मनलाग्दी दोहनले चुरे क्षेत्र जोखिममा, मासिँदै वन

0
1268

झापा।

झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिका–४ हल्लुडेकी माया पाख्रीनलाई कतिबेला पहिरोले घर नै सोहोर्ला भन्ने चिन्ताले सताइरहन्छ । घरबाट करिब एक सय मिटर पर एक वर्षअघि गएको पहिरो बढ्दै गइरहेको छ । माया जस्ता हजारौँ चुरे पहाड क्षेत्रका बासिन्दाको समस्या र त्रास उस्तै छ । कसैलाई पहिरोले घरै लगिदेला भन्ने त कसैलाई जमिन भाँसिएर बस्ती पुरिने डर छ ।

बर्खै पिच्छे उर्लिएर आउने खहरे खोलाको बिझाई त झनै भनी साध्य छैन । हिउँदमा समेत सुख्खा पहिरो खस्दा झापा र इलामको सिमावर्ती रोङको चुरे क्षेत्रका बासिन्दा दिनरात पिरोलिरहेका छन् । रोङ गाउँपालिकाका जम्मा छ वटा वडामध्ये प्रत्येक वडाको दक्षिणी भाग संवेदनशील चुरे क्षेत्रमा अवस्थित रहेको छ । टाङटिङ, विरीङ, टिमाई, निन्दा र मेची जस्ता ठूला–साना गरी करिब १० वटा उत्तरबाट दक्षिण बगेका नदीहरु रहेका छन् भने दर्जनौँ खहरेहरु रहेका छन् । यी नदीहरुकोे कटानका साथै छ वटै वडामा रहेको बस्ती र खेतीयोग्य जमिननै जोखिममा पार्ने ठूला–ठूला पहिरोहरु यस गाउँपालिकाभित्रकोे मुख्य प्राकृतिक समस्या रहँदै आएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले बताए ।

कच्ची चुरे क्षेत्रसग सम्बन्धित बिभिन्न समस्याबाट रोङका कयौं गाउँहरु प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । भू–क्षय, बाढी, पहिरो, खडेरी लगायतका समस्याबाट स्थानीय बरफल्याङ, झटारे, कागुने, बाहुनीखर्क, प्यूरे, बहुवन, पाटापुर, सलकपुर र रम्भ्याङ जस्ता गाउँहरु प्रभावित हँुदै आएका छन् । समथर डाडाँमा तराईको रुपमा रहेको बरफल्याङ गाउँको पूर्व–दक्षिण भागमा ठूला–ठूला पहिरोहरु रहेका छन् । यहाँको खरबनीमा पहिरोका कारण मात्रै १५ घर प्रत्यक्ष प्रभावित बनेका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भएको छ ।

त्यस्तै नजिकै बगैंचामा रहेको पहिरोका कारण धानखेत भासिएर पहिरो बन्नुका साथै छेउछाउका खेतीयोग्य जमिन समेत भासिने क्रममा रहेकाले बस्ती नै जोखिममा रहेका रोङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए । ‘बरफल्याङ वरिपरिका गाउँहरु असुरे, कुवापानी, दूधे लगायतका बस्तीका लगभग ७० घर भू–क्षयका कारण विस्थापित भइसकेका छन्’ –तामाङले भने– ‘असुरे, बगंैचा, दूधे, कुवापानी, झटारे, धर्मदलेमा हरेक वर्ष पहिरो जाने र गाउँ नै चर्किने, भासिने, खानेपानीको मुहान पुरिने लगायतका समस्या रहेको छ ।’ उनका अनुसार शान्तिपुरको तल्लो क्षेत्रमा मात्रै यस्ता प्रत्यक्ष असर गर्दै आएको दर्जनौं पहिरोहरु रहेका छन् । स्थानीय धोजे पहिरोले ठुटे गाउँ जोखिममा मात्र छैन हरेक बर्ष भासिने क्रममा छ ।

रोङ–१ को बडहरेबारीको पहिरो हरेकसाल बढ्दै छ । यही पहिरो ठूलो हुँदै जाँदा नजिकैको कागुने गाउँ हरेकसाल भासिदै आएको स्थानीयको अनुभव रहेको छ । पहिरोका कारण गाउँका अधिकांश घरभित्रको जमिनमा समेत धाँजा फाटेर चिरिएको रोङ–१ का जनप्रतिनिधि महानन्द अधिकारीले बताए । वडा नम्बर ४ बाहुनी खर्कको कमेरे भिर, सेती पहिरो र ओडारे पहिरोका कारण हरेकसाल बिभिन्न बिपत्ति निम्तिदै आएको स्थानीयबासी बताउँछन् । त्यसैगरी रोङ गाउँपालिकाको वडानम्बर ४ र ५ हुँदै बग्ने टिमाई खोलाका कारण तल्लो प्युरे गाउँ नै जोखिममा छ । गाउँबाट टिमाई खोलासम्म झरेको रोङ गाउँपालिकाकै सबैभन्दा ठूलो प्युरेको पहिरोका कारण ३० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् ।

खोलामा बाढी आएसँगै पहिरोको फेद कटानमा पर्ने र त्यसपछि पहिरो जाने गरेको छ । यो पहिरोको रोकथामका लागि आवश्यक पहल नगर्ने हो भने पिउरे गाउँको अस्तित्व नै जोखिममा पर्नसक्ने खतरा रहदै आएको छ । यो खोला रोङको अन्य खोलाभन्दा धेरै गहिरो भागबाट बग्ने गरेको छ भने यसका कारण खोलाको दुवैतर्फको किनारामा बिशाल भिरहरु बनेका छन् ।

