अझै व्यवस्थापन भएन बिर्तामोडको फोहर

0
1259

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापन गर्ने भनेको बर्षाैं भयो । साविक अनारमनी गाविस हुँदादेखि नै बिर्तामोडको प्रमुख समस्या भनेकै फोहोर व्यवस्थापन थियो ।

फोहर व्यवस्थापनका लागि यस अघि पनि पटक–पटक पहल नभएको भने होइन । तर, यस विषयमा दीर्घकालीन निकास निकाल्न नसक्दा बिर्तामोडको समस्या बर्षाैदेखि ज्यूँकात्यूँ छ । हिजो गाविस हुँदा गाविस र नगर हुँदा नगरले गरेन भन्नेहरु नै स्थानीय निकायको निर्वाचनपछि निर्वाचित हुँदै नगरको नेतृत्व सम्हाल्न पुगेका छन् । तर, उनीहरुले समेत नगरको फोहोर व्यवस्थापनमा ठोस् कदम चाल्न नसक्दा बिर्तामोड दिन प्रतिदिन प्रदुषित मात्रै बनेको छैन फोहोरी शहरको रुपमा समेत चिनिन थालेको छ ।

बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा बिर्तामोड क्षेत्रबाट दिनहुँ निस्कने फोहोर विगतका वर्षदेखि नै पूर्वपश्चिम महेन्द्र राजमार्गको सडकपेटीमा पुरिँदै आएको छ । कहिले खाद्य संस्थानको कार्यालय अगाडि त कहिले गिरी बन्धु टी इस्टेट अगाडि नगरको फोहोर पुरिँदैछ । डम्पिङ साइट नहुँदा नगरको फोहर सडकको पेटीमा पुर्नु हानिकारक भए पनि त्यसलाई नियमन गर्ने निकायले नै सडकमा फोहर पुर्नुले बिर्तामोडमा फोहर व्यवस्थापनको समस्या विकराल छ भन्ने स्पष्ट हुन्छ ।

अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बिर्तामोड नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरिरहेको भन्दै आए पनि फोहरको दीर्घकालीन समाधान भने अझैं हुन सकेको छैन । नगरपालिका आफैंले सडकमा खाल्डो बनाएर फोहर पुर्न थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् । तर, नगरपालिकाले स्थानीयको विरोधको वास्ता गरेको छैन ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अहिले एशियन हाइवे हो । त्यही हाइवेमा अहिले नगरपालिकाले मनलाग्दी फोहोर फालिरहेको छ । जसका कारण बातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन् । नगरको फोहोर व्यवस्थापन गर्नु नसक्नुमा स्थानीय जनप्रतिनिधहरु नै दोषी रहेको स्थानीयको आरोप छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा बिर्तामोड नगरपालिकाले बाटोमा फोहर पुर्दै आएको हो ।

बिर्तामोड नगरपालिका मात्र होइन झापाका अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगल जस्ता ठाउँमा फोहर फाल्नु परिरहेको छ । बिर्तामोड नगरपालिकाले फोहर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ बिर्तामोड नगरपालिका –२ चारपाने निवासी देवी गिरी भन्छन्– नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नै गरेको छैन ।

आफ्नो नगर कस्तो बनाउने हो, त्यो भिजन बिर्तामोडले बनाउन सकेको छैन । यसमा दोषी नगरप्रमुख मात्र होइन सबै जनप्रतिनिधिहरु हुन्– गिरी भन्छन् – हिजो नहुँदा हामी गर्छाै भन्नेहरु आज त्यही ठाउँमा पुगेका छन्, तर किन उनीहरुले नै गर्न सकेनन् ?

यता नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा नगरपालिका नै दोषी रहेको महिला उद्यमी पार्वता विमलीको भनाइ छ । उनी भन्छिन्– डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहरको व्यवस्थापन गर्नुपर्दछ । फोहरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसलाई नगरले बेलैमा ध्यान दिन जरुरी छ ।

त्यस्तै बिर्तामोडका अर्का स्थानीय गायत्री शिवाकोटी भन्छन् – बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने तरिका नै जानेको छैन । उनी भन्छन्– खाडल खनेर फोहर पुर्नु आफैमा घातक हो, यो फोहर व्यवस्थापन गर्ने तरिका पटक्कै भएन ।

यसैबीच नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले तीनवटा नगरपालिकाले मिलेर कनकाई नगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि काम शुरु गरेको र अन्तिम चरणको काम भइरहेको बताएका छन् । उनले अबका केही महिनाभित्रै बिर्तामोडको फोहोरले निकाश पाउने दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here