भद्रपुर।

सरकारी सेवामा कार्यरत निजामती कर्मचारीहरूद्वारा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लिमिटेड भद्रपुरको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष वाषिष्ठ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष अधिकारीले २०५५ सालमा ३६ जना निजामती कर्मचारी शेयर सदस्यहरूले कार्यक्षेत्र झापा रहने गरी स्थापना गरेको यस संस्थामा हाल पाँच सय ४७ पुरुष र दुई सय ५४ महिला शेयर सदस्य गरी आठ सय एक जना शेयर सदस्य रहेको जनाउँदै सहकारीले आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्ममा आठ करोड दुई लाख पाँच हजार एक सय २५ रुपैयाँको कारोवार गरेको बताए ।
संस्थाले १४ लाख १२ हजार चार सय १५ रुपैयाँ नाफा कमाउन सफल भएको छ भने संस्थामा हाल एक करोड ४९ लाख ९९ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा दिनाथ गुरागाई र विजय ढुङ्गेललाई ज्येष्ठ सदस्यको रूपमा तथा खडानन्द सापकोटा, माया पोखरेल, हरिप्रसाद गौतम, इन्द्रप्रसाद सुवेदी र दुर्गाप्रसाद बराललाई उत्कृष्ट सदस्यको रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुण्य प्रसाद ढकाल, निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन राई, कर्मचारीहरूको आधिकारिक टे«ड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई, राष्ट्रसेवक सहकारी संस्था मोरङका अध्यक्ष जीवन काफ्ले, निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शेषराज पौडेल र स्वागत संस्थाका उपाध्यक्ष डिल्लीराम ढकालले गरेका थिए ।