अझ बिरिङको बाढीले चुरेको तल्लोक्षेत्रमा रहेको झापाको बिभिन्न मानवबस्ती र खेतीयोग्य जमिन क्षय हँुदै आएको छ । यसका मुख्य शाखाहरु सानो नेते र ठूलो नेतेको समेत उद्गमस्थल रोङ गाउँपालिकाभित्रै पर्ने भएकाले यी खोलहरुले समेत झटारे, खैरेनी, फर्सीबारी लगायतका स्थानमा कटान गरी खेतीयोग्य जमीन बगाउँदै आएका छन् भने पिउनेपानीको स्रोत पुर्दै आएको छ । बिरीङ नदी नियन्त्रणका लागि यसको प्रत्यक्ष प्रभाबित क्षेत्रमा मात्र केन्द्रित हँुदा समस्या समाधान हुन नसकेको स्थानीय राजकुमार राईको अनुभव छ ।

रोङ गाउँपालिका वडा नम्बर ५ बाट बग्ने सुके निन्दा खोलाले हरेक बर्षामा बहुनवन, बेसिबजार क्षेत्रको सयांै बिगाह जमिन बगरमा परिणत गर्ने गरेको छ । सूर्योदय नगरपालिकाबाट वडा नम्बर ६ हुँदै बग्ने सिद्धि खोला पनि पछिल्लो समय रोङबासीको दुःखको रुपमा थपिएको छ । रोङको पूर्वी सीमानाको मेची र सिद्धी नदीको संगम स्थलभन्दा केहीमाथि रम्याङका स्थानीय बासिन्दा तीन बर्षबाट सिद्धिखोलाका कारण बेचैन छन् । रम्याङ पुछारबाट शुरु भएको पहिरो सिद्धी खोलासम्म पुगेपछि यहाँका १० घर विस्तापित भएका छन् । यो पहिरोको माथिल्लो भागमा रहेको खेतीयोग्य जमिन बर्षेनि भासिदै आएको र बस्ती नै बग्ने त्रास भएको स्थानीय शिक्षक गोविन्द पौडेलले बताए ।

नेपालकै पूर्वी सीमामा रहेको मेची नदीले समेत रोङ गाउँपालिका वडा नम्बर ६ मा कटान गर्ने गरेको छ । नदीको धार परिवर्तन हँुदा सलकपुर, पाटापुर, दूधेचौरीे लगायतका गाउँका तल्लो भाग कटानमा पर्दै आएका छन् । वडा नम्बर ६ कै धजे पहिरोले सलकपुर र रम्याङ दुबै गाउँलाई अफठ्यारोमा पार्दैछ । दशकौंअघि शुरु भएको यो पहिरोले आज पर्यान्त स्थानीयलाई सास्ति दिँदै आएको छ । सलकपूर पुछारमा रहेको शंखे पहिरो र सिद्धिखोलाको कटानका कारण पर्यटकीय गाउँ सलकपुरमा बिभिन्न प्राकृतिक बिपत्ति समेत निम्तिदै आएको सलकपुरका कुमार मोक्तानले बताए ।

देशब्यापी रुपमा रहेको चुरे क्षेत्रको समस्या समाधान र चुरे क्षेत्र जोगाउनका लागि सरकारले समेत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तर्जुमा गरी लागू गर्दै आएको छ । तर, यो कार्यक्रमले रोङका प्रभावित स्थानहरुलाई भने छुन नसकेको गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बताए । ‘चुरे क्षेत्र बचाउन तराईका नदीमा बाँध बाँध्नेभन्दा पनि समस्याको उत्गमस्थलमै चुरे क्षेत्रकै संरक्षण गर्न आवश्यक देखिएको छ’ –राईले भने ।

के हो चुरे क्षेत्र ?

पूर्वमा भारतको ब्रम्हापुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू–परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड श्रृंखला हो ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लाहरुमा फैलिएको र कूल भू–भागको १२.७ ८ प्रतिशत जमिन चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ ।

सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरेको यही समवेदनशिलताका कारण यस क्षेत्रका बासिन्दाले वर्षेनि बिभिन्न किसिमका प्राकृतिक बिपत्ति व्यहोर्दै आएका छन् ।

देशका चुरे क्षेत्रमा रहेका अन्य जिल्ला जस्तै इलाम जिल्ला पनि चुरेमा पर्दै आएको प्राकृतिक प्रकोपबाट अछुतो छैन । इलामको कूल क्षेत्रफल मध्ये ३८ हजार नौ सय ८२ दशमलव २० हेक्टर जमिन चुरे क्षेत्रमा रहेको छ भने लगभग त्यसको एकतिहाई भू–भाग रोङ गाउँपालिकाले ओगटेको छ ।

साबिकका चार गाबिसहरु शान्तिपुर कोल्बुङ, इरौटार र जिर्मले मिलेर बनेको यस गाउँपालिकाको कूल गरेर १५ हजार पाँच सय छ हेक्टर क्षेत्रफल रहेको छ भने यसमध्ये चार हजार पाँच सय ४२ दशमलव दुई हेक्टर जमिन चुरे क्षेत्रमा अवस्थित रहेको छ । यही संवेदनशील भू–खण्डमा बस्दै आएका रोङबासीले हरेक वर्ष बिभिन्न किसिमका प्राकृतिक बिपत्ति व्यहोर्दै आएका छन् । खेतीकिसानी र पशुपालनलाई नै मुख्य पेशाका रुपमा अँगालेका यस क्षेत्रका बासिन्दाले बाढी, पहिरोलगायतका प्राकृतिक बिपत्तिको सामना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here