सुरुङ्गा । 
झापाको कनकाई नगरपालिका–१ मा नयाँ प्रविधिको बायोग्याँसको एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका वीच उक्त बायोग्याँस प्लाण्टको शुरुवात गरेका हुन् ।
मेयर पोखरेलले खाना पकाउने एलपी ग्यासको सट्टा गोवर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् । एलपी ग्यास भन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै उनले नगरवासीलाई बायो ग्याँस प्रयोग गर्न आग्रह गरेका हुन् ।
नयाँ प्रविधिको बायोग्याँस जडानका लागि आवश्यक लागतको केही हिस्सा नगरपालिकाले सहयोग गर्ने उनले वचन दिए र यसका लागि प्रस्ताव नगर कार्यपालिकामा लैजाने उनले प्रतिबद्धता जनाए । सो अवसरमा मेयर पोखरेलले आफ्नो घरमा पनि उक्त होम बायोग्याँस जडान गर्ने बताएका थिए ।
सञ्चारकर्मी समेत रहेका चन्द्र बस्नेतको घरमा उक्त नयाँ प्रविधिको बायोग्याँस प्लाण्टको जडान गरिएको हो । उद्घाटनको अवसरमा उपस्थित वार्ड अध्यक्षहरु रोशनराज पोखरेल, रुद्रप्रसाद चिमरिया, लक्ष्मीप्रसाद ओली, सूर्य कन्दङवाले नगरवासीलाई यस प्रकारको वैकल्पिक ऊर्जा जडानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसै गरी, जामुनावारी वन समूहका अध्यक्ष खेमराज सिटौला, प्रजापति वन समूहका अध्यक्ष सूर्यकुमार थापाले वामा निर्भरता कम गराउने नवीन प्रविधिको बायोग्याँस सञ्चालनका लागि नगरपालिका र वार्ड कार्यालयसँग संयुक्त छलफल गरी प्रबद्र्धनमा सहयोग पु¥याउने आश्वासन दिएका छन् ।

नेपाल वायो ग्याँस प्रवद्र्धन संघ प्रदेश नम्वर १ अन्तर्गत कञ्चनजंघा गोरग्याँ कम्पनीले कनकाई नगरपालिकामा पहिलो पटक इजरायली मोडलको वायो ग्यास जडान शुरु गरेको हो । कार्यक्रममा होम बायोग्याँस प्रविधिका विक्रीवितरण विभागका विश्व उपाध्यक्ष इजरायली नागरिक लियोर मागल, सो प्रविधिका नेपाल निर्देशक विकास अधिकारी, बायोग्याँस इञ्जिनियर बासु गौतम, ऊर्जा विज्ञ महेश आचार्य लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल वायो ग्याँस प्रवद्र्धन संघ प्रदेश नम्वर १ का सचिव सन्तोष उप्रेतीले विशेष कुकिङ स्टोभसहित २० हजार रुपैयाँको लागतमा बन्ने ७ घनमिटरको प्लाण्टबाट उत्पादित ग्याँसले ९ जना परिवारलाई पुग्ने बताए । अब निकट भविष्यमा ५ घनमिटर र २ घनमिटरका ग्याँस प्लाण्ट पनि बनाइने बताइएको छ । कार्यक्रम नेपाल वायो ग्याँस प्रवद्र्धन संघ प्रदेश नम्वर १ का अध्यक्ष शान्तिराम बराल (रुपेश) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
के हो नवीन होम बायोग्याँस प्रविधि ?
यो गोबरग्याँस प्रविधिको विकसित रुप हो । खाडल खन्नु नपर्ने, २ घण्टामा जडान गर्न सकिने, जडानका लागि गिटीबालुवा नचाहिने, शुद्ध मिथेन ग्याँस उत्पादन हुने, १५ वर्षसम्म टिकाउ हुने यसका विशेषताहरु हुन् ।
मुसाले नकाट्ने, घामपानीले असर नपु¥याउने विशेष सिन्थेटिक धोक्रोलाई सम्म ठाउँमा राख्न सकिने हुन्छ । दैनिक ५ घण्टा सञ्चालन गर्न सकिने सो प्रविधि इजरायलबाट केही महिना अघि मात्र नेपालमा ल्याइएको हो । सन् २०१२ मा यो प्रविधिको अवधारणा विकास भए पनि २०१५ मा मात्र यो प्रविधिको शुरुवात भएको हो ।
इजरायली ऊर्जा विज्ञहरु ओसिक एफ्राती, याइर टेलर र एरेज लान्जेरले बायोग्याँस प्रविधिलाई आधुनिकीकरण गर्ने क्रममा उपयोगी, मितव्ययी, वातावरणमैत्री यो होम बायोग्याँस प्रविधिको आविष्कार गरेका हुन् । हाल यो संसारका १ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।
यसमा गोबर बाहेक भान्साघरमा उत्पन्न जैविक फोहोर पनि प्रयोगमा ल्याउन सकिन्छ । यो प्रविधिले उपभोक्ता कृषकलाई अन्य ग्याँसको तुलनामा विशेष फाइदा पुग्ने देखिन्छ ।





























