सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा सरकारले घोषणा गरेको नेपाल टुरिजम इयर–२०२० पूरा गर्न अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ । देशको आम्दानी गतिलो आधार हो पर्यटन व्यवसाय । जति धेरै विदेशी पहुनाहरु देशमा आउँछन् त्यति नै राष्ट्रिय आयमा योगदान पुग्ने विश्वास गरिन्छ । यसका लागि सरकारको नीति र नेपालीको व्यवहार पर्यटकमैत्री हुनुपर्छ । हाम्रा प्राकृतिक सामाजिक तथा सांस्कृतिक सम्पदाहरु पर्यटकहरुको मन लोभ्याउन पूर्ण छन् । त्यसलाई अझ व्यापक बनाउने हो भने विगतमा भएको पर्यटकहरुको संख्या बढ्न सक्छ ।
भूपरीवेष्टित भएका कारण हाम्रा पर्यटकहरु स्थलमार्ग भएर पनि आउँछन् । भारतसँग सीमा जोडिएका नाकाहरुबाट नेपाल आउने पर्यटकहरुको संख्या अधिक छ । ती नाकाहरु मध्ये पूर्वी नेपालको झापा जिल्लास्थित काँकरभिट्टाबाट आउने पर्यटकहरुलाई लक्षित गरी अध्यागमन र पर्यटन कार्यालय स्थापना गरिएका छन् । तिनले सो नाकाबाट भित्रिने पर्यटकहरुको संख्या प्रत्येक महिना घट्दै गएको देखाएका छन् । भारत लगायतका मुलुकहरुबाट पूर्वीनाका हुँदै प्रवेश गर्ने पर्यटकहरु घट्दै गएको तथ्यले सरकारको भ्रमण वर्ष २०२० को सपना धुमिल हुने संकेत गरेको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाले सन् २०१९ को जनवरीदेखिको नौ महिनाको अवधिमा कूल नौ हजार चार सय एकतीस जना पर्यटक नेपाल भित्रिएको जनाएको छ । त्यसमा पनि प्रत्येक महिना पर्यटकहरुको संख्या कम हुँदै गएको छ । अब भ्रमण वर्ष शुरु हुन झण्डै अढाई महिना मात्र बाँकी छ । यस्तो तथ्यांकले ‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने भनाइ जस्तै भ्रमण वर्षको नारा नारामै सीमित बन्ने सम्भावना बढाएको छ । अतिथिलाई देवता मान्ने सनातनी मान्यताबाट आजका मान्छे विश्रृंखलित हुँदैछ । सरकार घोषणा गर्ने तर भौतिक संरचना, पूर्वाधार तथा पर्यटकमैत्री नीति, निर्माण गर्न क्रियाशील नहुने कारणले घोषणा सार्थक नहुने संकेत गरेको हो ।
देशका अन्य नाकाहरुको तुलनामा बढी संवेदनशील, महत्वपूर्ण र आगमनका दृष्टिले चर्चामा रहेको काँकरभिट्टा भएर स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पाहुनाहरुलाई उचित सेवा, सुविधा, सम्मान र सत्कार दिन नसक्दा घट्नेक्रम बढेको पर्यटन व्यवसायीहरुको गुनासो छ । यसका लागि सरकारले पर्यटकमैत्री नीति, निर्माण गर्नुका साथै भ्रमण वर्षको प्रचार–प्रसार गर्न ढिला गर्नु हुँदैन । पर्यटकसँग सम्बन्धित संरचनाहरु पर्यटकमैत्री बनाइनुपर्ने व्यवसायीहरुको भनाइ छ । भ्रमण वर्ष भन्ने नाराले मात्र विदेशमा नेपालको प्रचार नहुने भएकाले बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेखालको नीति, योजना र कार्यक्रम ल्याउनु पर्दछ । अब थोरै समयमात्र बाँकी छ, त्यसैले सरकारले युद्धस्तरमा काम गरेर नेपाल घुम्न चाहने पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम अघि सार्नु पर्छ । अन्यथा बीस लाख पर्यटक भित्र्याउने सरकारको सपना र नारा ‘खोला किनारमा गाएको गीत’ सरह हुनेछ ।


























