भ्रमण वर्ष २०२० नजिकिँदै: पूर्वबाट भित्रिने पर्यटक हरेक महिना घट्दै

0
924

लक्ष्मी उप्रेती / काँकरभिट्टा।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० (नेपाल टुरिजम इयर–२०२०) आउन अब करीव अढाई महिना बाँकी रहे पनि नेपाल प्रवेशको पूर्वी काँकरभिट्टा नाकाबाट भित्रिने पर्यटकको संख्यामा भने हरेक महिना कमी आएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार सन् २०१९को जनवरीदेखि सेप्टम्वरसम्म आइपुग्दा पूर्वी प्रवेशद्वारबाट पैदलमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको हो । सन् २०१९को पहिलो नौ महिनामा यो नाका भएर ९ हजार ४ सय ३१ पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमा ५ हजार ७ सय ६४ विदेशी तथा ३ हजार ६ सय ६७ नेपाली पर्यटक रहेको कार्यालयले जनाएको छ । सोही अवधिमा यो नाका भएर ४ हजार ८ सय ४३ विदेशी र ३ हजार ६ सय ७५ नेपाली गरी कूल ८ हजार ५ सय १८ जना पर्यटक विदेशिएका थिए ।

सवैभन्दा बढी मे महिनामा ५ सय ९० विदेशी र १ हजार ७९ नेपाली गरी कूल १ हजार ६ सय ६९ पर्यटक काँकरभिट्टा नाका भएर नेपाल घुम्न आएका छन् । जनवरीमा यो नाका भएर ८ सय २१ विदेशीसहित १ हजार १९ पर्यटकले नेपाल प्रवेश गरे पनि सेप्टम्वरसम्म आइपुग्दा त्यो संख्या घटेर ८ सय ५७ जनामा झरेको छ । त्यो महिना ५ सय २ विदेशी र ३ सय ५५ नेपाली गरी ८ सय ५७ पर्यटकले नेपाल घुम्न आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । बितेको नौ महिनामा सवैभन्दा कम पर्यटक पनि सेप्टम्बरमा नेपाल छिरेका छन् ।

खासगरी नेपालका हरेक संरचनाहरु र योजनाहरु पर्यटकमैत्री नहुनु र भ्रमण वर्ष २०२०(नेपाल टुरिजम इयर–२०२०) को प्रचारप्रसार समेत तीव्ररुपमा नभएका कारण पर्यटकको संख्या ओरालो लागेको झापा ट्राभल व्यवसायी संघ जिल्ला समितिका अध्यक्ष निरबहादुर कार्कीको भनाइ छ । अन्तर्राष्ट्रिय क्षेत्रमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ ।

हरेक महिना पर्यटकको संख्यामा कमी आउनुले सरकारले अघि सारेको सन् २०२०मा २० लाख पर्यटक नेपाल भित्रियाउने महत्वकांक्षी योजना पूरा नहुने व्यवसायीहरुको छ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२०लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०का) रुपमा मनाउने घोषणा गरेको भए पनि पूर्वी नाकाबाट अपेक्षित पर्यटक भित्रिरहेका छैनन् ।

फेव्रुअरीमा ५ सय ५९ विदेशी र ३ सय १० नेपाली गरी कूल ८ सय ६९, मार्चमा ८ सय २९ विदेशी र ४ सय १५ नेपाली गरी कूल १ हजार २ सय ४४, अप्रिलमा ८ सय ४६ विदेशी र २ सय ५१ नेपाली गरी कूल १ हजार ९७, जुन महिनामा ५ सय ६३ विदेशी र २ सय ५३ नेपाली गरी ८ सय १६, जुलाईमहिनामा ५ सय ४१ विदेशी तथा ३ सय ४१ नेपालीगरी ८ सय ८२, अगष्ट महिनामा ५ सय १३ विदेशी र ४ सय ६५ नेपाली गरी कूल ९ सय ७८ जना पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क कार्यालयसँग छ ।

कार्यालयका अनुसार सवैभन्दा बढी जुन महिनामा ५ सय ३७ विदेशी र १ हजार ८० नेपाली गरी कूल १ हजार ६ सय १७ जना पर्यटक नेपाल बाहिरिएका थिए । सवैभन्दा कम सेप्टम्वरमा ९ सय ७१ विदेशी तथा ९८ नेपालीसहित ५ सय ६९ पर्यटकले नेपाल छाडेको कार्यालयसँग तथ्याङ्क छ । जनवरीमा १ हजार ३ सय १०, फेव्रुअरीमा ७ सय १, मार्चमा १ हजार १ सय ७, अप्रिलमा ८ सय ८६, मे महिनामा ६ सय ८१, जुलाईमा ७ सय २४ अगष्टमा ९ सय २३ जना पर्यटकले काँकरभिट्टा नाका हुँदै विभिन्न देश प्रस्थान गरेका थिए ।

नेपाल प्रवेश गर्नका लागि भारतलगायत अन्य छिमेकी देशसँग जोडिएका सीमानाकाहरु विभिन्न ठाउँमा छन् तर नेपाल प्रवेशको पहिलो पूर्वीद्वार काँकरभिट्टा नाका निक्कै महत्वपूर्ण र संवेदशील रहेको ‘नेपाल पर्यटन वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समिति’ १ नम्बरका सदस्य उदयकुमार श्रेष्ठको भनाइ छ । यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायीहरुको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजीक्षेत्र यसको प्रचारप्रसारमा निक्कै लागीपरेको पर्यटन व्यवसायी एवम् झापा ट्राभल व्यवसायी संघ जिल्ला समितिका कोषाध्यक्ष पेमा तामाङको भनाइ छ । नेपार सरकारले पर्यटकहरुलाई आर्कषण गर्न सक्ने योजनाहरु अघि सार्नुपर्ने र हरेक क्षेत्र पर्यटकमैत्री बन्नुपर्नेमा उनको जोड छ ।

यो नाकाबाट भारत विहारबाट नभएर अमेरिका, वेलायत, जर्मनलगायतका नागरिकहरु प्रवेश गर्ने गर्दछन् । पर्यटनमार्फत आर्थिक समृद्धि हासिलको लक्ष्यमा यो अभियान निक्कै सार्थक बन्न सक्ने भएपनि पर्यटकको संखया क्रमशः कम हँुदै जानुले पक्कै पनि राम्रो सन्देश जाँदैन ।

सरकारले अघि सारेको ‘समृद्घ नेपाल सुखी नेपाली’ भन्ने सपना पुरा गर्न समेत भ्रमण बर्ष २०२० एउटा मेरुदण्डको रुपमा त रहला तर, नेपालका हरेक पूर्वाधार पर्यटक मैत्री बन्न जरुरी छ । यसका लागि सम्बन्धित निकायले वेलैमा ध्यान दिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here