नेपालीमा अव्वल भएर अंग्रेजीमा गयौं ?

0
534

पूर्णबहादुर कटुवाल,

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको चिन्ता सर्वत्र देखिएको छ । अनि भोगिँदै पनि छ । किन राम्रो गर्न सकिएन भन्ने प्रश्न शैक्षिक बृत्तको टाउको दुखाईको विषय बनेको छ । अभिभावक पनि अलमलमा नै छन् । सामुदायिकभन्दा संस्थागत नै राम्रो भन्दै महंगो शुल्क तिरेर संस्थागततिर आफ्ना बालबच्चालाई पढाई रहेका छन् । यसो हुनु र गरिनु बाध्यता रहेको कतिपय अभिभावकको बुझाई रहेको छ ।

सामुदायिकमा अंग्रेजी नै पढाई हुँदैन भनेर अंग्रेजी मोहले संस्थागततिर बिद्यार्थी पढाउने मोह एकातिर देखियो भने सामुदायिकभन्दा संस्थागतमा बढी नियमितता, जिम्मेवारीपन र गुणस्तरीय शिक्षा भएकोले आकर्षण बढेको अर्को थरी अभिभावकको बुझाई रहेको देखिन्छ ।

तर, सामुदायिक र संस्थागतमा भाषाकै फरकपनले, नियमितता, आचारण र गुणस्तरीयताकै कारणले रोजाई र बुझाई फरक भएको हो ? कुरोको चुरोमा हामी कोही पुग्न सकेनौं । गुणस्तर रोज्ने अभिभावक पनि गहिराईमा पुग्न सकेनौं । अनि सामुदायिकको गुणस्तर खस्क्यो र विद्यार्थी संख्या घट्यो भनेर अंग्रेजी माध्यमको पठनपाठन रोेज्नेहरु पनि रणभुल्लमा नै रह्यौं । देखिएको कुरा के हो भने सामुदायिकमा विद्यार्थी टिकाउन विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने केही विद्यालय र यसका सरोकारवालाहरुको सपना पनि २,४ वर्षको अनुभवमै चिन्ताको विषय वन्दै गएको छ ।

यता झापाको सन्दर्भमा हेर्ने हो भने सामुदायिकमा विद्यार्थी टिकाउन विद्यालयमा अंग्रेजी माध्यमको शिक्षण शुरु गरेका छन् । तर, अधिकांश विद्यालयको गुणस्तर अंग्रेजी भएकै कारणले पनि सन्तोषजनक देखिएको छैन । केही सामुदायिक अंग्रेजी माध्यमको कारणले राम्रो देखिए पनि बालकक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यम नै बनाइएका विद्यालय न्यून छन् । माथिल्लो कक्षाबाट विद्यार्थी छनौट गरी भर्ना गराइएका विद्यार्थीको नतिजा नै अपेक्षित राम्रो देखिएको छ । बुझाई, सोचाई, गराई र वातावरणीय तादात्म्य नभएर नै शिक्षा कमजोर भएको होइन भन्ने सवालमा सरोकारवालाले बुझ्न नसकेको प्रष्टै छ । हामी विग्रियौं, हामीलाई विगार्यो हाम्रो शैक्षिक रणनीतिले, जब कि अंग्रेजी भाषालाई सर्वेसर्वा ठान्यौं ।

संस्थागत यानेकी बोर्डिङ भन्ने बित्तिकै अंग्रेजी नै जीवन ठान्ने प्रवृत्ति रह्यो आम अभिभावकमा । अंग्रेजी विना विश्वमै विकिँदैन भन्ने मानसिकता हावी भइदियो । हामीले यो बुझाई–बुझ्न जरुरी छ कि अहिले सामुदायिक होस् वा संस्थागतबाट, स्नातक तहमा पुगेको विद्यार्थीले नेपाली भाषा राम्ररी लेख्न र उच्चारण गर्न सक्दैन । ठ्याक्कै यति न त नभनौं, तर ६० प्रतिशत भन्दा बढी नेपाली भाषी स्नातक विद्यार्थी मुल विषय नेपाली नै अध्ययन गरेको भए पनि त्यही विषयमा कसरी कमजोर भयो ? यही हो नेपालीमा अव्वल ? सामान्यतयः नेपाली लेखनमा अक्षरको बनोट, हिज्जे, ह्रश्वदीर्घ र व्याकरणमा नै अत्यन्त कमजोर कसरी भयो स्नातकको विद्यार्थी ? के अंग्रेजी मात्र पढेर वा अंग्रेजी माध्यमबाट नपढेरै हो ? चिन्ताको विषय हो यो । यस कुराको पुष्टि हामीले हाम्रै परिवारका धेरै जसो स्नातक परिवारवाट पनि प्रष्ट बुझ्न सक्छौं टाढा जानै पर्दैन ।

त्यसो भए सामुदायिक विद्यालय, आम नागरिकले बुझ्ने भाषामा ‘नेपाली स्कूल’ मा पढेको विद्यार्थी नेपालीमा अव्वल हुनुपर्ने होइन र ? हामी शिक्षासंग प्रत्यक्ष जोडिएका शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने अभिभावकहरु छौं भने कक्षा १० मै पढ्ने विद्यार्थीको नेपाली विषयको सर्वपक्षीय ज्ञान (त्यस तहमा प्राप्त गर्नुपर्ने विषयगत ज्ञान र उपलव्धि, उद्देश्य) कति छ भनेर मापन गर्न सक्छौं । निश्चय नै नेपालीमै कमजोर रहेको पाउँछौं । खै त, त्यसो भए नेपाली स्कूलमा नेपाली विषयमा अव्वल भएर अंग्रेजीमा मात्र कमजोर हुनुपर्ने थियो नि किन भएन ? सामाजिक वा विज्ञान वा गणित विषयमा कमजोर भएको हो ? उसले थोरै जीपीए प्राप्त गर्नुमा भाषिक अन्तर नै कारण होला त ?

