वडाको सिफारिसमा ढुंगाना परिवार अदालत र प्रशासनमा

0
1013

बिर्तामोेड।

बिर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयको सिफारिसमा बिर्तामोडस्थित कन्काई एजुकेशन फाउण्डेशनका संस्थापक जयनारायण ढुङ्गाना परिवार न्यायका लागि अदालत पुगेका छन् ।

ढुंगाना परिवारले वडा कार्यालयको सिफारिस पत्रसहित अदालतमा फिराद पत्र दर्ता गरेको छ । उनीहरुले आफ्नो जीउ धानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा समेत निवेदन दर्ता गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बिर्तामोड–२ निवासी जयनारायणकी श्रीमती अञ्जनाकुमारी खड्का ढुङ्गानाले सुरक्षाको माग गरेकी हुन् । उनले गत असोज १० गते नै जीउधनको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएकी हुन् । तर, आफ्नो निवेदनको जिल्ला प्रशासन कार्यालय झापाले सुनुवाई नगरेको ढुङ्गाना परिवारको आरोप छ ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, छोरी रुची शिवाकोटी र बिर्तामोड–५ निवासी बिमलादेवी चौधरी समेतको नाम उल्लेख गर्दै आफ्नो १३ कठ्ठा जमिन हड्पेको र त्यसो नगर्न आग्रह गर्दा आफ्नो ज्यानमाथि नै धावा बोल्ने कार्य भएको भन्दै अञ्जनाले जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएकी हुन् ।

निवेदनमा भनिएको छ– म निवेदिकाको छोरी सञ्जना ढुङ्गानाको नामको कि.न. ५७४को ०–१५–१७ –१÷२ जग्गाको उत्तर तर्फबाट विपक्षीले जवरजस्ती रुपमा अन्दाजी १३ कठ्ठा जमिन कब्जा गरी सो जग्गामा भएको रुखविरुवाहरु आँप, कटहर, लिची, बकैना, कदम, नरिवल, सुपारी, रिठ्ठा, सिमल समेतका रुख बिरुवा कब्जा गरेको र जबरजस्ती असोज ९ गते विहान ७ बजेदेखि रुख काट्दै जग्गा कब्जा भएको छ । त्यसो नगर्न आग्रह गर्दा जीउ ज्यान माथि नै धावा बोल्दै खुन, खुडा हुने भन्दै धम्की दिएका छन् ।’

सँधियार नगरप्रमुख शिवाकोटीकी छोरी रुची शिवाकोटी र बिमलादेवी चौधरीको नामको जग्गामार्फत आफ्नो १३ कठ्ठा जमिन अतिक्रमण गरेको आरोप छ । सञ्जनाको बिर्तामोड–२ (साविक अनारमनी–९)को कित्ता नम्बर ५७४को जग्गा सँधियार शिवाकोटीले बलजफ्ती गरेर मिचेको सञ्जनाका बुबा जयनारायण ढुंगानाले बताए । ‘यसै वर्ष चार÷पाँच पटक नापिसकेको जग्गामा आफूखुशी पर्खाल लगाइएको छ’– उनले भने– ‘पर्खाल लगाउने कुरा थाहा पाएर धेरैपटक अनुरोध गर्दा पनि उनले (नगरप्रमुख शिवाकोटी) मान्नुभएन ।’

पीडित पक्षले वडा कार्यालय, नगरपालिकाको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । २०२१ सालको सर्वेनापी अनुसार जग्गा छुट्याइए आफूहरु मञ्जुर हुने ढुंगानाले बताए । ‘

यता नगरप्रमुख शिवाकोटीले जग्गा नाप्दा जयनारायण ढुङ्गानालाई पटक–पटक बोलाउँदा समेत नआउने र पछि मेयरले यसो गर्यो उसो गर्यो भन्दै हिँड्ने गरेको बताए । उनले ढुंगानाले उल्टै आफ्नो साढे तीन कठ्ठा जग्गा हड्पेको र २०२१ सालको बाटोमा समेत विरुवा रोपेको बताएका छन् ।

यसैबीच जीउधनको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा आफूले निवेदन दिएको र निवेदन उपर जिल्ला प्रहरी कार्यालय झापामा जिल्ला प्रशासन कार्यालयले पत्रचार गरेको, जिल्ला प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीलाई पत्राचार गरेको तर अनारमनीलाई पत्रचार गरेपनि अनारमनीले कुनै सुनुवाई नगरेको ढुङ्गाना परिवारको आरोप छ ।

ढुङ्गाना परिवारले बिर्तामोड न्यायिक समितिमा समेत निवेदन दिएको तर बिर्तामोड नगरपालिकाले वडा कार्यालयलाई विवाद मिलाउन भनेको वडाले अदालत पठाएको र आफूले कतैवाट न्याय नपाएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here