बिर्तामोड।

नेपाल जलवायु परिर्वतनको उच्च जोखिममा रहेको भन्दै विश्वका विभिन्न मुलुकहरुले चिन्ता ब्यक्त गरेका छन् । बढ्दो जलवायु परिर्वतनका कारण नेपालको प्राकृतिक सुन्दरतामा असर पर्न थालेको विज्ञहरुको भनाई छ ।
संयुक्त राष्ट्रसंघले थाइल्याण्डको नाख्यान नायक भन्ने स्थानमा गरेको कार्यक्रममा विश्वका एक १३ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको थियो । चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै झापाका युवा क्षतिज प्रसाईसहित ९ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा वातावरण संरक्षणको विषयमा कुन देशको अवस्था कस्तो र के काम भइरहेको छ भन्ने विषयमा सहभागिहरुले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
नेपाल वातावरणको उच्च जोखिममा रहेको प्रसाईले बताए । उनले वातावरण संरक्षण गर्न विश्वका विभिन्न मुलुकले लाखौं रुपैंया छुट्याए पनि नेपालले भने वातावरण संरक्षणमा खासै चासो नदिएको उल्लेख गरे । १८ वर्षदेखि २५ वर्षउमेर समुहका युवाहरुको सम्मेलनले विश्व वातारण संरक्षणको क्षेत्रमा आ–आफ्नो देशमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति भएको प्रसाईले जानकारी दिए ।
यसैबीच बढ्दो हरितगृह ग्यासको कारण सूर्यबाट आएको ताप आवश्यक भन्दा बढी मात्रामा सोस्छ । जसको कारणले ग्लोबल वार्मिग र जलवायु परिवर्तन हुन्छ । ग्लोवल वार्मिग भन्नाले पृथ्वीको तापक्रम बढनु भएको वातावरण संरक्षणको क्षेत्रमा लामो समयदेखि कृयाशिल रहेका मज्जित ढकालको भनाई छ ।
जलवायु परिवर्तन सिद्धान्तमा मात्र नभई यथार्थमा भइरहेका यथेष्ट प्रमाणहरु भएको भन्दै उनले बढदो तापक्रम, घट्दो हिमक्षेत्र, बर्षाको कमी, भारी बर्षा र समयमा आएको परिवर्तन,समुन्द्री सतह बढ्नु आदि यसका ज्वलन्त उदाहरणहरु भएको उल्लेख गरे ।
जलवायु परिवर्तनको विषयले विश्वमा अधिक चर्चा कमाए पनि ठोस रुपमा काम हुन नसकेको उनको भनाई छ । सन १९७० देखि निरन्तर रुपमा पृथ्वीको तापक्रम बृद्धि भएको अध्ययनहरुले देखाएका छन् ।
कार्वनडाईअक्साइड, मिथेन, नाईटोजन अक्साईड, क्लोरोफ्लोरो कार्बन आदि ग्यासहरुको मात्रा बढनुको मुख्य कारण मानवीय क्रियाकलाप नै भएको ढकालले बताए । बढ्दो औद्योगीकिकरण, बन फडानी, अब्यबस्थित बसोबास, शहरीकरण, प्रदूषण आदि कारणहरुले हरितगृह ग्यासको मात्रा बढ्ने र बढन मद्दत पु¥याएको बताइएको छ ।
अध्ययन अनुसार नेपालको तापक्रम ०.६ डिग्री सेल्सियस प्रति दशकले बढेको पाईन्छ । तराई भन्दा माथिल्लो (हिमाली) भेगमा बढी मात्रामा तापक्रम बृद्धि भएको पाईन्छ । अध्ययन अनुसार बढ्दो तापक्रमका कारण वर्षा १३ मि.मि. प्रति वर्षले बढेको र बर्षाका दिन ०.८ दिनले घटेको पाइएको छ । जलवाय परिर्वतकै कारण जलश्रोत, स्वास्थ्य, कृषि, जैविक विविधता, खाद्य सुरक्षा, प्राकृतिक प्रकोप आदीमा परिर्वतन आएको ढकालले बताए ।
बढ्दो तापक्रकै कारण हिमतालहरु फुट्ने खतरा बढेको पाइएको छ । नेपालमा करिब २३२३ वटा हिमतालहरु रहेका छन् । जसमा २० वटा फुट्ने अवस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । जलवायु परिवर्तनले बाढीपहिरो, नदी कटान, खडेरी जस्ता प्राकृतिक प्रकोपहरुको घटनाहरु बढाई रहेका छन् । तापक्रम बृद्धि, बर्षामा परिवर्तनको कारणले गर्दा मलेरिया, जापनिज इन्सेफ्लाइटिक्स, कालजार जस्ता रोगहरुको संक्रमण बढेर गएको वातावरण विद्हरुको भनाई छ ।
वातावरण संरक्षण गर्न युवाको सचेतना
वातावरण संरक्षण गर्न भन्दै झापाली युवाहरु एक भएर लागेका छन् । वातारण संरक्षणको क्षेत्रमा सामाजिक परिर्वतनका लागि उर्जा शिल युवा(वाईएसटी) ग्रुपले विभिन्न सचेतना मुलक कार्यक्रम शुरु गरेको छ ।
ग्रुपका अध्यक्ष क्षतिज प्रसाईले वातावरण संरक्षण नगर्ने हो भने नेपालले ठूलो संकटको समाना गर्नुपर्ने बताए । उनले हामीले सानो गल्तिका कारण पनि विभिन्न क्षेत्रमा ठूलो असर परिरहेको हुन सक्ने भन्दै सचेत बन्नु पर्ने उल्लेख गरे । चाडपर्व नजिकिएसंगै वारुद जन्य वस्तु नपड्काउन भन्दै प्रसाईले यसले वातावरणको सन्तुलन बिर्गान सक्ने तर्फ सचेत हुनुपर्ने उल्लेख गरे ।

उनले खुशीयाली मनाउन पड्काइने एउटा पटकले पनि वातावरणको सन्तुलन विर्गान ठूलो मद्धत पुग्ने भएकाले कसैलाई पटक नपड्काउन प्रसाईले आग्रह गरे । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागि भएपछि नेपालको अवस्थाको बारेमा थाहा भएको भन्दै प्रसाईले झापासहित देशभरको वातावरण संरक्षणका लागि सबैलाई एकजुट हुन आह्वान गरे । आफ्नो संस्थाले स्थानीय तह, विभिन्न संघ–संस्था,युवा समुह लगायत सबैलाई वातावरण संरक्षणमा हातेमालो गर्न आग्रह गरे ।
यसैबीच (वाईएसटी) ग्रुपले विर्तामोडमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले अब घरदैलो अभियान मार्फत पटक पड्काउदा वातावरणमा पर्ने असरको वारेमा सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष प्रसाईले जानकारी दिए ।































