बिर्तामोड।
नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) बिर्तामोड–१० सैनिकबजार कार्यालयको आयोजनामा एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
एनएमसीको विषयमा जानकारी गराई संस्थामा आबद्ध सदस्यको कर्तव्य र भूमिकाबारे प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
सैनिक बजार कार्यालय अन्तर्गत एकाई नम्बर १ का उपस्थित सम्पूर्ण शेयर सदस्यहरुको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयगत उपसमिति सदस्य गंगाप्रसाद मैनालीले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।
संस्थाका एक सयभन्दा बढी शेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा चन्द्रगढी कार्यालयगत उपसमिति संयोजक प्रशिक्षक यामनाथ शिवाकोटीले सहजीकरण गरेका थिए । उनले एनएमसीको सांगठनिक संरचना, यसका नीति तथा कार्यक्रम, सेवा सुविधा, क्षेत्राधिकार आदिबारे जानकारी गराउनुको साथै असल संस्कार र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाको कार्यालयगत उपसमिति सदस्य टीकाराम दंगाल, एकाई समिति संयोजक रत्नबहादुर बस्नेत, सदस्यहरु प्रेमबहादुर पौडेल, कल्पना श्रेष्ठ, मनमाया लिम्बू लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट खुबराज भट्टराई र कल्पना बस्नेतले तालिमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए । संस्थाका सैनिकबजार कार्यालय प्रमुख सुमन पोखरेलले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन पवन खतिवडाले गरेको पवन मैनालीले जानकारी दिए ।































