लक्ष्मी उप्रेती,
मतदान प्रक्रियालाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिन्छ । लोकतान्त्रिक पद्धतिमा मतदानबाट निर्वाचित प्रतिनिधिले राज्यको मूल्य, मान्यता अनि कार्यदिशामा महत्वपूर्ण भूमिका निभाउने गर्छन् । तर, जब लोकतन्त्रमा गलत प्रवृत्तिको कुरुप छायाँ पर्दछ तब लोकतन्त्रको जगमा धक्का लाग्दछ अनि राज्यको उपल्लो सत्तामा क्षति पुग्दछ ।
जनताले अमूल्य मतदान गरेर चुनेका सांसदहरु नै यतिखेर विभिन्न कसुरमा मुछिँदै छन् । उनीहरुका कसुर पनि यस्ता छन् कि भन्न र लेख्न पनि लाज लाग्छ । जसले चुनावताका मतदातालाई निक्कै ठूला–ठूला सपना बाँडे, मतदाताले पनि विश्वास गरेर मत दिएर जिताए । तीनै सांसदहरुले यो देशको नियम कानून समेत बनाए, तर उनीहरुले नै मानेनन् । कोही सांसद बलात्कारी, कोही जनतालाई जिउँदै जलाउने, कोही एयरपोर्टमा तोडफोड गर्ने, कोही भ्रष्टाचार गर्ने कोही रातो पासपोर्ट बिक्री गर्ने, कोही बहालवाला सांसद, पूर्व राज्यमन्त्री भइसकेका भारतीय नागरिक यस्तै–यस्तै रहेछन् नेपालका केही सांसदहरु ।
प्रतिनिधि सभाको सभामुखमा २०७४ फागुन २६ गते निर्वाचित भएपछि कृष्णबहादुर महराले भनेका थिए, ‘संसदभित्र कुशलतापूर्वक भूमिका निर्वाह गर्छु । पदको गरिमा र संसदीय मर्यादालाई ख्याल गरेर संघीयता कार्यान्वयन गर्ने कानून निर्माणमा विशेष ध्यान दिन्छु ।’ तर, डेढ वर्षमै पदको गरिमा र संसदीय मर्यादामै आँच आउने घटनामा जोडिएर सभामुख पदबाट राजीनामा दिनुपर्यो । यति मात्र होइन संघीय संसदको कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गर्यो । हाल उनी प्रहरी नियन्त्रणमै छन् ।
बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभाका सांसद प्रमोद साहविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा पेस गरियो । काठमाडौं उड्न जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउण्टरमा लात्ती प्रहार गरे । सोहि कसुरमा उनलाई प्रहरीले काठमाडांैबाट पक्राउ गरेर जनकपुर ल्याउनु पर्यो । राजपाबाट सर्लाही १ नम्बर क्षेत्रबाट निर्वाचित उनी सादा तारेखमा रिहा भएका छन् । हवाई उड्डयन ऐन २०१५ को दफा ९ क को अपराध गरेका कारणले उनीमाथि पाँचदेखि १० वर्ष कैद सजायको माग दाबीसहित अदालतमा सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको थियो । जिल्ला धनुषामा थुनछेक बहसपछि सांसद साह सादा तारिखमा रिहा भए ।
संसद् भवनमा हुनुपर्ने कांग्रेस सांसद, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहमद आफ्ताब आलम समेत अहिले प्रहरी हिरासतमा छन् । नेपाली कांग्रेसको टिकटबाट रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव जितेका सांसद एवम् पूर्वमन्त्री आलम बम विष्फोटमा परेका २२ जना घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा १२ वर्षपछि पक्राउ परेका छन् । कांग्रेसका प्रतिनिधिसभा सदस्य आलम समेत सांसद पदको जिम्मेवारीबाट मुक्त भएका छन् ।
दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई स्थानीय निर्वाचनताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनेर दायर भएको एउटा मुद्दामा पक्राउ गर्न उनलाई म्याद तामेल गरियो र जिल्ला अदालत काठमाडौँमा बयानको लागि उपस्थित गरायो । जिल्ला अदालत काठमाडौंँले सांसद गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दियो ।
