बिर्तामोड।
ताप्लेजुङका टेकबहादुर गुरुङलाई वैदेशिक रोजगारीका लागि विदेश जानु थियो । तर, उमेर हदका कारण उनी विदेश जानबाट बञ्चित हुने भएपछि उनले नागरिकताको मिति नै परिवर्तन गर्ने सोच बनाउँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगे र बिचौलियासँग सल्लाह गरे ।
बिचौलियाले कति वर्ष उमेर घटाउने भन्दै शुरुमा सोधे र वर्षको तीन हजार रुपैयाँ लाग्ने बताए । ‘के खोज्छस् …. आँखो’ भने झैं भयो गुरुङलाई पनि । हत्तपत्त उनले आफ्नो उमेर १० वर्ष घटाउने निधो गरे अनि शुरु भयो पैसाको बार्गेनिङ ।
विचौलियाले शुरुमा प्रतिवर्ष उमेर घटाएको तीन हजार रुपैयाँ लाग्ने बताए पनि अन्ततः गुरुङले दुई हजार मात्रै दिनसक्ने बताएपछि गुरुङको १० वर्ष उमेर घटाइयो । सो वापत उनले बिचौलियालाई २० हजार रुपैयाँ बुझाए ।
२० हजार रुपैयाँ बिचौलियालाई बुझाएका गुरुङको सक्कली नागरिकता भने बिचौलियाकै हातमा थियो । त्यही नागरिकतालाई आधार मानेर बिचौलिया र जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीको मिलेमतोमा टेकबहादुर गुरुङलाई नै आधार मान्दै ९ वटा नागरिकता जारी भए । कर्मचारी र विचौलियाले गुरुङको ठेगाना परिवर्तन गर्दै नौ जनालाई नागरिकता जारी गरे । गुरुङको छोरा बनाएर धोनसेल गुरुङ, वाङ्मो गुरुङलाई बिचौलिया र कर्मचारीले भद्रपुर–९ ठेगाना देखाउँदै नागरिकता जारी गरिदिए ।
त्यस्तै भद्रपुर–९लाई नै ठेगाना बनाएर टेकबहादुर गुरुङको छोरीका नाममा शरणामती–५ ठेगाना देखाएर डोल्मा गुरुङलाई नागरिकता प्रदान गरियो । त्यस्तै वाहुनडाँगी–५ बस्ने टेकवहादुर गुरुङको छोरा बनाएर सिसप गुरुङलाई नागरिकता प्रदान गरियो । बिर्तामोड– ८ ठेगाना बनाउँदै रिङ्जेन छोडे गुरुङको नाममा टेकवहादुरलाई वुवा बनाएर नागरिकता जारी भयो । साविक शरणामती–५लाई नै ठेगाना बनाउँदै टेकबहादुर गुरुङलाई नै वुवा बनाएर डोल्मा गुरुङका नाममा नागरिकता जारी भयो ।
त्यस्तै सोठी ठेगानालाई आधार बनाएर पेमा डोल्कर गुरुङको नाममा नागरिकता जारी भयो । टेकवहादुर गुरुङको छोरा बनाएर छिरिङ डिकी गुरुङलाई नागरिकता प्रदान गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीसहित दुई बिचौलियालाई पक्राउ गरेको छ । विदेशी नागरिकलाई बुवा बनेर नागरिकता प्रदान गरेको आरोपमा टेकबहादुर गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
यता नागरिकताको १० वर्ष उमेर घटाएर विदेश पुगेका गुरुङलाई प्रहरीले पक्राउ गरे पनि उनको नागरिकता दिने कार्यमा संलग्नता रहे–नरहेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आफ्नो सक्कली उमेर घटाएर कानूनको उल्लङ्घन गरेका गुरुङले साङ्गठानिक अपराध गरेको देखिएको छ– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– नागरिकताको उमेर घटाउने सुरमा सक्कली नागरिकता बिचौलियालाई छाड्दाको परिणाम हो यो ।
प्रहरीले गुरुङसहित अहिले उनको नागरिकतामा उमेर घटाउन सहयोग पु¥याएको आरोपमा प्रेमलाल तिम्सिना, भीम लिम्बूलाई पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रशासनका कर्मचारी तेजिन्द्र न्यौपाने, बिर्तामोड–८का वडासचिव लोकराज बरालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नक्कली नागरिकता निर्माण गर्न भद्रपुरका सूर्यबहादुर खड्का, प्रेमराज तिम्सिना तथा बिर्तामोडका भीमबहादुर लिम्बू र बागबीर तामाङले बिचौलियाको भूमिका निर्वाह गरेका थिए । भद्रपुर–९का नरबहादुर पाख्रिन बुबा बनेर दुई जनालाई, बिर्तामोड–८का सुरेश अग्रवाल, त्यही वडाका सुशीलकुमार दास, नजिम मोद्दिन र निमा सेर्पा तथा भद्रपुर–९ का राम साह र नरबहादुर गुरुङ बुबा बनेर नक्कली नागरिकता बनाइएको छ । ती नागरिकताहरु भद्रपुर–९को ठेगानामा ६ वटा, बिर्तामोडको ५, शरणामती ३ र बाहुनडाँगीको ठेगानाबाट २ वटा बनाइएका छन् । १६ वटा नक्कली नागरिकता बनाउन १७ जनाले सनाखत गरेका छन् । शरणामती ठेगाना रहेका नागरिकतामा झापा गाउँपालिका ६ नम्बर वडा कार्यालयका सचिव भवकृष्ण न्यौपानेको समेत संलग्नता देखिएको डीएसपी श्रेष्ठले बताए ।