दश वर्षसम्म हाम्रा विद्यार्थीले सामुदायिकमा नेपाली माध्यमवाटै पढे, शिक्षकले पढायौं तर नतिजा देख्यौं नि ? के सन्तोषजनक रह्यो त ? पक्कै औषत नतिजा पनि आउन सकेन । हो, अब गुणस्तरलाई केमा र कसरी मापन गरौं ? सिकाईमा अंग्रेजी माध्यम नै नभएर वा भएर यति ठूलो फरक भयो ? त्यसैले हामीले अंग्रेजी माध्यमको शिक्षण शुरु गरेका छौं ? सामुदायिकतिर किन यति धेरै वितृष्णा बढ्यो ? संस्थागतमा अंग्रेजी भएर नै सवै बिद्यार्थी अव्वल भए ? अब शिक्षाका सरोकारवाला पक्षले गम्भीरताकासाथ सोच्नैपर्छ । बिद्यार्थीको आकर्षण बढाउन कनिकुथि सामुदायिकमा शुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनले कति गुणस्तर अभिवृद्धि गर्ला ? गरिरहेको छ ? एकपटक सवैले सोच्ने हो कि ?

के हाम्रो शैक्षिक नीति मै कमजोरी त छैन ? वा सामुदायिकले संस्थागतको जस्तो नियमितता र लगनशीलताको वातावरण दिन सकेनन् ? हुने खानेले मात्र होइन हुँदा खानेले समेत किन बालबालिकालाई संस्थागततिर लखेट्दैछन् ? यी दुई किसिमका संस्थाबीच एउटै पाठ्यक्रम भए पनि भाषागत उल्झन स्वरुप पाठ्यपुस्तक किन अन्तर गर्यौं ? जहाँ दुईथरीका विद्यार्थीबीच नै मनोवैज्ञानिक असर पार्ने काम हामीले गर्दैछौं ।

राज्यले शैक्षिक गुणस्तरका कुरा गर्नु वेकार छ । संस्थागत र सामुदायिकवीच गुणस्तरको खाडल फराकिलो पार्ने काम पनि राज्यले नै गरेको छ । अव सामुदायिक विद्यालयको कमजोरी होइन, गुणस्तर विग्रिने कुरामा राज्यले नै जिम्मेवारी लिनुपर्छ । सामुदायिकमा अध्ययन गर्नेले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम र यसको आधारमा जनक शिक्षाले प्रकाशन गरेको नेपाली भाषाका सीमित पाठ्यपुस्तक पढ्नुपर्ने वाध्यता छ । उता त्यही पाठ्यक्रमको आधारमा निजी प्रकाशनद्वारा प्रकाशित रंगीविरंगी पाठ्यपुस्तक पठनपाठन गराइन्छ संस्थागतमा । यतिमात्र होइन कतिपय संस्थागतले त विदेशी पाठ्यक्रमका पाठ्यपुस्तक समेत निर्वाध रुपमा अध्यापन गराइरहेको छन् ।

सही तरिकाले गुणस्तर र उपलव्धि हासिल गर्नुछ र एकरुपता ल्याउनुछ भने सवै विद्यालयको पाठ्यपुस्तकमा एकरुपता ल्याउनु जरुरी छ । नेपालको विशिष्टता र पहिचानलाई अक्षुण्ण राख्न नेपाली भाषालाई पठनपाठनको अनिवार्य माध्यम बनाउन आवश्यक छ । अंग्रेजी लगायतका विषयलाई ऐच्छिक विषयका रुपमा अध्यापन गराउन सकिँदैन र ? अंग्रजी भाषालाई मातृभाषा मान्ने वाहेक विश्वका जति पनि विकसित मुलुक छन्, त्यहाँ आफ्नै मातृभाषामा दक्ष जनशक्ति उत्पादन गरिएको छैन र ? हामीले देखेका छौं र देख्यौं पनि विश्वका प्रतिष्ठित व्यक्ति पनि देश–देशान्तर गर्दा आफ्नै मातृभाषा नै प्रयोग गरिरहेका छन् ।

विश्वमै उनीहरुको प्रतिष्ठा छ, अनि विकाशको चरमचुलीमा पनि पुगेका छन् । आखिर अंग्रेजी मोहले मात्र यति भएको हो कि शिक्षामा नैतिकता र व्यवसायिकताको पाठ सिकाइनुपर्दो रहेछ ? भाषा नै विकासको पर्याय हो ? राष्ट्रिय भाषालाई कमजोर बनाएर विदेशी भाषाको शिक्षा आर्जन गर्ने अस्वस्थ प्रतिष्पर्धा र शिक्षामा भाषाको माध्यमलाई वहाना बनाएर गरिने व्यापारिक शिक्षाले समृद्ध समाजको परिकल्पना असम्भव छ । गुणस्तरीय शिक्षाको लाािग राष्ट्रिय भाषाको माध्यमवाटै पनि प्रगति सम्भव छ, यदि हामीमा नैतिकता, नियमितता र राष्ट्रियता छ भने । तर, नेपाली भाषामा हामी अव्वल भएर नै अंग्रेजी मोहतिर निश्चय नै लागेको होइन । यो मोहले मात्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here