेत्रका मात्र होइन टाढा–टाढाबाट समेत गौशालामा गाई ल्याउने गरेको पीठाधीश आचार्य नन्दकिशोर भारद्वाजले जनाएका छन् ।

वैदिक सनातन संस्कृति सम्पूर्ण विश्वको मूल संस्कृति हो । पश्चिमा मुलुकहरु समेत यसबेला पूर्वीय दर्शन र संस्कृतिबाट आलोकित हुन थालेका छन् । यसो हुनुका पछि वैदिक संस्कृतिभित्र रहेको वैज्ञानिक तथ्य र प्रमाण हुन् । इतिहासदेखि नै हिन्दू धर्म सापेक्ष रहेको नेपाल पछिल्लो संविधानपछि निरपेक्ष बनिएको छ । यो सँगै हिन्र्दूधर्म र हिन्दूत्वमाथि चौतर्फी आक्रमण भइरहेको छ । यही अवस्थाबाट गुज्रिएको नेपाली जीवनमा यस्ता धार्मिक धरोहरहरुको प्रचारप्रसारलाई व्यापक बनाउने खाँचो छ । अझ वेदध्वनि, शंख, घण्ट लगायतले वायुमण्डलीय प्रदुषणलाई कम गर्दै पृथ्वीको सन्तुलन कायम राख्ने विज्ञहरुले उल्लेख गरेका छन् ।

नेपाल सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन अग्रसर छ । आन्तरिक एवम् वाह्य पर्यटन प्रवद्र्धनको माध्यमबाट लाखौं पर्यटक भित्र्याएर आर्थिक विकासमा समेत टेवा पुग्ने गरिको कार्यक्रम सञ्चालन गर्नुको आवश्यकता हो । यही आवश्यकता पूरा गर्न पनि सताक्षीधाममा हुन लागेको धार्मिक महायज्ञले सहयोग गर्नेछ । आयोजकले नेपाल बहेकका बीस हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य बनाएको महोत्सवमा डेढ लाखभन्दा बढी आन्तरिक पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

केही वर्ष अघिसम्म ओझेलमा परेको सताक्षीधाम अहिले स्थानीयबासी, संघ–संस्था एवम् धर्मप्राण महामनाहरुको सेवा र समर्पणका कारण सरकारको दृष्टिमा समेत परेको छ । यो र यस्ता पर्यटकीय क्षेत्रहरुलाई सेवा, सुविधा एवम् प्रचारप्रसारका माध्यमबाट गन्तव्य बनाउन सकिए राष्ट्रको उन्नतिमा समेत सहयोग पुग्ने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here