यता बिर्तामोड–८का निमा सेर्पाको छोरा बनाएर लाक्पा सेर्पाको नाममा नागरिकता जारी भएको छ । त्यस्तै सुरेशकुमार अग्रवालको छोरा बनाएर संगम अग्रवालको नागरिकता बनाइएको छ । उनको ठेगानी बिर्तामोड–८ रहेको छ ।
त्यस्तै बिर्तामोड–८कै नजिम मोद्दिनको छोरा बनाएर गैह्रनेपालीलाई नागरिकता दिइएको छ । भद्रपुर–९ निवासी नरबहादुर गुरुङको छोरा बनाएर गैह्रनेपालीलाई नागरिकता दिइएको छ ।
त्यस्तै भद्रपुर–९निवासी राम साहको छोरा वनाएर गैह्रनेपालीलाई नागरिकता दिइएको छ । त्यस्तै सोही ठाउँमा नरबहादुर पाख्रिनको छोरा बनाएर नवाङ कोचे तामाङ र बिर्तामोड –८का सुनिलकुमार दासको छोरा वनाएर विधास दासको नाममा नागरिकता जारी भएको प्रहरीले जनाएको छ । नागरिकता काण्डमा मुछिएका दुई वडाअध्यक्ष तीन महिनादेखि फरार छन् । फरार हुनेहरुमा बिर्तामोड नगरपालिका ८का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९का शनिलाल राजवंशी रहेका छन् ।
गैह्रनेपालीलाई नागरिकता बनाइदिएको आरोप दुवै वडाध्यक्षहरुमाथि छ । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ । वडा कार्यालय कार्यबाहकको भरमा चलिरहेको छ । वडामा रचनात्मक काम हुन सकेको छैन । १६ जना गैह्रनेपालीलाई नागरिकता बनाइदिएको आरोपमा २ जना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका अधिकृतसहित ६ जना कर्मचारी, २ जना वडा सचिवसहित ४८ जनाका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीमध्ये बिर्तामोड–८का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपाने, नागरिकतामा सनाखत गर्ने बिर्तामोड–७का मुस्तफा आलम, बुबा बनेर नागरिकता बनाइदिने ताप्लेजुङका टेकबहादुर गुरुङ तथा बिचौलियाहरु भद्रपुरका प्रेमराज तिम्सिना र बिर्तामोडका भीमबहादुर लिम्बू पक्राउ परेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य ४२ जना भने फरार रहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारी र वडाध्यक्षहरुको मिलेमतोमा ८ वटा नागरिकता दुरुपयोग गरी १६ जनालाई नेपाली नागरिकता बनाइदिएको डीएसपी श्रेष्ठले बताए । उनीहरुले ताप्लेजुङका टेकबहादुर गुरुङलाई बुबा बनाएर ९ जनालाई नक्कली नागरिकता बनाइदिएको श्रेष्ठको भनाइ छ ।
उनीहरुले ०७३ मंसीर १३ गते लोवसाङ गुरुङ, ०७३ माघ ११ गते पेमा डोल्कर गुरुङ, डोल्मा गुरुङ र छिरिङ डिकी गुरुङ, ०७६ जेठ ६ गते छिरिङ सेर्पा, धोनसेर गुरुङ, नवाङ केचन तामाङ, वाङमो गुरुङ, डोल्मा गुरुङ, ०७६ जेठ १४ गते रिगजेन छोडेन गुरुङ, नवाङ शिराप गुरुङ, लाक्पा सेर्पा, सञ्जय अग्रवाल, सन्जय साह, ०७६ जेठ २१ गते ज्योति विश्वास दास र अयुव आलमलाई नेपाली नागरिकता बनाइदिएका हुन् ।
नागरिकता काण्डमा मुछिएपछि दुवै वडाध्यक्ष कार्यबाहक दिएर सम्पर्कविहीन छन् । कार्कीले असार ८ गते वडासदस्य दीपक भट्टराईलाई कार्यबाहक दिएका थिए । राजवंशीले असार २४ गते वडा सदस्य रामप्रसाद दाहाललाई कार्यबाहक दिएका हुन् । बिर्तामोड–८का वडासचिव समेत पक्राउ परेपछि वडा कार्यालय सचिव विहीन छ ।
बिर्तामोड–८मा वडा ९का सचिव सुवास विकले हेर्दै आइरहेका छन् । बिर्तामोड–८का काबा अध्यक्ष भट्टराईले वडाध्यक्ष फरार रहे पनि जनताको कुनै काम नरोकेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको नागरिकता काण्डको फाइल भदौं १३ गते जिल्ला प्रहरीलाई जिम्मा लगाइएको छ । प्रहरीले उक्त घटनामा मुछिएका सबैलाई ‘संगठित अपराध’ अन्तर्गत मुद्दा चलाउने तयारी समेत गरिरहेको छ ।