कैलालीको टीकापुरमा एकजना नाबालकसहित उच्च प्रहरी अधिकृत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने लगायत अन्य सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोपमा कैलाली अदालतले राजपाका प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । कैलाली अदालतले २२ फागुन २०७५ मा चौधरीलाई जन्मकैदको फैसला गरेपछि उनी सांसद पदबाटै निलम्बित भएका छन् । चौधरीलाई कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्त भएको प्रमाणित गरेपछि अहिले जेलमा सजाय भुक्तान गरिरहेका छन् ।
चौधरीमात्र होइन नेकपाका सांसद नारदमुनि र राना समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियार समेत यतिखेर संसद्को सेवासुविधा उपभोग गर्न नपाउने सूचीमा छन् । २०७५ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारविरुद्घ भ्रष्टाचार मुद्दा दायर गरेपछि संसदबाट पाइरहेको सेवासुविधा उनको रोकियो । २०६४ को संविधान सभा सदस्यमा निर्वाचित नारदमुनि रानाले नेकपाका तर्फबाट २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भए । तर, २६ साउन २०७२ मा विशेष अदालतले रानालाई दोषी ठहर गर्यो । उनलाई रातो पासपोर्ट बिक्री गरेको आरोप छ । उनको यो मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा थाती रहेकाले रानाको नाम निलम्बित सांसदहरुको सूचीमा चाहिँ परेको छैन ।
अब त हुँदाहँुदै नेपालको बहाल सांसद, पूर्व राज्यमन्त्री भइसकेको मान्छे भारतीय नागरिक हुन सक्छ ? यो त आम नागरिकले कल्पना समेत गर्न सक्दैनन् । तर, नेपालका पूर्वगृह राज्यमन्त्री तथा बहालवाल सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको समाचार बाहिर आएको छ । उनी भारतीय हुन कि नेपाली नागरिक । तर, भारतीय झण्डा पृष्ठभूमिमा राखेर कँडेलले उर्फ मुन्ना बाबुको शुभकामना आउनुले के अर्थ लाग्छ ? भारतको उत्तर प्रदेशको गोरखपुर निवासी भन्दै एउटा कलेजको व्यवस्थापन समितिको अध्यक्ष हुँदा उनले भारतीय नागरिक कै हैसियतमा पद तथा गोपनियताको सपथ गर्नुले पनि प्रष्ट हुन्छ कँडेल नेपाली हुन वा भारतीय नागरिक ।
उनले हिन्दी भाषामै सपथ लिएको समाचार सार्वजनिक भएको छ । नेपालको बहाल सांसद, पूर्व राज्यमन्त्री भइसकेको एउटा व्यक्ति भारतको कलेज व्यवस्थापन समितिको अध्यक्षको लागि चुनाव लड्ने अनि विजयी हुने र सपथपत्रमा चाहिँ आफू भारतीय नागरिक भएको उल्लेख गर्ने । अब यसको पनि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । होलान्, उनी कुनै दलका नेता । तर, जुनसुकै दलको नेता कार्यकर्ता भएकै कारण अपराध गर्न राज्यले कसैले छुट दिएको छैन । यी त ठूला घटना भए । २०÷२० वर्षसम्म जनप्रतिनिधिविहीन बनेका स्थानीय तहमा निर्वाचनपछि जनप्रतिनिधि त पुगे । अहिले धेरै जनप्रतिनिधिहरु नै नागरिकता बिक्री गर्ने धन्दामा लागे । कति वडाध्यक्ष अहिले प्रहरीको खोजीको सूचीमा छन् । जनप्रतिनिधिहरु भागाभाग छन् ।
