विर्तामोड।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले कानूनले दिएको महिला अधिकार कार्यान्वयनमा क्रियाशील हुनुपर्ने बताएका छन् ।
नारी सञ्चार गृहको विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न सातौं बार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मगरले कानूनी रुपमा महिला अधिकार प्राप्त भएको उल्लेख गर्दै कार्यान्वयन हुन बाँकी रहेको धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मगरले पत्रकारले सकारात्मक कामका पक्षमा पनि कलम चलाउन सुझाव दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले समाचार सम्प्रेषणमा क्लष्टरका मुद्दालाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति कृष्ण हुमागाँई, नेपाल प्रेस युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, आदिवासी जनजाति पत्रकार संघ झापाका अध्यक्ष विशाल नेम्वाङ, उद्योग वाणिज्य संघ बिर्तामोडका महिला उपाध्यक्ष पार्वता विमली, एवीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा, उद्यमी महिला संघ झापाकी अध्यक्ष गोमा भट्टराई, रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नारी सञ्चार गृहद्वारा सम्मानित व्यक्तित्व झापाकी पहिलो महिला पत्रकार राधा शर्मालाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तिको व्यक्तित्वमाथि संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रकाश पारेकी थिइन् ।
त्यस्तै संस्थाले अक्षयकोष बृद्धिका लागि २०७५ सालमा खेलेको देउसी भैलो कार्यक्रममा सहयोग पुर्याउने मातृकाप्रसाद संग्रौला, पिनाकीप्रसाद कोइराला, मिना अधिकारी तिम्सिना, जुली भण्डारी, कल्पना मैनाली, चन्द्रकला कार्की र राजन बास्कोटालाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा शर्माले सम्मान स्वरुप प्रदान गरेको नगद रकम गृहले स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा जम्मा हुने गरी हस्तान्तरण गरेकी थिइन् । त्यसैगरी संस्थाका सल्लाहकार लीला अनमोलले पनि संस्थाको अक्षयकोष बृद्धिका लागि नगद पाँच हजार रुपैयाँ दिने घोषणा गरेकी थिइन् ।
अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रेजिना गौतम र बन्द सत्रमा कोषाध्यक्ष सुशीला संग्रौलाले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन साधारणसभाले सर्वसम्मतिले पारित गरेको छ । स्वागत तथा औचित्य माथि उपाध्यक्ष भीमा शिवाकोटीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेकी थिइन् ।































