भद्रपुर।
केही समय अघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ ।
कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको प्रकोप, ज्ञान केन्द्रको प्राविधिक सहयोग, स्थानिय तहका कृषि प्राविधिक तथा जनप्रतिनिधिहरुको सक्रियतामा नियन्त्रणमा आएको हो ।
झापाको गौरादहको ५ र ६, गौरिगञ्जको १ र ५, झापाको ३, कन्काइको ५,कमलको २ तथा हल्दिबारीको ४ र ५ वडामा देखिएको फौजी किराको प्रकोप हाल नियन्त्रणमा आएको ज्ञान केन्द्रले जनाएको छ ।
झापा जिल्लाको कुल ८७ हजार ३ सय हेक्टरमा धान बालि लगाइएकोमा २ सय ८३ हेक्टरमा फौजी किराको प्रकोप देखिएको ज्ञान केन्द्र झापाका प्रमुख निल कमल सिंहले बताए ।
फौजी किराको प्रकोप हाल नियन्त्रणमा आए पनि बेलैमा सचेत नभए यस किराले फेरि पनि दुःख दिन सक्ने सिंहले बताए । सचेत रहन र धान बालीमा लाग्ने फौजी किराको आतंकबाट वच्न वेला वेलामा औषधि प्रयोग गर्न समेत सिंहले कृषकहरुलाई आग्रह गरे ।
उनले फौजी किरा नियन्त्रणमा आएको बताए पनि कसरी नियन्त्रणमा आएको भने खुलाएका छैनन् ।






