२०७१ सालमा सभासदहरुले नेपालको संसद बैठकमा कुर्सी हानाहान र माईक तोडफोडे गरे । यतिमात्र कहाँ हो र नेपालकै संसद भवनमा दश–दश पोका खुर्सानीको धुलो फेला पर्छ, राष्ट्रिय धुन नै बज्न नपाई बैठकको कारवाही सभामुखले शुरु भएको घोषण नगर्दै चर्का नारावाजीले संविधान सभाको हल गुञ्जिन्छ । यी त सार्वजनिक भएका घटनामात्र हुन् । भित्रभित्रै यस्तै घटनाको चाङ त कति होलान् कति ? यही भएर नेपाली राजनीति यौन र दादागिरीको उर्वर थलो हो ? भनेर विभिन्न कोणबाट टिका टिप्पणी शुरु भएको छ ।
यी घटनाले पनि हाम्रा देशका सांसदको हैसियत प्रष्ट हुन्छ । जो विभिन्न कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका छन् । यस्ता विशिष्ट व्यक्तिहरुबाट भएको घटनाको सबुत प्रमाणहरु नष्ट हुने हो कि भन्ने आशंका भने सर्वत्र छ । आफैले अमूल्य मत दिएर देशको नियम, कानून वा संविधान बनाउन पठाएका जनप्रतिनिधि जनताका मान्छेले नै देशको ऐन कानून मानेनन् भने अव यस्ता नेता मन्त्रीबाट सर्वसाधारण जनताले के नयाँ कुराको अपेक्षा गर्ने ? एउटा गम्भीर प्रश्न खडा भएको छ । यदि यो मुलुकमा राज्य छ भने घटनाको उचित छानविन गरी दोषीबाट सम्पूर्ण क्षतिपूर्ति लिनुपर्छ कि पर्दैन ? सरकार निरीह बनेर टुलुटुलु हेरेर बस्न मिल्छ ? गल्ती गर्नेले सजाय पाउनुपर्छ कि पर्दैन ? यस्तै प्रश्नको जवाफ यतिखेर नेपाली जनताले खोजिरहेका छन् ।
सांसदहरुले यसको अर्थ नबुझ्नु र सांसदका काम कर्तव्य अधिकार के–के हुन ? भन्ने आधारभूत कुराको सामान्य ज्ञान समेत नहुनुले पनि यस्ता घृणित घटना हुने गरेको निष्कर्ष पनि धेरैको छ । अपराध ठूलो होस् या सानो अपराध अपराध नै हो । यसमा संलग्न जुनसुकै पार्टीको नेता होस् वा कार्यकर्ता सांसद मन्त्री नै किन नहुन कसैले पनि संरक्षण गर्नुहँुदैन । कसुर अनुसारको सजाय उसले पाउनै पर्छ । जसले गर्दा यस्तै अपराध गर्ने अरु निरुत्साहित हुन्छन् । मानवता विरोधी अपराध गर्ने जो कोही होस् कानूनी दायरामा ल्याउनुपर्छ र सही अनुसन्धान गर्नुपर्छ । मुलुकमा शान्ति चाहने जो कोहीले पनि अनुसन्धानमा बाधा पुग्ने अनुसन्धानकर्तालाई लोभ देखाउने काम गर्नुहुँदैन । मानवताविरोधी अपराध गर्ने जो कोहीलाई पनि दण्ड दिन माग गर्ने हो भने समाजमा यस्ता गतिविधि क्रमशः कम हुँदै जान्छन् ।
ठूलो होस् वा सानो अपराध गर्ने अपराधीको न त जात हुन्छ न त परिचय नै । मात्रै उ अपराधी हो । तर, नेपाली राजनीति वृत्तमा लामो समयदेखि अपराधीहरुले अड्डा नजमाएका भने होइनन् । सत्ता सम्बन्ध र शक्तिको आडमा उनीहरु दण्डित हुने त कुरै छाडौं छानविनको दायरामासम्म पनि ल्याउन प्रहरी प्रशासनलाई हम्मे–हम्मे परेका घटनाको फेरहिस्ता कति छ सबैलाई थाहा छ । बम बिस्फोट तथा ईंटाभट्टामा जिउँदै मान्छे पोलेको आरोपमा पक्राउ परेका पार्टी सांसद मोहम्मद अफ्ताव आलमको बचाउमा बोलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सामाजिक सञ्जालमा निक्कै ठूलो विरोध भयो । त्यही भएर पनि होला शायद सभापति देउवा २४ घण्टा पनि आफ्नो बोलीमा टिक्न सकेनन् ।
सांसद आलममाथि लागेको आरोप सत्य हो वा झुठो त्यो त अनुसन्धानले देखाउला । तर, किन कांग्रेस सभापति देउवाले १२ वर्षअघिको घटनालाई ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यसबेला के हेरेर बसेको ? भन्नु । कांग्रेस सभापति देउवाले त थोरै भएपछि आफ्नो अभिव्यक्ति सच्याएका छन् । चौतर्फी आलोचनापछि देउवाले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सघाउने बताए । तर, पूर्वाग्रह र दबावमुक्त रहेर हुने अनुसन्धान भन्ने शर्त अझै छ । यसले के प्रष्ट देखाउँछ भने आलममाथि भइरहेको अनुसन्धानमा कांग्रेसलाई अझै शंका छ । हुन पनि घटनाको निष्पक्ष छानविन र अनुसन्धान हुनुपर्छ । कसैले पनि कसैलाई फरक आस्था र विचारकै कारण जबरजस्ती दोषी ठहराउनु हँुदैन । भनिन्छ, प्रमाणका अभावमा सयांै अपराधीहरु छुटुन् तर, एउटा पनि निरअपराधी न परुन् ।
एउटा ज्यादै डरलाग्दो र जधन्य अपराधको आरोप लागेको १२ वर्षपछि आलम पक्राउ परेपछि शासन व्यक्तिको होइन विधिको हो भन्ने भनाई अब चाहिँ सत्य हो कि भन्ने सवैलाई लागेको छ । आम जनताले एउटा प्रश्न सबै दललाई तेस्र्याएका छन् । भ्रष्टाचार, बलात्कार, हत्याजस्ता घटनामा मुछिएका यस्ता मान्छे कतिदिनसम्म शक्ति र सत्ताको वरिपरि देखिने ? यस्ता व्यक्तिलाई धमाधम पक्राउ गरेर प्रहरी हिरासतमा पठाउनुले पनि वर्तमान सरकारले विधि स्थापित गर्न देखाएको तत्परता हो कि भन्ने अनुमान समेत धेरैले गरेका छन् । बेला–बेला साना माछा मात्र पक्राउ परे ठूला उम्के भन्ने गाईगुई हल्ला सुनिन्थ्यो अहिले भटाभट ठूला माछा समेत जालमा पर्दैछन् ।
उच्च राजनीतिक नेतृत्वका अघिपछि सारा शक्तिको लाम छ । उनीहरुमा निक्कै ठूलो दम्भ पनि हुन सक्छ । तर, संबैधानिक अंगको गरिमामय पदमा आसिन व्यक्तिहरु पनि कानूनी कठघरामा उभिन बाध्य भएको यी घटनाले सरकारप्रति नागरिकको विश्वास तथा आशा र भरोसा समेत बढ्छ । सम्बन्धित पक्षले के बुझ्न जरुरी छ भने अझै पनि धेरै कसुरमा आरोपीहरु यो देशको शासन सत्ताको उपल्लो दर्जामा मात्र छैनन् । कानूनको निर्माणकर्ता समेत बनेका छन् । भ्रष्टाचारी र विभिन्न कसुरमा आरोपीहरुलाई कुनै पनि पक्षले राज्य संयन्त्रमा निर्णयक भूमिकामा राख्नु हँुदैन ।
एउटा नेता कार्यकर्ता, मन्त्री, सांसदको कमजोरीले सिंगो राष्ट्रको बदनाम हुन्छ । मुहान फोहोर भएसम्म घरको पानीको धारो सङ्लो हुन सक्दैन । यसकारण पनि देशमा महिलामाथि हुने विभेद वा बलात्कारका घटनालाई निस्तेज पार्न प्रहरी प्रशासन जतिसुकै सक्रिय भए पनि घटनामा कमी आउन नसक्नु मुहान फोहोर भएरै त होइन यसको पनि जवाफ खोज्नु पर्छ । राष्ट्रको निक्कै ठूलो ओहोदामा पुगेका व्यक्तिहरुबाट कल्पना नै नगरेको अपराध हुनुले बदमासहरुलाई हौसला मिलेको र देशको न्याय प्रशासनलाई समेत चुनौति दिएको छ । यसप्रति सम्बन्धित पक्षले बेलैमा सोच्ने समय आएको छ ।
कहिलेकाहीँ प्रहरी प्रशासनको अनुसन्धान सुस्त हुनुले सानालाई ऐन ठूलालाई चैन भन्ने उखान सत्य सावित भएको थियो । यसो चाहिँ होइन रहेछ है भन्ने यस्ता पावरफुल व्यक्तिहरु पक्राउका घटनाले सत्य सावित समेत गरेको छ । अब प्रहरी प्रशासनले राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्नुपर्छ र सरकारले दलहरुले सघाउनुपर्छ । गृहमन्त्रीका भाइदेखि निवर्तमान सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परेका छन् ।


























